भ्रष्टाचार, प्रशासनतन्त्र र मुलुक «

भ्रष्टाचार, प्रशासनतन्त्र र मुलुक

मुलुकमा सरकारदेखि प्रशासनतन्त्र (ब्युरोक्रेसी) सम्म निर्वाध गतिमा तस्करी, ठगी, जालसाजी र भ्रष्टाचार संस्थागत हुँदै गएको छ । समाजमा रहेका हाम्रा मौलिक मूल्य–मान्यतालाई डढेलोसरि खरानीमा परिणत पार्ने दुष्चक्र चलिरहेका छन् ।

पछिल्ला दिनमा विदेशी सञ्चारमाध्यमले नेपालको विद्यमान विक्षिप्त राजनीतिक, आर्थिक, सामाजिक र व्यावसायिक अवस्थाप्रति नकारात्मक टीका–टिप्पणी गरिरहेका छन् । हाम्रो राजनीतिक व्यवस्था अहिले पंगू अवस्थामा रहेको भान हुन्छ ।
चर्चित फ्रान्सेली अपराधी चाल्र्स शोभराजले भनेजस्तै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल तस्करीको अखडा बनेको छ ।

विमानस्थलमा चौबीसै घण्टा सुरक्षा निकायका सेना, प्रहरी र अन्य प्राविधिक सुरक्षा टोली खटिइरहेका हुन्छन् । तापनि प्रश्न उठ्छ, सुरक्षाले घेरिएको विमानस्थलभित्रबाट तस्कर सजिलै उम्किने गर्छन् । हाम्रो विमानस्थलमा हालै चिनियाँ नागरिकले ‘भेप’ (एक किसिमको धूवाँ फाल्ने नक्कली चुरोट) मा लुकाएर ल्याएको करोडौंको सुनसँग अस्ति भर्खरै एक जना नायब सुब्बा गाँसिन पुगे । प्रलोभनले तिनलाई ‘भ्रष्ट’ कर्मचारी बनायो ।

तर, यस्ता देशप्रतिको गद्धारीको नतिजा नबुझ्ने, कसैका भाइभतिजा पर्ने असंख्य सुब्बा अनेकौँ सेटिङकर्र्र्र्र्र्र्ताका कृपापात्र बनेर राजधानीमा राजसी जीवनयापन गरिरहेका छन् । देशको अर्थतन्त्रबारे अब लेखिरहनुपर्ने केही देखिँदैन । यस विषयमा हामीले प्रस्टै बुझिसक्यौं । तस्करी, ठगी, जालसाजी र भ्रष्टाचारजस्ता कुकर्महरूको उद्गम अन्यत्र कतै होइन, आफ्नै देशभित्र, देश–निर्माणमा आफूलाई समर्पित गर्ने सुकिला–मुकिलाहरूबाटै हुने गरेको रहेछ । विकास–निर्माणका ठेक्कापट्टामा, सरकारी खरिद र लेनदेनमा, बगरले ल्याउने ढुंगा, गिट्टी र बालुवामा, खोलाको पानी र औषधिमा, आधा–बैंस विदेशमा बिताएर स्वदेश फर्कंदा नेपाली कामदारको झोला–झिम्टीसमेतमा र्‍याल चुहाउने देशभक्त कहलिएका, सत्चरित्र, इमानदार, सेवा भावनाले भरिपूर्ण देशको प्रशासनयन्त्र हाँक्ने आफ्नै आदरणीय अगुवाहरू नै ‘फरेबी’ भएपछि देश कहिल्यै उँभो लाग्न सक्ला त ?

राज्यविरुद्धको अपराधलगायत संगठित अपराध, ठगी र किर्तेसम्बन्धी कसुरमा यति धेरै संख्यामा अभियुक्तहरू चिनिने सम्भवतः नेपालको प्रजातान्त्रिक गणतन्त्रको इतिहासमा सर्वथा पहिलोचोटि हो । अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालजस्तो सुन्दर, शान्त, विशाल तथा सार्वभौमसत्तासम्पन्न देशले लज्जाले शिर निहुराउनुपर्ने अवस्था पहिले कहिल्यै आएको थिएन । अहिले संसद्देखि सडकसम्म केवल यही चर्चा छ ।

