बजेट अभावले थलिँदै कर्णालीकै जेठो शिक्षालय

कर्णालीकै जेठो कर्णाली प्राविधिक शिक्षालय सञ्चालन भएको करिब साढे चार दशक बित्यो । जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालय प्राविधिक शिक्षा प्रदानको जननी पनि हो । २०३७ सालमा स्थापना भएको शिक्षालयले करिब १० हजार बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको छ भने शिक्षालयमा पढेकामध्ये झण्डै साढे चार हजार विद्यार्थी सरकारी जागिरे भइसकेका छन् । अहिले पनि शिक्षालयप्रति विद्यार्थीको आकर्षण घटेको छैन ।
विभिन्न विषयको प्राविधिक शिक्षा आर्जन गर्न मुलुकभरका विद्यार्थी जुम्लामै आउने गरेका छन् । तर प्राविधिक शिक्षा आर्जनका दृष्टिले शिक्षालय मुलुककै केन्द्रविन्दु मानिए पनि बजेट अभावले पछिल्लो समय थलिँदै गएको छ । चार दशक पहिलेकै जीर्ण संरचनाका भरमा सञ्चालन भइरहेको शिक्षालयको विकासका लागि संघीयतापछि पनि तीनै तहका सरकारबाट अपेक्षित लगानी नभएपछि थलिएको हो । शिक्षालय जीर्ण हुँदै जाँदा पनि तीन तहका सरकार उदासीन छन् ।
जुम्लामा आउने संघ र प्रदेशका मन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरू शिक्षालय नपुगी फर्किंदैनन् । शैक्षिक पर्यटकीय गन्तव्यका रूपमा विकसित शिक्षालयको वृद्धि विकासका लागि पहल गर्ने बाचा नदिएका पनि होइनन् । तर बजेट व्यवस्थापनमा अनुदार हुँदा शिक्षालयको दुरावस्था भएको शिक्षालय प्रमुख टेकेन्द्र थापा बताउँछन् । रकम अभावका कारण बनेका संरचना जीर्ण बनिसकेका छन् । उचित तारबार र शिक्षालयको व्यवस्थापकीय पक्ष निकै कमजोर बन्दै गएको छ ।
कुनै बेला ढुंगाको सिलोट छापिएका यहाँका भवनमा अहिले जस्तापाता प्रयोग गरिएको छ । कर्णाली प्राविधिक शिक्षालय जुम्लाको शैक्षिक पर्यटन गन्तव्य पनि हो । उनले भने, “कर्णाली प्राविधिक शिक्षालय विद्यार्थीदेखि पर्यटकको रोजाइमा पर्छ । संघ प्रदेशबाट कर्णालीकै जेठो शिक्षालयमा बजेट व्यवस्थापन नहुँदा संरचना जीर्ण हुँदैछन् । जिल्लामा आउने सबै सांसददेखि मुख्यमन्त्री र मन्त्रीलाई समस्या राखे पनि सम्बोधन भएनन् । नत स्थानीयको चासो छ । नत संघ प्रदेश नीतिमै प्राथमिकता दिन्छ ।”
चार दशक पुराना संरचना भत्कने चिन्ता
चार दशक पहिला निर्माण भएका संरचनाकै भरमा सञ्चालन भएको शिक्षालय जीर्ण अवस्थामा पुगेको छ । बजेट अभावले जीर्ण भवनकमे मर्मत हुन सकेको छैन । शिक्षालयमा रहेका ५८ वटा भवनमध्ये ६ वटा पुराना भवनको मात्रै मर्मत गरिएको छ । अधिकांश भवनका छाना नै चुहिने अवस्थामा छन् । प्रमुख थापाले भने, “जीर्ण भवनभित्र त्रासकैबीच बस्नुपर्ने बाध्यतामा विद्यार्थी छन् । कुनै बेला भत्किएको खण्डमा २५० जना विद्यार्थीको जीवन तलमाथि हुनसक्छ । संरचना बनाउनतर्फ सरकारको ध्यान छैन । तर प्राविधिक शिक्षामा लगानी बढाउने नीति कागजमै सीमित छ ।”
६५२ रोपनी क्षेत्रफलभित्र फैलिएको शिक्षालयमा ६७२ विद्यार्थी अध्ययनरत छन् । डिप्लोमामा ६ वटा विषय र टीएसएलसीमा दुईवटा विषयको अध्ययन भइरहेको छ । डिप्लोमामा निर्माण, सिभिल इन्जिनियर, कृषि, फरेस्ट्री विशेष छात्रवृत्ति विषय अध्ययन भइरहेको छ । प्रि–जेटिए तथा प्रि–सिभिल इन्जिनियरसहितको विषय अध्ययनसमेत भइरहेको छ । ४३ वर्षअघि बनेका भौतिक संरचना पुनर्निर्माण तथा मर्मत हुन नसक्दा छाना चुहिन्छन् । चुहिने छानामा विद्यार्थी शिक्षक बस्न, पढ्न बाध्य छन् । भवन भत्किएका छन् । तारबार नहुँदा शिक्षालय असुरक्षित छ ।
प्राविधिक शिक्षालयसँग सरोकार राख्ने निकाय, अभिभावक, स्थानीय र स्थानीय सरकार सबैसँग बसेर शिक्षालयको अवस्थामा सुधार ल्याउने प्रयास गर्दै आएको प्रमुख थापाले उल्लेख गरे । बजेट अभावले छटपटाई रहेको शिक्षालयलाई पुनर्जीवन दिन आगामी नीति तथा कार्यक्रममै प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने जुम्लाबासीको माग छ । भौतिक विकाससँगै गुणस्तर शिक्षामा सरकारको लगानी बढाउन जरुरी छ ।