संघीय बजेटमा सुदूरपश्चिम,पुरानै योजनामा बजेट विनियोजन

आर्थिक वर्ष २०८०/०८१ को बजेटमा संघीय सरकारले सुदूरपश्चिम प्रदेशका लागि नयाँ योजना नल्याए पनि बजेट रणनीतिक महत्वका योजनामा बजेट थप गरेको छ । नयाँ योजनाभन्दा पुराना अधुरो योजनालाई सम्पन्न गर्नमा बजेट केन्द्रित गरेको संघीय सरकारले सुदूरपश्चिमका पुराना अधुरा योजनामा बजेट थप गरेर घोषणा गरेको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा सोमबार प्रस्तुत गरेको बजेट भाषणमा गतवर्ष बजेट नै परेको योजनामा यस वर्ष बजेट थप गरिएको छ । चालु आर्थिक वर्षका लागि बहुवर्षीय ठेक्का लागेको भए पनि बजेट नै परेको खुटिया–दिपायल द्रुतमार्गमा आउँदो वर्ष २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । द्रुतमार्गलाई चैनपुर–उरैभन्ज्याङसम्म विस्तार गर्न प्राथमिकतामा राखी निर्माण गरिने उल्लेख छ ।
सेती राजमार्ग निर्माणका लागि समेत चालु आर्थिक वर्षमा बजेट विनियोजन भएको थिएन भने आउँदो आर्थिक वर्षका लागि सो सडकको टीकापुर–लोडे–चैनपुर र चैनपुर–ताक्लाकोट खण्डको निर्माण गर्न ३० करोड विनियोजन गरिएको अर्थमन्त्री महतले बताए । उनले महाकाली करिडोरको ब्रम्हदेव–झुलाघाट–दार्चुला र दार्चुला–टिंकर सडक खण्डको स्तरोन्नतिका लागि ४५ करोड र दैजी–जोगबुढा–डडेल्धुरा सडक स्तरोन्नतिका लागि ३० करोड रकम छुट्याएको बताए ।
महाकाली करिडोरमा चालु आर्थिक वर्षमा ४१ करोड रुपैयाँ विनियोजन भएको थियो । दैजी–जोगबुढा–डडेल्धुरा सडक खण्ड सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि बढाएको छ । चालु आर्थिक वर्षमा सो सडकमा संघीय सरकारको समपूरक अनुदान पाँच करोड र प्रदेश सरकारको पाँच करोड गरी १० करोडमा बजेट थियो भने यस वर्ष सो सडकको बजेट दोब्बर हुने भएको छ ।
बजेट भाषणमा कञ्चनपुर जिल्लाको दोधारा चाँनदीमा सुख्खा बन्दरगाह निर्माण कार्य प्रारम्भ गरिने उल्लेछ । त्यहाँ एकीकृत जाँच चौकी, सुक्खा बन्दरगाह, कन्टेर यार्ड निर्माण, प्रयोगशाला स्तरोन्नतिलगायतका व्यापार पूर्वाधार निर्माण र सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको अर्थमन्त्री महतले बताए । यस आयोजनामा बजेट एकीन गरिएको छैन । चालु आर्थिक वर्षमा यसका लागि एक अर्ब रुपैयाँ विनियोजन गरे पनि कार्यान्वयन हुन सकेन ।
राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाई आयोजनाका लागि दुई अर्ब ६३ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री महतले प्रथम चरणमा १४ हजार ३०० हेक्टर सिञ्चित हुने शाखा नहर सञ्चालन गरी बाह्रै महिना सिँंचाइ सुविधा उपलब्ध गराइने बताए । उनले लम्की मूल नहरको शाखा तथा प्रशाखा नहरबाट थप एक हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिने बताए । यस आयोजनाको काम ५५ प्रतिशत सम्पन्न भएको छ ।
यसैगरी, महाकाली सिँचाइ आयोजनाका लागि एक अर्ब १७ करोड व्यवस्था गरिएको छ । अर्थमन्त्री महतले निर्माण कार्य तीव्र गतिमा अघि बढाइने बताए । उनले कञ्चनपुर जिल्लाको ब्रम्हदेव क्षेत्रको १९ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउन शाखा नहर निर्माण कार्य अगाडि बढाइने बताए । उनले कर्णाली र खुटिया नदीमा तटबन्धन निर्माण गर्नसमेत बजेट विनियोजन गरेको बताए ।
