गाडी चलाउन छाडेर ढिँडो बेच्दै सुदामा

गाडी चलाउन छाडेर ढिँडो बेच्दै सुदामागाडी चलाउन छाडेर ढिँडो बेच्दै सुदामाहेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडास्थित राप्ती खोला पुलको मुखमै छ सुदामा पुडाशैनीको ढिंँडो पसल । राप्ती किनारको सिमलटार गाउँमा उनले ढिंँडो बेच्न थालेको झण्डै ६ वर्ष भयो ।अहिले उनको ‘मकवानपुरे ढिँडो’ प्रख्यात बन्दै गएको छ । ढिँडो पकाउँदा सधैं एप्रोन प्रयोग गर्ने पुडाशैनी हट्टाकट्टा छन् । श्रीमती सविना र दुईजना सहयोगी दिनभर सुदामासँगै खटिन्छन् । उनकोमा ढिँडो खानेको लाइन नै लाग्छ ।
स्थानीय खोलाका माछा, स्वादिष्ट गोलभेँंडाको अचार, भटमासको अचार र सागसँग तात्तातो ढिँडो चोपेर खान मकवानपुरका मात्रै होइन अन्य जिल्लाका ढिँडो पारखीसमेत यहाँ पुग्ने गरेका छन् । एक सय ५० मा माछा र ढिँडोको स्वाद थपिथपि खान पाइन्छ । “सिडियोदेखि मन्त्री, सांसद, कलाकारलगायत ढिंँडो खान आउनुहुन्छ,” पुडाशैनीले भने । चैत २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पञ्चायत’को निर्माण समूह मंगलबार यहाँ ढिँडोको स्वादमा रमायो । सुदामाको मकवानपुरे ढिँडो एउटा ब्राण्ड जस्तै बनेको छ । हेटाँैंडा उपमहानगरपालिका–१ राप्ती खोलाको किनारमै छ ढिंँडो पसल । ऐलानी एक कठ्ठा जग्गामा ६ वर्षदेखि पुडाशैनीले ढिँडो बनाएर बेच्दै आएका छन् । उनले गाडी चलाउन छाडेर ढिंँडो बेच्न थालेका हुन् । साउदी गएर दुई वर्ष गाडी चलाएको पनि उनसँग अनुभव छ । “परिवासँग बसेर पेशा गर्न पाइएको छ, आम्दानी पनि राम्रै छ,” उनले भने । पुडाशैनीले मासिक एक लाख ५० हजारदेखि दुई लाखसम्म आम्दानी गर्छन् । पहिला ५५ रुपैयाँमा ढिँडो बिक्थ्यो । त्यो बेला माछा प्रतिकिलो १८० मा पाइन्थ्यो । अहिले त्यही माछा प्रतिकिलो ६०० पर्छ । “पहिले गाउँमा ढिंँडो खाने चलन थियो, अहिले त्यो चलन घट्दै गएको छ, अहिले शहरमा ढिँडोमा आकर्षण बढ्दै गएको छ,” उनले भने । वडाले सिफारिस नदिएका कारण पुडाशैनीले पसल दर्ता गर्न पाएका छन् । उनको पसल ऐलानी जग्गामा रहेको छ । “कर तिर्छु भनेर दर्ता गर्न खोज्दा दिएन,” उनले भने । उनी सिमलटार टोल विकास संस्थामा आवद्ध छन् । सो टोलमा एक हजार १०० घरधुरी रहेको छ ।