वीरेन्द्रनगरमा सन्राइज बैंकको दुग्ध उत्पादन तालिम

सन्राइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादन सम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय तहमा सुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिलाई प्रदान गरेर उनीहरूको आम्दानी वृद्धिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्य साथ ३५ जना महिलाको सहभागितामा ५ दिने दुग्ध उत्पादन सम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा वीरेन्द्रनगर २ का कार्यवाहक वडाध्यक्ष गजबहादुर बुढा, सन्राइज बैंक कर्णाली प्रदेशका प्रमुख धर्मकुमार विष्ट, बैंकका प्रधान कार्यालयका कृषि कर्जा शाखा अधिकृत सुवास पोखरेल तथा बैंकका वीरेन्द्रनगर शाखाका शाखा प्रमुख सुस्मा गिरीको उपस्थिति रहेको थियो । ५ दिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले गरेका थिए ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत महिलालाई विभिन्न सिपमूलक तालिम दिएर आयआर्जनमा जोड्ने र वित्तीय अनुशासन कायम गराउने उद्देश्यले तालिम आयोजना गरिएको थियो । सीपमूलक तालिमले महिला कृषकमा दुग्ध पदार्थको उत्पादन वृद्धि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरूको व्यावसायिक क्षमतामा वृद्धि गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।