घन्किन छोड्यो मागल «

घन्किन छोड्यो मागल

जुम्ला – केही वर्ष अघिसम्म वैशाख, जेठ, असार र मंसिरमा कर्णालीका गाउँबस्ती मागलमय हुन्थे । छोरा जन्मिँदा, विवाह, व्रतबन्ध तथा ठूलो रोपाइँमा पञ्चेबाजा र मागलको ताल गुन्जिन्थ्यो । वर्षमा चार पटक कर्णालीका मठमन्दिरमा हुने पूजामा पनि मागल अनिवार्य हुन्थ्यो ।
कर्णालीमा राजनीतिक दलका नेता पुग्दा पनि मागल र पञ्चेबाजाबाटै स्वागत सत्कार गरिन्थ्यो । विभिन्न अवसरमा गाइने मागलको महत्व तथा विशेषता थुप्रै छन् । तर पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण हुन सकेको छैन ।
कर्णालीमा मागलका मंगल धुन सुन्न हिजोआज निकै मुस्किल भइसकेको छ । मागल गाउने महिलालाई मुग्लेरी भनिन्छ । तातोपानी–२ की मुग्लेरी लालकली दमाई भन्छिन्, “गाउँदा बढीमा चार नत्र दुईजना हुनुपर्छ । सबैभन्दा जान्नेले मागल उठान गरेपछि वरिपरिकाले स्वर ताल मिलाउनुपर्छ । मागल भन्नुपहिले कलश सिंगार्नुपर्छ । पञ्चेबाजा बजाएर सकिए पनि मागल र सनहीको धुन केहीबेरसम्म हुन्छ ।” उनका अनुसार मागल गाउँदा हातमा चाँदीका बाला, ठेटुकाको गामन, धोतिचोलो, पोते, पाते मुन्ना लगायत पहिरन लगाइन्छ । मागलसँगै यसका पहिरन पनि हराउन थालेका छन् ।
कर्णालीका विभिन्न परम्परा संरक्षणमा नयाँ पुस्ताले चासो नदिएकै कारण लोपोन्मुख बनेको संस्कृतविद् रमानन्द आचार्यले बताए । उनले भने, “समय फेरिए पनि कर्णालीका चालचलन र रितिरिवाज फेरिनु हुँदैन ।” उनका अनुसार कर्णालीमा मनाइने पर्वहरूमध्ये ८० प्रतिशत पर्व मागल र पञ्चेबाजासँग आधारित छन् । पञ्चेबाजा बजाउने समुदायको इच्छाशक्ति घटेसँगै मागल संस्कृति लोप हुँदै गएको आचार्यको भनाइ छ ।
अपेक्षित रुपमा पुरानो अवस्था अनुसार विभिन्न परम्पराको संरक्षण हुन नसके पनि स्थानीय तहहरूले सरंक्षणमा चासो भने देखाएकै छन् । जुम्लाका हरेक गाउँमा मागल भन्ने महिलाको समूह छ । उनीहरूलाई सम्मान, प्रोत्साहन गर्ने हो भने अरु सिक्न चासो दिन सक्छन् ।
सिंजा गाउँपालिकाले कुनै पनि कार्यक्रममा मागल ल्याएर आउने महिलालाई पाँच हजार पुस्कार दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । सिंजामा बन्दै गरेको खस संग्रहालय हेर्न आउने पर्यटकहरूलाई मागल र पञ्चेबाजाबाटै स्वागत गर्ने लक्ष्य राखिएको छ ।
तातोपानी गाउँपालिकाले पञ्चेबाजा संरक्षण कार्यविधि २०७५ नै जारी गरेको छ । अब मागल संरक्षणका लागि पनि नीतिगत व्यवस्था गरी संरक्षणमा जुट्ने तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानले बताए ।
जुम्लाका आठै स्थानीय तहका जनप्रतिनिधिले यहाँका सम्पूर्ण परम्परागत संस्कृति जोगाउन संयुक्त कोष खडा गर्नुपर्ने जिससका प्रमुख लालबहादुर सार्कीले बताए । सिप हस्तान्तरणका कार्यक्रमलाई प्राथमिकता दिन उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्