पाटा वार्षिक शिखर सम्मेलन पोखरामा सुरु, २२ देशका १ सय ६० प्रतिनिधि सहभागी «

पाटा वार्षिक शिखर सम्मेलन पोखरामा सुरु, २२ देशका १ सय ६० प्रतिनिधि सहभागी

पोखरामा मंगलबारदेखि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा तेश्रो संस्करणको एडभेन्चर ट्राभल मार्ट सुरु भएको छ । जेठ १९ सम्म चार दिन चल्ने उक्त कार्यक्रमको एक समारोहकाबीच मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा सहभागी हुन २२ देशका १ सय ६० जना अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी भएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिईओ) धनन्जय रेग्मीले बताए । पाटाको उक्त कार्यक्रममा अन्तराष्ट्रिय प्रतिनिधि सहित क्रेता तथा बिक्रेता गरी करिब २ सय ५० जनाको सहभागीता रहेको उनले बताए । नेपालको मुख्य पर्यटकीय स्थल पोखरामा भएको उक्त कार्यक्रमले हाल कोभिड-१९, आर्थिक मन्दिको प्रभावलाई केही हदसम्म सहज बनाउन मद्धत पुग्ने उद्धेश्यले उक्त कार्यक्रम पोखरामा पहिलो पटक आयोजना गरिएको सिईओ रेग्मीले बताए ।

कार्यक्रममा मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न एयरलायन्स कम्पनीहरूलाई आग्रह गरे । पोखरामा ठूलो लगानीमा हालै निर्माण भएको उक्त विमानस्थलबाट एसिया क्षेत्रमा हवाई उडान गर्न इच्छुक एयरलायन्स कम्पनीलाई आग्रह गर्दै उनले पोखरा संसारकै उत्कृष्ट सहर मध्यको एकमा पर्ने भएकोले यहाँको पर्यटन प्रवर्द्धन गर्न सबै लाग्नु पर्नेमा जोड दिए । प्रदेशको राजधानी पोखरामा पर्यटनको मात्र नभई साहासिक खेलकुदको केन्द्र भएको मुख्यमन्त्री पाण्डेले बताए ।

उक्त कार्यक्रमले नयाँ ढंगले व्यापार गर्न व्यवसायीहरुलाई मद्वत पुग्ने उनले विश्वास व्यक्त गरे । माल्दीप्सका पर्यटन मन्त्री डां अब्दुल्ला मासुमले नेपाल र माल्दिप्सको सम्बन्ध लामो समय देखि रहेको उल्लेख गर्दै हिमाल, प्रकृति र संस्कृतिको धनी देश नेपालमा पर्यटनको धेरै सम्भावना रहेको दाबी गरे । पाटाको शिखर सम्मेलनले समग्र नेपालसहित पोखरा क्षेत्रको पर्यटन र यसको बजारीकरणमा ठूलो मद्धत पुगेको उनको भनाइ थियो । पोखरा महानगरका मेयर धनराज आचार्यले ५८ वर्षपछि तेस्रो पटक संस्करणको पाटा शिखर सम्मेलन नेपालको पोखरामा पहिलो पटक गर्न पाउदा निकै खुसि लागेको बताए ।

कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई माथि उकास्न उक्त कार्यक्रमले थप टेवा पुग्ने उनको भनाइ छ । हस्पिटालिटि, पर्यटनको सहर पोखरामा धेरै कुराको सम्भावना भएकोले पोखराको आर्थिक समृद्धिको आधार पर्यटन भएको मेयर आचार्यले बताए । पाटाका अध्यक्ष पिटर स्यामनले पर्यटकीय नगरी पोखरामा उक्त कार्यक्रम गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको बताए । पोखरा क्षेत्रबाट अन्नपूर्ण हिमश्रृखला देख्न पाइने बताउँदै उनले पोखरा अन्तरास्ट्रिय विमानस्थले प्यासिफिक क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने जनाए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पाटाको उक्त कार्यक्रम पोखरामा आयोजना गरेर पोखरालाई ठूलो गुन लगाएको उल्लेख गरे । पोखराको पर्यटन प्रवर्द्धनमा पाटा सम्मेलन कोषेढुंगा सावित हुने बताएका उनले पोखरा पर्यटनको समृद्धिको आधार पर्यटन भएको दाबी गरे ।

नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले कोभिड १९ पछि अन्तर्राष्ट्रिय क्षेत्रकै प्रतिनिधित्व हुने गरी बृहत् कार्यक्रम पोखरामा भएको जिकिर गरे । दिगो पर्यटन विकासको लागि हिमाल, हरियो वन जंगल संरक्षणमा ध्यान दिनु पर्नेमा उनले जोड दिए । पाटाका सचिव/कोषाध्यक्ष सुमन पाण्डेले पोखरा संसारकै उत्कृष्ट शहर मध्यको एकमा पर्ने भएको पोखरा क्षेत्रबाट ८ हजार मिटर उचाईका हिमाल आरोहण गर्न पाइने, विश्वकै चर्चीत अन्नपूर्ण पदमार्ग लगायतका पर्यटकीय गन्तव्य रहेको बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्राभल उद्योगका व्यक्तिहरुले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटन लगायतको विषयमा विचार राख्ने तथा सहभागी बीच छलफल गर्ने जनाएका छन् । कार्यक्रम सम्पन्न गर्न करिब ५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । विभिन्न देशका प्रतिनिधिको दर्ता गर्दा १ सय ३० डलर तिर्ने गरेको पाण्डेले बताए ।

कार्यक्रममा प्रसिद्ध ब्लगरहरुको समेत सहभगिता हुने भएको छ । कार्यक्रम पछि लुम्बिनी, चितवन, बर्दिया, जोमसोम लगायतका ठाँउमा अध्ययन अवलोकन तथा भ्रमण गर्ने कार्यक्रम तय गरिएको पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक काशीराम भण्डारीले बताए । पर्यटन बोर्डले होष्ट गरेको पाटाको मुख्य आयोजनामा हुने उक्त कार्यक्रम पोखरा पर्यटन परिषद्ले सहकार्यमा गरेको छ भने पोखरा महानगरपालिका संरक्षक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्