रणनीतिक महत्वको पश्चिम सेती जलविद्युत परियोजना, सेती रिभर ६ आयोजनाकबो विकास सम्झौता गरी निर्माण कार्य अघि बढाइने अर्थमन्त्री महतले बताए । उनले २१० मेगावाटको चैनपुर सेती आयोजनासमेत निर्माण सुरु गरिने बताए । तर, त्यसका लागि बजेट विनियोजन गरिएको विषयमा बजेट भाषणमा उल्लेख छैन । दोधारा–बरेली अन्तरदेशीय प्रसारणलाइन र पश्चिमसेती करिडोर प्रसारणलाइन निर्माण प्रारम्भ गरिने बजेट भाषणमा उल्लेख छ ।
यो योजना संघीय सरकारले नयाँ ल्याएको भए पनि यसको बजेट विनियोजन बजेट भाषणमा उल्लेख छैन । पर्यटन क्षेत्रमा पनि सुदूरपश्चिम प्रदेशका लागि पुरानै योजना समेटिएका छन् । बजेट भाषणमा सुदूरपश्चिम प्रदेशको बडिमालिका, घटालथान, खप्तड र मणिका मन्दिरको संरक्षण तथा पूर्वाधार विकास एवं सौन्दर्यीकरण गरिने उल्लेख छ । तर, यसको बजेट एकीन गरिएको छैन । कोशी, लम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक एह हिल स्टेसन विकास गरिने नयाँ योजना ल्याइएको छ ।
खप्तडमालगायत पर्यटकीय सम्भावना भएका महत्वपूर्ण क्षेत्रमा केबलकार निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने उल्लेख छ । खप्तडमा केबलकार सञ्चालन नयाँ योजना भए पनि यसको लागि बजेट विनियोजन गरिएको छैन ।
अर्थमन्त्री महतले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गरिने बताए । उनले त्यहाँ एक सय शैय्याको अस्पतालको रूपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेटको व्यवस्था गरेको बताए ।
उनले डडेल्धुरामा मेडिकल कजेल सञ्चालन गरिने बताए । बजेट भाषणमा डडेल्धुरामा एक नमुना आवासीय विद्यालय सञ्चालन गरिने, डोटीमा निर्माणाधीन सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालन गरिने, कैलालीको लम्कीमा नजिकको सरकारी अस्पतालसँंग समन्वयमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरी सञ्चालन गरिने उल्लेख छ ।
धनगढीमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापनको कार्य सुरु गर्न, कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माण गर्न, निर्माणाधीन धनगढीको प्रदेश रंगशाला र कभर्ड हल निर्माण सम्पन्न गर्न, मदन भण्डारी राजमार्गको कैलाली र डडेल्धुरा खण्ड निर्माण गर्न, मोहना–अत्तरिया सडक खण्डको बाँकी कामलाई सम्पन्न गर्न, बैतडी–पाटन नयाँ सहर आयोजनाको पूर्वाधार निर्माण गर्न पनि बजेट विनियोजन गरेको अर्थमन्त्री महतले बताए ।
संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई १४ अर्ब ४२ करोड १९ लाख र र यहाँका ८८ वटा पालिकालाई ३४ अर्ब ४३ करोड ८३ लाख रुपैयाँ गरी जम्मा ४८ अर्ब ८६ करोड २ लाख रुपैयाँ आउँदो आर्थिक वर्षमा वित्तीय हस्तान्तरण गर्ने भएको छ ।
धनगढीका निजी क्षेत्रले बजेट सकारात्मक रहे पनि कार्यान्वयन पक्ष पहिलेको जस्तै फितलो हुनेमा आशंका गरेका छन् ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सुक्खा बन्दरगाह, महाकाली करिडोरलगायतका पूर्वाधारका लागि बजेट विनियोजन भए पनि कार्यान्वयन नहुनाले आर्थिक विकास हुन नसकेको बताए । उनले विनियोजन भएको बजेट कार्यान्वयन भएमा विकासले फड्को मार्न सक्ने बताए । उपप्राध्यापक डा. रोजन्द्रवीर चन्दले नयाँ योजना ल्याउनुभन्दा निर्माणाधीन योजनालाई सम्पन्न गर्नतर्फ लाग्नु सकारात्मक रहेको बताए । उनले विनियोजित बजेट तदारुकताका साथ कार्यान्वयन गरिए सुदूरपश्चिमको विकास सम्भव हुने बताए ।