विद्युत आउने-जाने गर्दा उद्योग चौपट

नेपाल विद्युत प्राधिकरणको अत्तरिया ग्रिडबाट वितरण हुने विद्युतमा निरन्तर विद्युत आउने जाने गरिरहने समस्या बढेको छ । एक घण्टामा कैयौं पटक विद्युत आपूर्ति बन्द हुने समस्याले गर्दा यहाँ रहेका उद्योगको उत्पादन चौपट हुन थालेको छ ।
घरघरी विद्युत आपूर्ति बन्द हुने र लो भोल्टेजले गर्दा उद्योगको उत्पादन घट्नुका साथै उत्पादन लागत वृद्धि भइरहेको छ । कैलाली उद्योग वाणिज्य संघका सदस्य तथा गोदावरी फ्लोर मिलका सञ्चालक मनोज अग्रवालले घरीघरी विद्युत आपूर्ति बन्द भइदिँदा उत्पादन घट्नुका साथै उत्पादन लागत वृद्धि भइरहेको बताए । उनले विद्युत आपूर्तिमा आएको समस्याले उद्योगको मोटरलगायतका इलोक्ट्रोनिक सामान बिग्रिने थालेको बताए ।
“एक पटक विद्युत आपूर्ति बन्द भइपछि हाइस्पिडमा चलिरहेको मेसिनलाई पुनः लयमा फर्किन एक घण्टा समय लाग्छ,” उनले भने, “यसले गर्दा हामीलाई एकातिर विद्युतको बिल बढी आउँछ । अर्कोतिर लेबर समयमा काम नसकिँदा लेबर चार्ज पनि बढ्छ । हाम्रो प्रोडक्टको उत्पादन लागत बढिरहेको छ ।” विद्युत आपूर्तिले गर्दा उद्योगहरूको उत्पादन घटिरहेको ग्रिल सटर व्यवसायी संघका अध्यक्ष शिवकुमार फुलाराले बताए ।
उनले विद्युत झ्याप्प आउने झ्याप्प जाने समस्याले गर्दा उद्योगीलाई घाटा भइरहेको बताए । उनले विद्युत आपूर्तिका कारण उद्योगीलाई गरी खान समस्या परेको बताए । उनले ग्रिल उद्योगहरूले विद्युत आपूर्तिका कारण समयमा ग्राहकलाई सामान दिन नसक्ने अवस्था आएको बताए । अनियमित विद्युत आपूर्ति र लो भोल्टेजका कारण डोमेस्टिक प्रयोगकर्तालाई समेत समस्या निम्त्याएको छ । घरीघरी विद्युत आउने जाने गर्नाले पंखा, फ्रिज, टिभि, मोटर, बल्ब बिग्रिने समस्या बढेको छ ।
लो भोल्टेजले गर्दा पंखा र मोटरसमेत नचल्ने गर्दाले गर्मीमा जनजीवन कष्टकर भएको छ । उद्योगी अग्रवालले डोमेस्टिकमा समेत विद्युत आपूर्तिले निकै समस्या पारिरहेको बताए । विद्युत आपूर्ति घरीघरी बन्द भइदिने र लो भोल्टेज गर्दा यहाँका नागरिकलाई गर्मीबाट बच्न गाह्रो भएको छ । पश्चिमको तराईमा हाल ४० डिग्रीसेल्सियस भन्दा बढी गर्मी छ । पछिल्लो तीन÷चार सातादेखि विद्युत आपूर्तिमा निकै समस्या आएको छ । कैलाली जिल्लामा १४ हजार ६८१ वटा उद्योग छन् । तीमध्ये करिब १० हजार उद्योग उत्पादनमूलक छन् ।
ती उद्योगलाई नेपाल विद्युत प्राधिकरणको अत्तरिया ग्रिडअन्तर्गत धनगढी, लम्की, टीकापुर वितरण केन्द्रबाट विद्युत आपूर्ति हुने गरेको छ । धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले गर्मीको समयमा हरेक ठाउँमा यही समस्या भइरहेको बताए । उनले गर्मीले गर्दा एकसाथ धेरै विद्युत उपकरण चल्दा लोड धान्न नसकेर फिडर अफ हुने गरेको बताए । उनले लोभोल्टेजको समस्या समेत यही कारणले आउने गरेको बताए ।
उनले विभिन्न ठाउँमा गर्मी र हावाहुरीले गर्दा विद्युत प्रशारणमा समस्या आउँदा भोल्टेज नपुग्ने गरेको बताए । उनले धनगढीमा विद्युत क्यापासिटर नभएको कारणले गर्दा भोल्टेज वृद्धि हुन नसकिरहेको बताए । उनले धनगढीमा १२५ केभि सबस्टेसन बनेपछि क्यापासिटर राखेर समस्या समाधान हुने बताए । उनले धनगढीमा सो सबस्टेसन बनाउन आयोजना कार्यालय स्थापना भई आईईए गरिरहेको बताए
टेण्डर भएको १८ देखि २४ महिनामा सबस्टेसन बन्ने बताउँदै उनले सबस्टेसनमा ६३ एमभीएको क्यापासिटर राखेपछि केही हदसम्म समस्या समाधान हुने दाबी गरे ।