लिक बनेको चार वर्षपछि बल्ल कार्गो रेल आउँदै

२०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डसम्म आज बिहीबारदेखि रेल आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणकै बेला विराटनगरसम्म कार्गो रेल आउन लागेको हो ।
रेलको लिक परीक्षण सफल भएको चार वर्ष पुग्दा पनि भारतको बथनाहाबाट नेपालको कटहरीसम्म कार्गो रेल सञ्चालन हुन सकेको थिएन । रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका–१ मा लगभग ६ बिघा जग्गाको मुआब्जा विवादका कारण केही स्थानको काम भने रोकिएको छ ।
बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)सम्मको ७.६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य छ । बथनाहा रेलवे स्टेसनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको सात किलोमिटर दूरीमा पहिलोपटक २०७६ कात्तिकमा रेलवे लिक परीक्षण गरिएको थियो ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणअघि यस विषयमा भन्सार र भारतीय रेल्वेका अधिकारीले विराटनगरका उद्योगी–व्यवसायीसँग छलफल गरेका थिए । केही दिनअघि विराटनगर आएका भारतीय अधिकारीहरुले उद्योग संगठन मोरङमा छलफल गरेका थिए । छलफलमा नेपाली उद्योगीले विगत लामो समयदेखि कार्गो रेल आउने समय पर्खिएको बताएका थिए ।
विराटनगरका उद्योगीहरु कार्गो रेल सञ्चालन हुने हो भने आफूहरुलाई ढुवानीबापतको भाडामा ३५ प्रतिशतसम्म सस्तो पर्न जाने दाबी गर्छन् । विराटनगर भन्सारमा दैनिक ३ सय ट्रक अर्थात् झण्डै ४ हजार ५ सय टन मालवस्तु आयात हुने गरेको छ, जसमध्ये ८० प्रतिशत भारतबाट र २० प्रतिशत तेस्रो मुलुकबाट आउने गरेको छ ।
कार्गो रेल सञ्चालनमा आउने हो भने तेस्रो मुलुकबाट आउने सबै र भारतबाट आउने ६० प्रतिशत मालवस्तु रेल्वेमार्फत आउने अनौपचारिक प्रक्षेपण रहेको उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयष प्याकुरेलले बताए ।