चीनमा युवा बेरोजगारी समस्या

१६ देखि २४ उमेर समूहका कामदारको बेरोजगारी नयाँ रेकर्ड तोड्ने अवस्थाले चिनियाँ अर्थतन्त्रमा तत्कालीन र दीर्घकालीन अवस्थालाई कमजोर बनाएको छ । यदि यो अवस्था विद्यमानै रहेमा चीनलाई उसको तीव्र रूपमा बढ्दै गएको पाका उमेरका मानिसको जनसंख्यालाई सहयोग गर्न कठिन हुने देखिन्छ । यसै महिना चीनले सार्वजनिक गरेको आधिकारिक तथ्यांकले १६ देखि २४ वर्ष उमेरका युवाको बेरोजगारी दर अप्रिलमा २०.४ प्रतिशतको कीर्तिमानी उच्च बिन्दुमा पुगेको देखाएको छ ।
अर्को, १ करोड १६ लाख विद्यार्थी कलेज र भोकेसनल स्कुलबाट ग्रेजुएट भएका र रोजगारी बजारमा प्रवेश गर्ने समाचार देखा पर्नुले अवस्था झनै खराब भएको छ । सरकारको शून्य कोभिड नीतिको मातहतमा ल्याइएको लकडाउन धेरै नै कठोर र आर्थिक रूपमा अन्य मुलुकलाई भन्दा क्षति पुर्याउने खालको भएको कुरा यथार्थ हो । उक्त नीति एक वर्षभन्दा बढी अवधिसम्म लागू गएिको थियो । चीनको आर्थिक सुधारले अन्यलाई पछि पारेको कुरा कुनै आश्चर्यको विषय होइन ।
महामारी उचाइमा पुगेको वर्ष २०२० मा अमेरिकी युवा बेरोजगारी दर १४.८५ प्रतिशत पुगेको थियो । त्यसपछि बिस्तारै ओरालो लागेर २०२१ मा ९.९५ प्रतिशत र आज ६.५ प्रतिशत छ । तर रोजगारीमा चीनको महामारी सम्बन्धित धेरैजसो अवरोध हटाइएको छ । चीनको युवा बेरोजगारी घटाउने आधारभूत अवस्थामा भने सुधार आएको छैन । तर, दीर्घकालीन रूपमा महामारीपछिको बेरोजगारी दर हालको भन्दा न्यून हुनेछ । यो अझै पनि पूर्वमहामारीका वर्षहरूको तुलनामा उच्च हुने देखिन्छ ।
यसका लागि धेरै कारण छन् । तर, एउटा मुख्य विषय भनेको संरक्षित ज्यालादर, जसलाई युवा ग्रेजुएटहरूले स्विकार्छन्, फर्महरूले दिन चाहेको ज्यालाबीचको ठूलो अन्तर हो । यो मिसम्याचले जीविकोपार्जन खर्चमा भएको वृद्धि उछिनेको अवस्थालाई प्रतिविम्बित गरेको छ । २०२१ को सर्भेअनुसार ठूला सहरहरू जस्तै सांघाई र बेइजिङले नयाँ ग्रेजुएटलाई दिने तलब औसत प्रतिमहिना ५ हजार २ सय ९० युआन अर्थात् ७ सय ४९ अमेरिकी डलर मात्र छ ।
यो केवल २५ वर्गमिटरको क्षेत्रफलको अपार्टमेन्टलाई भाडा तिर्न ठीक हुन्छ । चिनियाँ सहरमा हाल विश्वकै सर्वाधिक महँगो रियलस्टेटमध्येमा रहेको छ । यी युवा चिनियाँले पाउने काम भनेको न्यूनतमबाट सुरुवात हुन्छ र यो आम्दानी १० वर्षपछिको अवस्थामा परिवार धान्नका लागि पर्याप्त हँुदैन । जब सहरी ह्वाइट कलर कामदारले सामान्यतया दैनिक बिहान ९ देखि साँझ ९ बजेसम्म साताको ६ दिन काम गर्ने गर्छन् । दुई थरीको पेसा अँगाल्ने जोडी, जसको बच्चा पनि छ, उनीहरू आफ्नो बच्चा अर्कालाई पैसा तिरेर हेर्न लगाउने अवस्थाका रहेका छन् ।
सांघाई र बेइजिङमा बच्चा हेर्नेहरू प्रायः गाउँबाट आउँछन् र उनीहरूले माध्यमिक विद्यालय तहको शिक्षा पनि आर्जन गरेका हुँदैनन् । उनीहरू महिनामा औसतमा ६ हजार युआन कमाउने गर्छन् । उनीहरूको यो आम्दानी कलेजको शिक्षा प्राप्त गरेकाको भन्दा बढी हो । जीविकोपार्जनको न्यून खर्च भएका साना सहरमा नयाँ दीक्षितहरू किन जाँदैनन् भन्ने विषयले जोकोहीलाई पनि आश्चर्यमा पारेको छ । तर, धेरै युवा अमेरिकी कामदारले भने यसो गरेका छन् । उनीहरू सन् फ्रान्सिस्को बे तथा न्युयोर्क सिटीबाट सनबेल्ट तथा रस्टबेल्टमा सरेका छन् । तर, चिनियाँ कामदारका लागि समान किसिमको बसाइँसराइ धेरै महँगो परेको छ ।
