नेसनल लाइफ इन्स्योरेन्सको न्युरोड शाखा उद्घाटन

बिमा समितिको अध्यक्ष चिरञ्जीवी चापागाईंले बुधबार नेसनल लाइफ इन्स्योरेन्सको काठमाडौं न्युरोड शाखा कार्यालयको उद्घाटन गरेका छन् । शाखा उद्घाटन कार्यक्रममा बोल्दै कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको व्यवसाय वृद्धि गर्ने क्रममा यस क्षेत्रका ग्राहकहरूलाई सेवा विस्तारमा सहयोग पुराउने प्रयोजनका लागि नयाँ शाखा खोलिएको बताइन् । श्रीमती सिंहले कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र चालू वर्षको पहिलो ६ महिनामा २४३ करोड बराबर प्रिमियम आर्जन भएको जानकारी गराउँंदै कम्पनीको जारी बीमालेख संख्या ८ लाख नाघेको र बिमितहरूका लागि ६१–८० को उच्चतम बोनस दर कायम गर्न सफल रही नेपालको जीवन बिमा बजारमा कम्पनीको सराहनीय योगदान रहेको बताइन् ।
सो शाखा उद्घाटन कार्यक्रममा बिमा समितिको अध्यक्ष चापागाईंले समग्रमा हेर्दा कम्पनीको लगानी र जीवन बिमा कोषको स्थिति राम्रो रहेको र कम्पनीको प्रस्तावित ६० प्रतिशत हकप्रद सेयर जारी भएपछि ०७५ साल असार मसान्तभित्र चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने विश्वास प्रकट गरे । उनले यस क्षेत्रमा बिमालेख व्यतित हुने समस्या (ल्याप्स रेसियो) बारे सुधार गर्नुपर्ने स्थिति रहेको र यसको लागि अभिकर्ता र कर्मचारीलाई राम्रोसँग तालिम दिन आवश्यक रहेको पनि बताए ।