यसैबीच सरकारले सधैंझैं नयाँ बजेट सार्वजनिक गरेको छ । विगतमा झैं आमनेपालीको कल्याणलाई मध्यबिन्दु बनाएर आगामी दिनका लागि कार्यक्रम अघि सारिएका छन् । काम पनि सुरु होला, तर व्यवस्थापन र बजेट अभावमा काम नटुंगिने, सरकारको प्राथमिकताबाट हट्दै जाने र अभिलेख मेटिँदै जाने प्रक्रियाले निरन्तरता नपाउला भन्न सकिने स्थिति छैन । बजारमा उपयोग्य वस्तुहरूको माग र आपूर्तिमा देखिएको असमानताले गर्दा महँगी २० प्रतिशतसम्म अझै बढ्ने अर्थविद्हरूले प्रक्षेषण गरेका छन् । आयात बढी र निर्यात नगण्य भएकाले व्यापारघाटा दिनहुँ बढ्दो छ ।

यसलाई कम गर्न राष्ट्रसेवकको जागिरे मनोवृत्तिमा परिवर्तन आवश्यक छ । विभूषण र पदक तिनैका छातीमा टाँसिन्छन् । उत्पादन गर्ने किसान र मजदुरको कहीं केही गन्ती छैन । तक्मा बाँड्ने सूचीमा सरकारले किसान, मजदुर, र समाजसेवीहरूको संख्यामा बढोत्तरी गरोस्, न कि तलब–भत्ता पचाएर सेवाको स्वाङ गर्ने कर्मचारी र व्यापारीहरूको संख्यामा । गृहको सूचीमा नाम थप्न जानेहरूको लस्कर सबैले देखेकै कुरो हो । जुन देशमा श्रमको कदर हुन्छ, त्यस देशमा उत्पादनको कमी हुँदैन । सिफारिस र भनसुनलाई निर्मूल पार्न जरुरी छ ।

अन्यथा, ‘धान खाने मुसा, चोट पाउने भ्यागुतो’ उखान शाश्वत सत्य बन्दै जाने निर्विवाद छ । मुलुकले अहिले भोग्नु परिरहेको आर्थिक संकटलाई पार लगाउने व्यक्ति चाहिएको छ । सज्जनका रूपमा समाजमा उभिएका माला, खादा, अबिर र पिर्का खोज्नेहरूलाई नेपाली जनता हेर्न पनि चाहँदैनन्, तिनका मिस्रीलेपित कुरा सुन्न चाहँदैनन् । नेपाली युवा कसैको पनि रैती हुन चाहँदैन्, तिनका धमनीमा स्वाभिमानको भेल छ । यसै कारणले उनीहरू निरुपाय भई खाडीतिर दौडिन्छन् । यद्यपि तिनलाई थाहा छ, उनीहरू राष्ट्रका सार्वभौमसत्तासम्पन्न नागरिक हुन् ।

देशको विद्यमान राजनीतिक खग्रासबारेमा चिन्तन गर्दा अहिले घरघरै दृष्टिविहीनहरूले हात्ती छामेर अनुमान र अड्कल लगाउने काममात्रै भइरहेको आभास हुन्छ । अहिले भ्रष्टाचारी र कुकृत्यमा संलग्नहरू छुद्मभेषमा हामीबीच पुस्तौं पुस्ताको सुखसयलको जोहो गर्दै हिंडिरहेका छन् । सोझासाझा नेपाली जनता आफूले खाइनखाइ मानसम्मान र लोकप्रियताको क्षीर सागरमा सुरक्षित रही विचरण गरिरहेका ती राष्ट्रका तमाम कपूतहरूलाई पहिचान गरी न्यायालयको कठघरामा उभ्याउन सफल होस् सरकार, ताकि भविष्यमा देशमा त्यस्ता आपराधिक कर्तुतहरूको पुनरावृत्ति हुन नपाओस् ।

विश्व मानचित्रमा झन्डै कमिलाको आकार भएको सानो र जटिल भूभाग बोकेको हाम्रो जस्तो देशमा ‘बोल्ट फर्म द ब्लू’ भनेजस्तै गरी एक्कासि गणतन्त्रको अभ्युदय भयो । फलस्वरूप हाम्रो प्रशासनिक संरचना पनि त्यसैअनुरूप बन्यो । जनता गरिब भएको देशमा, उत्पादकत्व शून्य रहेको मुलुकमा महत्वाकांक्षाहरूको फूलबारी महकिन थाल्यो, देश–विदेशका रंगीन चराचुरूङ्गीहरूले हाम्रो गीत, संगीत र संस्कृतिमा कल्पनै नगरिएको र बुझ्नै नसकिएका परिवर्तन ल्याइदिए । हाम्रो भूमिलाई आफ्नो क्रीडास्थल बनाइदिए । धेरैले वाञ्छित र अपेक्षित परिवर्तन आएको महसुस गरे तर अझ धेरैले मुलुकबाट अनुशासनै हराएको अनुभूति पनि गरे ।