तर, ठूला सहरहरूको तुलनामा साना सहरहरूमा सुविधा धेरै नराम्रो छ । यो विशेष गरी धेरै मध्यम आम्दानी भएका मुलुकहरूमा देखिएको छ । पहिलो दर्जा अर्थात् सर्वाधिक विकसित चिनियाँ सहरमा न्युयोर्क र टोकियोमा भन्दा पनि समृद्धि महसुस गरिन्छ । तेस्रो दर्जा अर्थात् कम विकसित सहरहरू अझै पनि विश्वसनीय विद्युत् र आधारभूत सरसफाइ जस्तै निजी शौचालयहरू उपलब्ध गराउन संघर्ष गरिरहेका छन् । धेरै कलेज शिक्षा प्राप्त गरेकाहरू खर्च धान्न सक्ने क्षेत्रतर्फ जान नमान्ने कुरा कुनै आश्चर्य होइन । यसको सट्टा उनीहरू आधारभूत खर्च धान्न सहयोगी हुनका लागि अभिभावकमा निर्भर हुने गरेका छन् ।
२०१४ मा गरिएको राष्ट्रिय सर्भेले ३० प्रतिशत चिनियाँ कलेज शिक्षा प्राप्त गरेकाहरू आफ्नै अभिभावकसँग बसेको देखाएको छ । तर, युवा बेरोजगारी भएको ठाउँमा अभिभावकीय सहयोग दुई धारको तरबार भएको छ । तर, केही युवा कामदार अभिभावकको सहयोगबिना बाच्न सक्दैनन् भने केही आफ्ना अभिभावकको सहयोग पाइने भएकाले कामै गर्न सक्दैनन् । सहरी क्षेत्रमा जन्मेका युवा चिनियाँका बुवाआमा र हजुरबुवा–हजुरआमाको सिटी सेन्टरमा आफ्नै अपार्टमेन्ट छ, उनीहरूले १९९० को दशकको हाउजिङ सुधारको समयमा राज्यबाट आवासमा सम्पत्ति आम रूपमा सार्ने गरेका छन् ।
१९७८ र २०१६ को बीचमा एक सन्तान नीति लागू गरिएकाले युवाका दाजुभाइ तथा दिदीबहिनी छैनन् । त्यसैले उनीहरूले पैतृक सम्पत्तिकै रूपमा घर पाउने गरेका छन् । यदि उनीहरू यो अवस्थामा छन् र उनीहरूका अभिभावकले जीविकोपार्जन खर्च धान्न सक्छन् भने सानो आम्दानीका लागि उनीहरूले किन काम गर्ने ? त्यसैले चीनलाई धेरै कामको आवश्यकता मात्रै पर्दैन, उच्च तलबको रोजगारीको आवश्यकता पर्छ । यो कुनै पनि अर्थतन्त्रलाई ठूलो अर्डर हो । तर, चीनले भने अतिरिक्त चुनौतीको सामना गर्नुपर्नेछ । उदाहरणका लागि युवा बेरोजगारी अन्य समस्याहरूको कारण बन्न सक्छ ।
जस्तै-बढ्दो अपराध र सामाजिक र राजनीतिक अस्थिरता । युवा बेरोजगारीले जीवनपर्यन्त आम्दानीलाई निराश बनाउने अनुसन्धानले देखाएको छ । यसको अर्थ युवाले सीप विकासका लागि महत्त्वपूर्ण अवसरहरू गुमाउनु हो । संयुक्त अधिराज्यमा २२ वर्षको उमेरमा एकवर्षे बेरोजगारीले २० वर्षपछिको ज्यालामा १३ देखि २१ प्रतिशतको गिरावट आएको देखाएको छ । लामो समयको युवा बेरोजगारीले जुनसुकै स्थानमा पनि दीर्घकालीन बृहत् अर्थतन्त्रमा गहन नकारात्मक असर पार्न सक्छ ।
तर, यो विशेष गरी चीनका लागि समस्या हो । तर, यो विश्वकै सर्वाधिक र तीव्र वृद्धिको पाका उमेरको जनसंख्या भएको देश हो । चिनियाँ अर्थतन्त्रका लागि तत्काल उच्च उत्पादकत्व भएको कामदारको आवश्यकता पर्छ, जसले बढ्दो पाका उमेरका जनसंख्यालाई सहयोग गर्न सक्नेछ । अहिलेसम्मकै बढी चिनियाँ नीतिनिर्माताहरूले आर्थिक वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेछ ।