वैदेशिक व्यापारका समस्या र समाधानका उपाय «

वैदेशिक व्यापारका समस्या र समाधानका उपाय

वैदेशिक व्यापार भनेको कुनै दुई वा दुईभन्दा बढी राष्ट्रबीच हुने आर्थिक सम्बन्ध वा व्यापार हो । वारमेन एवं हेल्टमेनको विचारअनुसार, अन्तर्राष्ट्रिय अर्थशास्त्रको अध्ययन एवं व्यवहारको क्षेत्र वस्तु, सेवा, उपहार, पुँजी र बहुमूल्य धातुहरूको त्यो व्यापार हो, जसमा ती वस्तुको स्वामित्व दुई देशका बासिन्दाहरूबीच परिवर्तित हुन्छ । विश्वमा जति विकास भइरहेको छ, अन्तर्राष्ट्रिय व्यापारको महत्व पनि त्यति नै बढिरहेको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक कारोबार गर्न पनि नयाँ किसिमका समस्या आइराखेका छन् । यी समस्याहरूको उचित समाधानका लागि अन्तर्राष्ट्रिय व्यापारको वैज्ञानिक अध्ययन आवश्यक छ । त्यसका लागि अन्तर्राष्ट्रिय व्यापारको एउटा पृथक् सिद्धान्तको रूपमा अध्ययन गर्नु जरुरी हुन्छ । यस प्रसंगमा प्रो. किंडले वर्गरको उक्ति महत्वपूर्ण छ । उनको भनाइअनुसार, ‘परम्परा, वास्तविक विश्वमा अन्तर्राष्ट्रिय आर्थिक प्रश्नहरूबाट उत्पन्न महत्वपूर्ण एवं अनिवार्य समस्या तथा यसको अध्ययनबाट सम्पूर्ण अर्थशास्त्रको बढी राम्रो ज्ञान प्राप्त हुनको कारणले अन्तर्राष्ट्रिय व्यापारको पृथक् अध्ययन हुन्छ ।’

वैदेशिक व्यापारबाट उपभोक्ताहरूले सरल मूल्यमा वस्तु प्राप्त गर्छन् । वैदेशिक व्यापारबाट अनिकालजस्तो संकटको सामना पनि गर्छ । बजार क्षेत्रको विस्तार हुनुका साथै उत्पादन विधिमा सुधार गर्न मद्दत गर्छ । योजनाबद्ध आर्थिक विकासका लागि मेसिन, औजार, कच्चा पदार्थ र प्रविधिहरू विदेशबाट झिकाउन मद्दत पुर्याई योजना सफल पार्न सहयोग गर्छ । विदेशी मुद्रा आर्जनमा टेवा पुर्याउनुका साथै उत्पादकहरूले देशमा आफ्नो वस्तुलाई उचित मूल्यमा बेच्न सक्छन् । यसले गर्दा उनीहरूले नाफा प्राप्त गर्न सक्छन् । वैदेशिक व्यापारले सरकारको आम्दानी वृद्धि गराउनमा मद्दत पुर्याउँछ । किनभने विदेश व्यापारका क्रममा वस्तुहरूको आयात–निर्यात गरिन्छ र सरकारले आयात कर तथा निर्यात करद्वारा आम्दानी प्राप्त गर्छ । देशले समुचित औद्योगिक विकास गर्न नसकेर देशभित्र उत्पादन हुन सक्ने वस्तुहरू जस्तै— कपडा, प्लास्टिक, नाइलन कागज र रासायनिक पदार्थ तथा धातुका सामान वैदेशिक व्यापारबाट नै प्राप्त गर्न सकिन्छ ।

आर्थिक वर्ष २०७९/८० को १० महिनामा कुल वस्तु आयातमा करिव २० प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष आयात निकै उच्च थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयातमा मुख्य रूपमा कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेसनरी सामानलगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्ट्स, औषधि, एमएस बिलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदीलगायतका वस्तुको आयात घटेको छ ।

वर्तमान पन्ध्रौं योजना (२०७६–२०८१) मा वैदेशिक व्यापार, शोधनान्तर र विदेशी विनिमय कार्यक्रमअन्तर्गत सन्तुलित वैदेशिक व्यापार, पर्याप्त विदेशी मुद्रा सञ्चिति र बाह्य क्षेत्र स्थायित्वसहितको सुदृढ अर्थतन्त्र बनाउने सोच राखिएको छ । त्यस्तै निर्यात प्रवद्र्धन, वैदेशिक व्यापार सन्तुलन र शोधनान्तर बचत कायम गर्ने लक्ष्य राखिएको छ । यसका साथसाथै उत्पादन अभिवृद्धि, आयात व्यवस्थापन तथा निर्यात प्रवद्र्धनका लागि देशगत तथा वस्तुगत विविधीकरण गरी व्यापारघाटा कम गर्नु, विदेशी विनिमय स्थिरता, बाह्य क्षेत्र स्थिरता तथा लक्षित विदेशी मुद्रा सञ्चिति कायम गर्नु आदि जस्ता उद्देश्यहरू राखिएको पाइन्छ ।

नेपालका वैदेशिक व्यापारमा देखा परेका समस्या तथा चुनौतीअन्तर्गत आयातित कच्चा पदार्थमा आधारित उद्योगहरूको बाहुल्यता रहनु, अग्रणी निकासीजन्य उत्पादनहरूको गुणस्तर ह्रास हुनु र उत्पादन विविधीकरण हुन नसक्नु, निकासीलाई सहयोग पु¥याउने गरी पर्याप्त मात्रामा भौतिक पूर्वाधारहरूको विकास हुन नसक्नु र भएका पूर्वाधारहरूको पूर्ण सदुपयोग हुन नसक्नुजस्ता कारणले गर्दा नेपालको निकासी व्यापारले अर्थतन्त्रमा आशातित योगदान पुर्याउन नसकेको देखिन्छ ।

विश्वव्यापार र क्षेत्रीय व्यापार संरचनाभित्र नेपालले प्रवेश गरेको र यसरी क्षेत्रीय व्यापार संरचनाभित्र समावेश भएका मुलुकहरूमा एकै प्रकृतिका वस्तु रहेका र ती वस्तुको निकासी सम्भाव्यता तथा प्रतिस्पर्धात्मक क्षमता नेपालभन्दा अरू मुलुककै बढी हुँदा नेपालको निकासी क्षेत्र चुनौतीपूर्ण बन्न गएको छ । व्यापारबाट हुने लाभलाई गरिबी निवारणसँग आबद्ध गर्ने, विश्वव्यापार संगठनको सदस्यता एवं क्षेत्रीय व्यापार प्रणालीसँगको आबद्धताबाट सिर्जित व्यापार उदारीकरणको दायित्व निर्वाह गर्न आवश्यक कानुनी, नीतिगत एवं संरचनागत सुधारका कार्यहरू गर्ने पनि त्यत्तिकै चुनौतीपूर्ण रहन गएको छ । नेपालमा व्यापारलाई व्यवस्थित गर्ने कानुनी अभाव देखिन्छ ।

निकासी पैठारी ऐन तथा भन्सार ऐनका आधारमा नेपालको व्यापार अगाडि बढेको छ । वाणिज्य नीति–२०७२, नेपाल व्यापार एकीकृत रणनीति–२०७३ कार्यान्वयनमा रहेका छन्, तर उत्पादनदेखि बजारसम्म र समग्र श्रृंखलामा ‘फार्मर टु फोर्क’ लाई समन्वय गर्ने नीतिगत आधारको अभाव देखिन्छ । त्यसैगरी केही नीतिबीच प्रतिस्पर्धी भावनाले उत्पादन वृद्धि तथा बजारीकरण गर्ने विषयमा समस्या सिर्जना भइरहेका छन् । कृषिमा जीवन निर्वाहउन्मुख उत्पादन रहेको छ । उत्पादनमा उच्च प्रविधिको प्रयोग एक प्रतिशत रहेको विश्व बैंकको उल्लिखित प्रतिवेदनले औँल्याएको छ ।

कृषि र उद्योग क्षेत्रको राम्रोसँग विकास हुन नसकेकाले आयातित वस्तुको संख्यामा निकै वृद्धि भइरहेको छ भने निर्यात क्षेत्र निकै कमजोर भइरहेको छ । निर्यात बढाउन वा आयात घटाउनु नै व्यापारघाटा कम गर्ने उपाय हो । यसका लागि मुलुकमै कृषिमा आधारित उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थहरूको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नुपर्छ । उच्च उत्पादन लागतका कारण कमजोर प्रतिस्पर्धी क्षमता भएका स्वदेशी उत्पादनले मूल्य तथा गुणस्तर दुवैमा बलियो प्रतिस्पर्धी क्षमतायुक्त विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसकी बजारबाट विस्थापित हुनुपर्ने अवस्था विद्यमान छ ।

त्यसैले विश्वबजारको मागअनुरूपका तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमतायुक्त वस्तुहरूको पहिचान गरी त्यस्ता वस्तुको उत्पादन र गुणस्तर वृद्धि गर्न आवश्यक पर्ने सीप, पुँजी, प्रविधि आदि सरकारले उपलब्ध गराउनुपर्छ । विद्यमान बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय व्यापार प्रणालीबाट नेपालले अधिकतम लाभ लिन सकिरहेको छैन । नेपालमा उत्पादित वस्तुहरू सार्क क्षेत्रमा निर्यातका लागि भारतीय भूमिको प्रयोग गर्नुपर्ने बाध्यता रहेकाले क्षेत्रीय ट्रान्जिट एग्रिमेन्ट गर्नु जरुरी छ । भौगोलिक अवस्थितिका कारण पनि आन्तरिक उत्पादन वृद्धि र निर्यात गर्ने क्षमतामा विस्तार गर्न नसक्दासम्म यस्तो व्यापारघाटा घटाउन सक्ने अवस्था देखिँदैन ।

त्यसैले आन्तरिक उत्पादन वृद्धिका लागि वैदेशिक लगानी भिœयाउनु जरुरी छ । निकासी व्यापारमा देखा परेका गैरभन्सारजन्य अवरोध हटाउन आवश्यक पहल गर्नुपर्छ । अन्तर्राष्ट्रिय व्यापार प्रणालीअनुरुपको भन्सार मूल्यांकन विधि अवलम्बन गरी भन्सार प्रक्रियालाई सरल, आधुनिक र प्रभावकारी बनाउनुपर्छ । नेपाली कला, संस्कृति र मौलिक पहिचान झल्कने वस्तुलगायतका स्वदेशी उत्पादनलाई निर्यात प्रवद्र्धन गर्न यथोचित प्रोत्साहन दिएमा निर्यातमा बढोत्तरी आई व्यापारघाटा न्यून गर्न सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्