विद्युत कटौतीको तालिका सार्वजनिक गर्न उद्योगिको माग

मोरङ व्यापार संघले विद्युत कटौतीको तालिका सार्वजनिक गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ । बिना जानकारी विद्युत कटौती हुँदा मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा सञ्चालित सम्पूर्ण उद्योगहरू प्रभावित भएको बताउँदै संघले तत्काल तालिका सार्वजनिक गर्न माग गरेको हो ।
नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश प्रमुख उमेशकुमार झा, विराटनगर शाखा प्रमुख ध्रुवकुमार साह र दुहबी ग्रिडका प्रमुख रोशन खड्कालाई बोलाएर संघले दिनहुँको अस्वाभाविक विद्युत कटौतीले उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै ध्यानाकर्षण गराएको छ । विद्युत कटौतीले उत्पादन प्रक्रियामा रहेका सामान नष्ट हुने गरेको संघका अध्यक्ष नविन रिजालले गुनासो गरे ।
“विद्युत कतिखेर आउने र जाने टुंगो हुँदैन,” उनले भने, “यसले उत्पादन प्रोसेसमा रहेका सामान नष्ट हुनुका साथै मेसिनसमेत बिग्रिएर लाखौं क्षति बेहोर्नु परेको छ ।” अझ औद्योगिक क्षेत्रमा लोल्टेज तल–माथि हुँदा (ट्रिपिङ) मेसिनका पार्टपुर्जा बिग्रिने समस्या बढेको उनको भनाइ थियो ।
यस क्षेत्रका उद्योगले लामो समयदेखि ट्रिपिङको समस्या झेल्दै आएका छन् । बिना जानकारी विद्युत कटौतीमात्रै नभएर ट्रिपिङ र लो भोल्टेजको समस्या पनि रहेको अध्यक्ष रिजालले गुनासो गरे । मागअनुसार विद्युत उपलब्ध गराउन नसके प्राधिकरणले तत्काल विद्युत कटौती हुने तालिका सार्वजनिक गर्नुपर्ने संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले माग गरे । तालिकाअनुसार विद्युत कटौती हुँदा मजदुर र कर्मचारीलाई काममा लगाउनसमेत सहज हुने राठीको भनाइ थियो ।
तालिकाबिनै दैनिक ८ देखि १२ घण्टासम्म अनियमित विद्युत कटौतीले उद्योग चौपट भएको उपाध्यक्ष अनिल साहले बताए । यस क्षेत्रमा साना–ठूला गरी करिब ६ सय उद्योग सञ्चालनमा छन् । औद्योगिक क्षेत्रमा पुसदेखि नै अनियमित विद्युत् आपूर्ति, लो–भोल्टेजलगायतका समस्या रहेको छ । अनियमित विद्युत आपूर्तिका कारण उद्योगको उत्पादन प्रक्रियामा असर परेको साहले बताए ।
औद्योगिक कच्चापदार्थ खेर जाने तथा मेसिनरी सामान बिग्रिने क्रम बढ्दो क्रममा छ । “आर्थिक मन्दीदेखि बैंकको चर्को ब्याजदरसम्म समस्या झेल्दै आएका व्यापारीलाई विद्युत आपूर्तिको गडबडीले थप पीडित तुल्याएको छ,” साहले भने, “यसबाट उत्पादन लागत बढ्नुका साथै श्रमिक व्यवस्थापनमा समस्या भएको छ ।” यस औद्योगिक क्षेत्रमा ६० प्रतिशतसम्म उत्पादन कटौती भएको दाबी संघका सिईओ कृष्ण रेग्मी बताउँछन् । उत्पादन कटौती हुँदा यसको असर बजारमा पर्ने उनको बुझाइ छ ।
तालिका सार्वजनिक नभए आन्दोलनमा उत्रिनुको विकल्प नभएको छलफलमा सहभागी संघका सचिव सञ्जय श्रेष्ठ र सदस्य अमित सारडाले चेतावनी दिए । पूर्वका लागि २७० मेगावाट विद्युत माग भए पनि आपूर्ति भने हाल सरदर २ सय मेगावाटमात्रै छ । यही ७० मेगावाट बिजुली कम हुँदा उद्योगमा आपूर्ति अनियमित भएको प्राधिकरणका प्रदेश प्रमुख उमेशकुमार झाले बताए । विद्युत कटौतीको तालिका माग्दै यसअघि संघको नेतृत्वमा यस क्षेत्रका उद्योगी व्यवसायी सडक आन्दोलनमा समेत उत्रिएका थिए ।