भीमसेनका बासिन्दाको सामूहिक दुर्घटना बिमा

गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाबासीको सामूहिक दुर्घटना बिमा गरेको छ । गाउँपालिका र राष्ट्रिय बिमा कम्पनीबीच पालिकाबासीको सामूहिक दुर्घटना बिमासम्बन्धी सम्झौता गरिएको हो ।
सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा र राष्ट्रिय बिमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार पालिकाका १६ हजार ९८६ जनाको सामूहिक दुर्घटना बिमा भएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । पालिका र बिमा कम्पनीबीच भएको सम्झौताअनुसार प्रतिब्यक्ति ५० हजार रुपैयाँ दुर्घटना बिमा गरिएको हो ।
बिमा सोमबारबाट नै लागु भएको छ । “अब पालिकाबासी नेपालभर जुनसुकै ठाउँमा दुर्घटनामा ज्यान गुमाए पनि ५० हजार रुपैयाँ दाबी भुक्तानी हुनेछ,” अध्यक्ष बन्जराले भने, “विपद् तथा दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई सहायताका लागि यो रकम उपलब्ध गराइनेछ ।” दाबी भुक्तानीका लागि वडाको सिफारिस र निवेदन पालिकामा बुझाउनुपर्नेछ । पालिकाले रकम भुक्तानीका लागि राष्ट्रिय बिमा कम्पनीमा परिपत्र गर्नेछ ।
दुर्घटनामा घाइते भएमा बिमा पोलिसिअनुसार उपचार रकम पनि भुक्तानी दाबी गर्न सकिने अध्यक्ष बन्जराले बताए । यो बिमाको अवधि एक वर्षको रहे पनि यसलाई निरन्तरता दिने उनले जानकारी दिए । “हाल एक वर्षका लागि सम्झौता भएको हो,” उनले भने, “हरेक वर्ष नवीकरण गर्दै जान्छौ । यो कार्यक्रमले निरन्तरता पाउँछ ।” भीमसेन थापा गाउँपालिकालाई पूर्ण सुरक्षित पालिका बनाउने लक्ष्यका साथ पालिकाबासीको सामूहिक दुर्घटना बिमा गरेको उनले बताए ।
पालिकाले यसका लागि प्रतिब्यक्ति ७२ रुपैयाँका दरले कुल १६ लाख रुपैयाँ कम्पनीलाई भुक्तानी दिने गाउँपालिकाले जनाएको छ । कम्पनीले प्रतिब्यक्ति ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनेछ । गाउँपालिकाले पालिकाका बासिन्दालाई आफ्नो घरको पनि बिमा गर्न आह्वान गरेको छ । “सम्भावित विपद्बाट हुने क्षतिको क्षतिपूर्तिका लागि भौतिक संरचनाको पनि बिमा गर्न जरुरी रहेको अध्यक्ष बन्जराले बताए ।
“विपद्को जोखिम पनि त्यत्तिकै छ, कुुन बेला के हुन्छ थाहा हुँदैन त्यसैले हामीले पालिकाबासीलाई घरको बिमा गर्न भनेका छौं,” उनले भने, “आर्थिक रूपमा सक्षम घरपरिवारले आफै घरको बिमा गर्नुहुन्छ । नसक्ने परिवारको घरको बिमा पालिकाले गरिदिन्छ । पालिकाभित्रका सरकारी तथा सामुदायिक भवनको पनि पालिकाले बिमा गर्छ ।”
नागरिकस्तरमा बिमाको महत्व बुझाउन र स्थानीयलाई सहजीकरणका लागि पालिकामा बिमाको हेल्प डेस्क राख्ने योजना रहेको उनले जानकारी दिए ।