१७ वर्ष व्यतीत भइसक्यो । गरिबको थाप्लोबाट नाम्लो छुटेको छैन । जीजीविषाको खोजीमा सखारै घरबाट बिदाई लिएर कर्णालीका उज्याला सपना सजाउँदै हिँडेकाहरू तुइन चुँडिएर बेपत्ता भइराखेकै छन् । छोराछोरीहरूले विदेश जाने रटान लाउन छाडेकै छैनन् । शून्य सहनशीलता र सुशासनका पात्रहरू भर्खरै बनेको सडकको कालोपत्र उप्किएझैं, बन्दै गरेको पुल भत्किएझैं उप्किँदै र भत्किँदै गइराखेका छन् । आर्थिक भ्रष्टाचार गर्दा अर्जेको अर्थज्ञानले अर्थतन्त्र चलाउने असफल प्रयास भइराखेकै छन् । सुमना श्रेष्ठजस्ता सांसदहरूले सामाजिक सञ्जालको प्रयोग गरेर जनचेतना जगाउने कोसिस त गर्छन्, तर देशलाई अनजान दिशाबाट बग्ने बतासले कता डोर्‍याइरहेछ, केही थाहा पाइँदैन । हाम्रा तीन निकाय— एउटा जसको आँखा बन्द छ (न्यायालय), अर्को जसले कान थुनेर बसिरहेछ (सरकार) र अझै अर्को जसको मुख थुनिएको छ (जनता) जस्ताका तस्तै निष्प्राण देखिन्छन् ।

भुटानी शरणार्थी घोटाला प्रकरण अहिले एउटा निर्णायक मोडमा आइपुगेको छ । कसुरदारहरूविरुद्ध केही थप अनुसन्धान पनि गरिने भन्ने सुनिएको छ । ‘न्याय’लाई अन्धो बनाई नराख्न सरकारसँग हामी सम्पूर्ण देशवासीको अनुरोध छ । यहाँ विधिको शासन चल्छ भन्ने हामीले विश्वसामु देखाउन पनि दोषीहरूलाई कडा कानुनी सजाय दिने र शंकाका घेरामा परेका कोही निर्दोषी भएको विधिले ठहर गर्‍यो भने तिनलाई ससम्मान रिहा गरिनुपर्छ भन्ने सबैको चाहना छ । समग्रमा हामी नेपालीहरूले विदेशमा गइयो भने धन कमाउन पाइन्छ, सुखको जिन्दगी बाँच्न पाइन्छ भनेर देश परित्याग गर्ने सोचलाई मनमस्तिष्कबाट निकालिदिन जरुरी छ ।

पुर्खाले आज्र्याको खेतबारी र घरको श्रीसम्पत्ति दाउमा लाएर बिदेसिने कल्पना पनि नगरौं । नेपालजस्तो देश विश्वमा कहीं छैन, हाम्रो देशमा हामी हाम्रा देवीदेवताहरूसँग बाँचिरहेका हुन्छौं । मात्र के हो भने, हामीलाई प्राचीन कालदेखि नै शासक–सामन्तहरूले रैतीको दर्जामा राखेर व्यवहार गरे । उद्यम, कल–कारखाना र वैज्ञानिक सोचबाट हामीलाई सधैं पृथक् राखियो । हामीले कसरी शिक्षित हुनेतर्फभन्दा पनि रातारात कसरी धनाढ्य हुनेतर्फको विचारलाई सार्थकता प्रदान गर्न आफूलाई समर्पित गर्‍यौँ । आजको परिस्थिति त्यसैको उपज हो । समय छ, अब हामीले असल नेता र असल नीतिहरूको माध्यमबाट हाम्रो नयाँ नेपाल निर्माणको संघर्षलाई निरन्तरता दिँदै जानुपर्छ । आफ्नै धरतीलाई स्वर्ग बनाउनुपर्छ । अपार धन यहीँ फल्छ ।

प्रतिक्रिया दिनुहोस्