सामुदायिक विद्यालयको शिक्षा सुधारमा जोड,हिमामा पढाइ मेला

सरकारले सामुदायिक विद्यालय सुधारका लागि वर्षेनी करोडाैं लगानी गरे पनि अपेक्षित उपलब्धि हुन सकेको छैन । सरकारी लगानी उपलब्धीविहीन बन्दै छ । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेको छ ।
शैक्षिक, प्रशासनिक तथा भौतिक अवस्था कमजोर भएकै कारण सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनै मुस्किल छ । निजी विद्यालयप्रतिको बढ्दो आर्कषणले सरकारी लगानीका सामुदायिक विद्यालय रित्तिँदैछन् । स्थानीय तहमा सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन ठोस कार्यक्रम पनि छैनन् ।
यद्यपि सरकारी विद्यालयमा विद्यार्थी टिकाउन छात्रवृत्तिदेखि दिवा खाजा कार्यक्रम सरकारले सञ्चालन गरेको छ भने संघीयतापछि अपेक्षित रूपमा शैक्षिक क्षेत्रको उन्नयका लागि नीति र लगानी भएको पाइँदैन भने सामुदायिक विद्यालयको व्यवस्थापनसँगै शिक्षा पनि कमजोर हुने, व्यावहारिक शिक्षाकोे अभाव र मूलतः शिक्षक, अभिभावक र विद्यार्थी नै जिम्मेवार तथा कर्तव्यनिष्ट नहुँदा सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्किँदै गएको छ ।
जसका कारण स्थानीयमा निजी विद्यालयप्रतिको आकर्षण बढ्दै गएको छ । जसका कारण सामुदायिक विद्यालयमा लगानी बढे पनि अपेक्षित रूपमा उपलब्धि हासिल हुन सकेको छैन । तर जुम्लाको हिमा गाउँपालिकाले निजी विद्यालयप्रतिको आकर्षण घटाउन, सामुदायिक विद्यालयको शिक्षालाई व्यावहारिक एवम् जीवनोपयोगी बनाउन, विद्यालय सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउने उद्देश्यले जिल्लाकै पहिलो बृहत् पालिकास्तरीय पढाइ मेलाको आयोजना गरेको छ ।
गणतन्त्र दिवसका अवसरमा हिमा–२ कोइरेलीस्थित हिमा आधारभूत विद्यालयमा आयोजित दुईदिने पढाइ मेलामा पालिकाका सात वडाका सात विद्यालययले विभिन्न शैक्षिक स्टल प्रदर्शन गरेका छन् । जसमा स्थानीय स्रोत साधनको प्रयोग गरी निर्माण गरेका कृषि तथा उद्यमशीलता सामग्री, विषयगत पठन सामग्री निर्माण, विद्यार्थीले आफै निर्माण गरेका सृजनात्मक सामग्री, कथा कविता, निबन्ध, गीत, त्यस्तै, चित्रकला, हस्तकलासम्बन्धी सामग्री, विद्यालयस्तरमा बनेका शैक्षिक सामग्रीलगायत विभिन्न स्टल प्रदर्शनी गरेको हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक महेश रावलले बताए ।
उनका अनुसार प्रेरक भनाइ, देउडा गीत, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ, नृत्य र कम्प्युटर टाइपिङ प्रतियोगितासमेत गराइएको छ भने बाह्य ज्ञान प्राप्तिका लागि मेमोरी गेमसमेत खेलाइएको थियो । जेठ १४ र १५ गतेसम्म सञ्चालित पढाइ मेलामा शिक्षक, विद्यार्थी अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो । इच्छा शक्ति भएको खण्डमा सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारमा कुनै कठिनाइ नहुने सन्देश हिमाले पढाइ मेला आयोजना गरेर दिएको छ ।
सामुदायिक विद्यालय सुधारमा हिमाको जोड
जुम्लाको हिमा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक, प्रशासनिक र भौतिक संचरनाको विकासमा सुरुवातदेखि नै जोड दिँदै आएको छ । अध्यक्ष लक्ष्मण शाहीको नेतृत्व पाएसँगै हिमाले सामुदायिक विद्यालयमा डिजिटल हाजिरीदेखि फ्रिवाईफाई जडान गर्ने, सरकारी विद्यालयमा बालबालिकाको पहुँच वृद्धि गर्ने, व्यावहारिक शिक्षामा जोड दिँदै आएको हो ।