हरियो चुरापोते र मेहेन्दीमा झुम्मिए युवती «

हरियो चुरापोते र मेहेन्दीमा झुम्मिए युवती

उदयपुर – साउन महिना सुरु हुनेबित्तिकै सदरमुकाम गाईघाट, तथा कटारी, बेल्टार, जलजलेलगायतका व्यापारिक बजारमा हरियो र पहेलो चुरा तथा मेहेन्दीको बिक्री बढेको छ । साउन महिनामा महिलाले हरियो तथा पहेँलो चुरा, पोते र मेहेन्दी लगाउने गरेका बजार माग बढेको हो ।
हिन्दू धर्म अनुसार विवाहित महिलाले साउन महिनामा नारीमा हरिया चुरा र हातमा मेहेन्दी लगाएमा आफ्नो श्रीमानको आयु लामो हुने र अविवाहितहरुले राम्रो श्रीमान पाउने विश्वास गरिन्छ । यही परम्परागत मान्यताकै कारण यो महिनामा हरिया चुरा र मेहेन्दी लगाउने महिलाको संख्यामा वृद्धि हुने गरेको हो ।
साउन महिनालाई कालो महिनाको रुपमा लिने र त्यसका लागि साउन महिनाभरि महादेवको ब्रत बस्ने प्रचलन पौराणीककाल देखि नै चलिआएको छ । महादेवलाई विशेषगरी हरियो, पहँेलो मनपर्ने भएकोले उनलाई खुसी पार्न पनि यस्ता सामग्री पहिरिनु परेको बूढापाका महिला बताउँछन् । “मनोकांक्षा पूरा होस् भनेर ब्रत बसेपछि भगवानलाई खुशी पार्न हरियो चुरा र मेहेन्दी लगाएकी हुँ,” त्रियुगा नगरपालिका ११ की संचिता ढकाल भन्छिन्, “विवाह भएदेखि नै हरेक वर्ष साउन महिनामा हरियो चुरा र पोते लगाउँदै आएकी छु ।”
सबैले हरियो चुरा लगाउन थालेपछि चुराको माग आकाशिएको छ । साउन महिना सुरु भए लगत्तै दिनमा ५ हजार रुपैयाँसम्मको चुरा र मेहेन्दी बिक्री हुने गरेको गाईघाटकी कस्मेटिक व्यापारी सरिता भगतले बताइन् । साउन महिनाको सुरुवातसँगै हातमा मेहेन्दी लगाउनेको संख्यामा समेत वृद्धि भएको छ । अधिकांश चुरा पसलेले चुरासँगै मेहेन्दी पनि लगाइदिने गरेका छन् । हातमा मेहेन्दी लगाइदिए बापत २५ देखि ५० रुपैयाँसम्म शुल्क लिने गरेको व्यापारी सुनिता गुप्ता बताउँछिन् ।
केही वर्षयता गाईघाटस्थित ढिम्की मन्दिरमा श्रावण महिनाको प्रत्येक सोमबार दर्शनार्थीको घुइँचो लाग्ने गरेकाले पनि बजारमा हरियो चुरा र पोतेको माग बढेको व्यापारीहरुको भनाई छ । बजारबाट एक किलोमिटर दुरीमा रहेको ढिम्कीस्थित शिव मन्दिर र पुरानो गाईघाटमा रहेको जोगी पोखरी मन्दिरमा साउने ब्रत बस्ने श्रद्धालु, भक्तजन र दर्शनार्थीको भीड लाग्ने गरेको पूजा व्यवस्थापन समितिले जनाएको छ ।
विगतका वर्षहरुमा झैं यस वर्ष पनि उदयपुरका हजारौं महिलाहरुले नजिकैको शिवालय मन्दिरमा गएर जल चढाएका छन् । जल चढाउनको लागि ठूलो संख्यामा महिलाहरु शिव मन्दिरमा आएको शिवालय मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
पहिले पहिले हरियो चुरा र पोतेमा सजिएर हिन्दू विवाहित महिलाहरुमात्र ब्रत बस्ने गरेकोमा केही वर्षयता अविवाहित महिलासमेत ब्रत बस्न थालेको स्थानीय संगीता अधिकारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्