लमजुङका स्थानीय तहलाई १२ करोड कम बजेट «

लमजुङका स्थानीय तहलाई १२ करोड कम बजेट

लमजुङका स्थानीय तहले आगामी आर्थिक वर्षमा १२ करोडभन्दा बढी रुपैयाँ कम पाउने भएका छन् । सरकारले विनियोजन गरेको आगामी आर्थिक वर्षको बजेटमा जिल्लाका लागि १२ करोड रुपैयाँ कम विनियोजन गरेको हो ।

सोमबार सार्वजनिक भएको बजेटअनुसार आर्थिक वर्ष २०८०÷०८१ का लागि लमजुङलाई तीन अर्ब पाँच करोड २६ लाख रुपैयाँ विनियोजन भएको हो । चालु आर्थिक वर्ष ०७९÷०८० का लागि लमजुङका आठ स्थानीय तहलाई तीन अर्ब १७ करोड ४३ लाख विनियोजन भएको थियो । आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटअनुसार जिल्लाका आठ स्थानीय तहमध्ये सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले सबैभन्दा धेरै ४७ करोड ६ लाख बजेट पाउने भएको छ ।

बेसीसहरले चालु आर्थिक वर्षमा ४८ करोड १५ लाख बजेट पाएको थियो । जिल्लाको सुन्दरबजार नगरपालिकाले ४६ करोड ३० लाख पाउने भएको छ । सुन्दरबजारले चालु आर्थिक वर्षमा ४३ करोड ५० लाख प्राप्त गरेको थियो । यस्तै मध्यनेपाल नगरपालिकाले ४४ करोड ३९ लाख रुपैयाँ पाउने भएको छ । चालु आर्थिक वर्षमा मध्यनेपाल नगरपालिकाले ४६ करोड ४५ लाख बजेट पाएको थियो । जिल्लाको राईनास नगरपालिले भने ४२ करोड ६१ लाख रुपैयाँ पाउने भएको छ ।

चालु आर्थिक वर्षमा राईनासले ४७ करोड ५० लाख रुपैयाँ पाएको थियो । जिल्लाको गाउँपालिका मध्ये पनि सबैभन्दा धेरै दोर्दी गाउँपालिकाले ३९ करोड ४२ लाख रुपैयाँ पाउने भएको छ । दोर्दीले चालु आर्थिक वर्षका लागि ४३ करोड ६९ लाख रुपैया बजेट पाएको थियो । यसैगरी मस्र्याङदी गाउँपालिकाले ३४ करोड ५५ लाख पाउने भएको छ । मस्र्याङदी गाउँपालिकाले चालु आर्थिक वर्षमा ३७ करोड ३२ लाख रुपैयाँ पाएको थियो ।

जिल्लाको विकटमध्येको दूधपोखरी गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि २६ करोड ५७ लाख रुपैयाँ पाउने भएको छ । चालु आर्थिक वर्षमा दूधपोखरी गाउँपालिकाले २५ करोड ५३ लाख रुपैयाँ विनियोजन भएको थियो । आगामी आर्थिक वर्षका लागि जिल्लामा सबैभन्दा थोरै बजेट क्होलासोँथार गाउँपालिकाले पाउने भएको छ । क्होलासाँेथारका लागि २४ करोड ३६ लाख रुपैयाँ विनियोजन भएको हो ।

सो गाउँपालिकामा चालु आर्थिक वर्षमा भने २५ करोड २९ लाख रुपैयाँ बजेट पाएको थियो । चारवटा नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा नगरपालिकाका लागि मात्रै एक अर्ब ८० करोड ३६ लाख रुपैयाँ विनियोजन भएको छ भने गाउँपालिकाका लागि एक अर्ब २४ करोड ९० लाख रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्