नेपाल ‘क्षेत्रीय पावर हब’ बन्ने सम्भावना «

नेपाल ‘क्षेत्रीय पावर हब’ बन्ने सम्भावना

भारतले आगामी १० वर्षमा नेपालमा उत्पादित बिजुली १० हजार मेगावाट किन्ने घोषणा गरेसँगै नेपालको विद्युत बजार सुनिश्चित बन्ने सम्भावना देखिएको छ ।

भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार यो सहमति भएको हो । दाहाल चार दिने भ्रमणमा अहिले भारतमा छन् ।

विद्युत बजार सुनिश्चित बनेसँगै लगानीकर्ता तथा निजी क्षेत्रमा थप उत्साह देखिएको छ । यो सहमतिले नेपाललाई दक्षिण एसियाकै क्षेत्रीय पावर हब बनाउने अवधारणा पूरा हुने भन्दै सरोकारवालाले सकारात्मक प्रतिक्रिया दिएका छन् । यो अवसर पाएपछि नेपालले थप विद्युत उत्पादनका लागि आयोजनाहरुको पीपीए अगाडि बढाउनुपर्ने देखिन्छ ।

अहिलेसम्म नेपालमा उत्पादन भएको बिजुलीले बजार पाउन नसक्ने हो कि भन्ने चिन्ता थियो । तर, अब भारतले नेपालमा उत्पादित बिजुली खरिद गर्ने सम्झौता गरेपछि विद्युत बजारले सुनिश्चितता पाउने देखिएको हो । नेपालमा भारतीय लगानीमा अरुण तेस्रो, तल्लो अरुण र अब फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण हुनेछन् ।

भारतीय बजारसँग जोडिन नेपालमा अन्तरदेशीय प्रसारणलाइन पनि तयार भइरहेको छ । विद्युत निर्यातका लागि प्रसारणलाइनको विकासले मद्दत पुग्नेछ । हाल नेपालले ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट विद्युत कारोबार गरिरहेको छ । चार अन्य प्रसारणलाइन विकासको कार्य अघि बढाइएको छ । यी प्रसारणलाइनबाट २ हजार मेगावाट विद्युत कारोबार गर्न सकिनेछ । सन् २०२८ सम्ममा नयाँ बुटवल–गोरखपुर, इनरुवा– पूर्णिया अनि लम्की–बरेली प्रसारणलाइन पनि ४०० केभी बनाउने योजना छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का उपाध्यक्ष गणेश कार्कीले बिहीबार भएको सम्झौताले अब विद्युतीय बजार सुनिश्चित भएको भन्दै यसले निजी क्षेत्रलाई लगानी गर्न उत्साह थपिने बताए । “आगामी आर्थिक वर्षको बजेट विद्युत व्यापारमा निजी क्षेत्रलाई पनि संलग्न गराउने लक्ष्यका साथ आएको छ । भारतले विद्युत व्यापारका लागि सहमति जनाएको छ,” भारत भ्रमणका क्रममा रहेका उनले टेलिफोनमा कारोबारसँग भने, “यसले अब हामीले उत्पादन गरेको बिजुली बजार खेर जान्छ कि भन्ने तनाव हुँदैन ।”

उनले आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको लगानी आकर्षित हुने, विकासकर्ताले सहज रुपमा ऋण पाउन सक्ने, परियोजनाको वित्तीय व्यवस्थापनमा लगानी जुट्न सहज हुने बताए । विदेशी लगानी पनि आकर्षित गर्न सकिने उनको भनाइ छ । “अहिलेको मूल्यअनुसार १ हजार मेगावाट वार्षिक बिजुली बेच्दा ७० अर्ब आम्दानी गर्न सकिन्छ । १० हजार बिजुली बेच्न सके ७ सय अर्ब रुपैयाँ मुलुकले आम्दानी गर्ने छ,” कार्कीले भने, “विद्युत किन्छौं त भारतले भन्यो तर हामीले १० वर्षसम्म थप १० हजार मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न सकेनौं भने के अर्थ ? यसकारण अब जलविद्युत आयोजना निर्माणमा जोड दिनुपर्छ ।”

जलवायुको बढ्दो जोखिमसँगै स्वच्छ ऊर्जाको मात्रा बढाउनुपर्नेमा भारत सकारात्मक देखिएको छ । भारतले हाइड्रोजन र वायु ऊर्जामा लगानी बढाइरहेको छ । सम्झौताले जलविद्युत विकासका लागिमात्रै फाइदा नभई जलस्रोत क्षेत्रको उपभोग तथा ऊर्जा उत्पादन क्षेत्र फराकिलो बनाउन सहयोग पुग्ने ऊर्जाविद्हरुले बताएका छन् । भारतले बंगलादेशलाई विद्युत बेच्न पनि सैद्धान्तिक सहमति दिएको छ । बंगलादेशमा विद्युत व्यापारको ढोका खुलेपछि नेपालको बजार अझै फराकिलो हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्