ठूला लगानी कर्तालाई करको दायरामा ल्याउन खोज्दा ममाथि नै जोखिम भयोः अर्थमन्त्री «

ठूला लगानी कर्तालाई करको दायरामा ल्याउन खोज्दा ममाथि नै जोखिम भयोः अर्थमन्त्री

फाइल तस्बिर ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीबजारलाई तल, माथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले पुँजीबजारमा ठूलो लगानी गरेर आम्दानीको स्रोत बनाउनेहरुलाई इमान्दार भएर करको दायरामा ल्याउन खोज्दा आफूलाई नै जोखिम महशुस गरेको बताए ।

उनले पुँजी बजारमा ठूलो लगानीकर्ताहरुको समूहले बजारलाई तल झारेर तुरुन्तै शेयर किनेर बजार माथि लैजाने गरेको दाबी गरे । अर्थमन्त्री महतले सरकारले यस्तो प्रणालीको अन्त्य गर्न खोजेको बताए । उनले सरकारले बजेटमार्फत शेयर बजारमा बढी आय गर्नेहरुलाई करको दायरामा ल्याउँदा स्वार्थ समूहहरुले अर्थमन्त्रीले शेयर बजारलाई समाप्त पार्न खोज्यो, ६० लाख लगानीकर्ता समाप्त हुने भए भन्ने जस्ता दुष्प्रचार गरिरहेको बताए । उनले शेयर बजारमा बढी कमाउनेहरुले कर नतिर्ने चलखेल गरेको बताए ।

उनले शेयर बजारलाई नै पेशा बनाएर नाफा कमाएपछि कर तिर्नुपर्ने दाबी गरे । उनले सरकारले पुँजी बजारमा कुनै स्वार्थ नराखेको भन्दै बजारलाई व्यवसाय बनाएकाले कर तिर्नुपर्छ भन्ने प्रणालीको विकास गर्न खोजिएको बताए । उनले पुँजीबजारका विषयमा अनावश्यक हल्ला फैलाउन उचित नभएको बताए । उनले बजेटले साना लगानीकर्तालाई संरक्षण गरेको भन्दै साना लगानीकर्ताहरुले नबुझ्दा बजारमा चलखेल गर्नेले अन्योल सृजना गरेको दाबी गरे ।

उनले अहिले पुँजीबजारमा सानो लगानी गरेर ५ देखि ६ लाख कमाउनेहरुले राज्यलाई कर तिरेको तर धेरै आम्दानी गर्नेहरुले करको दायरामा नआएको बताए । अर्थमन्त्री महतले राजनीतिक पँहुच भएकाहरुको सधैँ राज्यले कुरा सुनिदिनुपर्ने तर सामान्य जनताको कुरा सरकारले नसुन्नुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले सरकारले नेपाली पुँजीबजारमा नियमित कारोबार गर्ने डाटा संकलन गर्न लागेको बताए ।

उनले सरकारले बजेटमार्फत गरेको पुँजी लगानीकर्ताको लागि लगाएको करको दायरा पुँजीबजारमा लगानी गरेर केही फाइदा होला भनेर लगानी गर्नेहरुको लागि लागू नहुने स्पष्ट पारे । उनले शेयरमा लगानी गर्ने सबैलाई आयकरको दायरामा आउने भनेर बजेटले नभनेको बताए । उनले ९९.५ अर्थात ९९.९ प्रतिशत शेयरमा लगानी गर्नेहरु सरकारले गरेको व्यवस्थामा नपर्ने बताए । उनले सम्पूर्ण पुँजीबजारमा लगानी गर्ने आयकरको विषयमा आत्तिनुपर्ने कुनै कारण नभएको बताए ।

अर्थमन्त्री महतले मिडियाले बजेटका राम्रा कार्यक्रम ढाकेर सांसद विकास कोषको प्रचार गरेको गुनासो गरे । उनले सरकारले अर्थतन्त्र सुधार गर्न ल्याएका अन्य धेरै व्यवस्थालाई आझेलमा पर्ने गरी सांसद विकास कोषलाई हाइलाइट गरिएको बताए । उनले आर्थिक वर्ष २०८०/८१ को बजेटले आमुल परिवर्तन गर्न नसके पनि आर्थिक अवस्था सुधार गर्ने बताए । उनले बजेटले संकटपूर्ण आर्थिक अवस्था सुधारमा ठूलो काम गर्ने बताए ।

उनले सांसद विकास कोषको बजेट सांसदले सिधै खर्च गर्न नसक्ने भन्दै यसमा सांसदको भूमिका सिफारिस गर्ने मात्र हुने बताए । उनले सांसद विकास कोषको विषयमा चाहिने भन्दा बढी प्रचार गरिएको बताए । अर्थमन्त्री महतले सरकारले १६५ निर्वाचन क्षेत्रमा दिने ५ करोड रुपैया पनि पुँजीगत खर्च नै भएको बताए । उनले सांसद विकास कोषको रकम सांसदहरुले आफूखुशी बाँड्ने स्कोप नभएको बताए । उनले सांसदहरुमार्फत खर्च हुँदा पनि रकम दुरुपयोग हुन्छ भन्ने कुरामा आफू सहमत नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्