सर्वाधिक शक्तिशाली रकेटको प्रक्षेपण «

सर्वाधिक शक्तिशाली रकेटको प्रक्षेपण

विश्वकै सर्वाधिक शक्तिशाली मानिएको स्पेस एक्सको फलकन हेभी नामक रकेटले रातो रंगको टेस्ला रोडस्टार नाम गरेको कारलाई बोकेर मंगलग्रहका लागि उडान भरेको छ । यो प्रक्षेपण त्यही स्थानबाट गरिएको हो, जहाँबाट चन्द्रमा पुग्न पहिलो मानवले उडान भरेका थिए ।
यो उडानको प्रतीक्षा धेरै समयदेखि गरिँदै गरिएकोमा अन्ततः यसले प्रक्षेपणको सफलता पाएको हो ।
यो प्रक्षेपण स्थानीय समयअनुसार ३ः४५ मा गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।
यो उडानलाई ऐतिहासिक बनाउन त्यहाँ उपस्थित भीडलाई सम्बोधन गर्दै उद्घोषकले भने, “तपाईंहरूले सुपरसोनिक वाहनको आह्वान सुनिरहनुभएको छ ।” यो प्रक्षेपणलाई विश्वको सर्वाधिक शक्तिशाली रकेटको प्रक्षेपण भनिएको हो ।
स्पेसएक्सको टोलीले मंगल ग्रहका लागि बहुप्रतीक्षित रकेटको उडान सफलतापूर्वक भएको जनायो ।
यो रकेटलाई मंगल ग्रहको कक्षमा पुग्न करिब ६ महिनाको समय लाग्नेछ । यो दूरी पृथ्वीबाट १४ करोड माइल वा २२ करोड ५० लाख किलोमिटरजतिको छ ।
टेस्ला र स्पेसएक्स कम्पनीका मालिक एलन मस्कले यो रकेटको दोस्रो चरण जोखिम बढी भएको स्वीकार गरेका छन् । तर, प्रक्षेपणको सफलताप्रति विश्वस्त रहेको उनको भनाइ थियो । रकेटमा पठाइएको टेस्ला कारमा एक मानव प्रतिमासमेत राखिएको छ ।
प्रक्षेपण भएको केही बेरमै मस्कले ट्विटरमा ट्विटेर जानकारी दिए ।
यो अभियान पाँच वर्षको आरोह–अवरोहपछि प्रक्षेपणका लागि सफलता प्राप्त गरेको हो ।
यो अभियानको उद्देश्य मंगल ग्रहमा मानिसलाई पुराउन रहेको छ । स्पेस एक्सका मालिक अर्बपति मस्कले भने, “यसको गति प्रतिसेकेन्ड ११ किलोमिटरको हुने र मध्य अन्तरिक्षमा यसको दूरी ४० करोड किलोमिटर हुनेछ ।
आधुनिक समयमा भइरहेको अन्तरिक्ष दौडको प्रतिस्पर्धामा यो प्रक्षेपणले अवस्था परिवर्तनको भूमिका खेल्ने उद्योग विज्ञहरूको बुझाइ छ । यो रकेटले पृथ्वीको तल्लो कक्षामा ६३ हजार ८ सय किलोग्राम बोक्न सक्नेछ भने माथिल्लो कक्षामा २६ हजार ७ सय किलोमिटरबराबरको वजन बोक्न सक्छ । यसले मंगल ग्रहका लागि १६ हजार ८ सय किलोग्राम वा प्लुटोसम्म ३ हजार ५ सय किलोग्रामको वजन बोक्न सक्ने क्षमता राखेको छ । सन् २००२ मा स्पेस एक्स स्थापना गर्ने मस्कको यो सर्वाधिक महत्वाकांक्षी योजना थियो ।

प्रतिक्रिया दिनुहोस्