असिनापानीले दुई करोड बढीको काँक्रोको बिउ नष्ट

पर्वत जिल्लाको फलेबास नगरपालिका–११ मा पर्ने सानो गाउँ पाङराङको कर्नासमा हरेक वर्ष दुई करोड बराबरको काँक्रोको बिउ उत्पादन हुँदै आएको थियो । तर यस वर्ष भने फल लाग्ने बेलामा आएको भिषण असिनापानीले पुरै नष्ट गरिदिएको छ ।
असिना पानीले फल लागेका काँक्रा पूर्णरूपमा नष्ट भएको स्थानीय नारायणस्थान बीउ उत्पादन समूहका अध्यक्ष माया पाठकले जानकारी दिइन् । उक्त गाउँमा गत वर्ष पनि असिनाकै कारण बीउ उत्पादन घटेको थियो । बीउ उत्पादनवाट वर्षेनी दुई करोड १० लाख रुपैयाँसम्म भित्र्याउँदै आएको यो गाउँमा यस वर्ष भने कत्ति पनि उत्पादन नभएको पाठकले जानकारी दिइन् । यहाँका कृषकले दुई वर्षअघि सात टन बीउ उत्पादन गरेका थिए ।
जसबाट दुई करोड १० लाख आम्दानी गरेका थिए भने अघिल्लो वर्ष एक करोड २३ लाख रुपैयाँ भित्र्याएका थिए । यो गाउँका ७२ घरधुरीको मुख्य पेशा नै काँक्रोको बीउ उत्पादन हो । हिउँदभरि गरेको दुःख क्षणभरमै सखाप बनाइदियो नारायणस्थान बीउ उत्पादन समूहका उपाध्यक्ष जमुना कुँवरले भनिन्, “मुख्य पेसा नै असिनाले खाइदिएपछि निकै समस्यामा परेका छौं ।” कुँवरले काँक्रोको बीउमा परेको क्षतिबारे स्थानीय सरकार र कृषि ज्ञान केन्द्रलाई जानकारी गराएको भए पनि राहतका लागि कुनै पहल नभएको गुनासो गरेका छन् ।
ठूलो आम्दानी हुने भए पनि स्थानीयले काँक्रो खेतीको बिमा गरेका छैनन् । समूहका अध्यक्ष पाठकले दुई वर्षअघि १६८ किलोग्राम काँक्राको बिउ उत्पादन गरेकोमा यस वर्ष असिनाका कारण सबै सखाप पारिदिएको गुनासो गरिन् । त्यो बेला प्रतिकिलो बिउको मूल्य तीन हजार रहँदा काँक्राको बिउबाट पाँच लाखभन्दा बढी कमाई भएको थियो । गत वर्ष थोरै क्षेत्रफलमा काँक्रा खेती गरेकाले ४० किलोभन्दा बिउ बनेन ।
बिउ र हरियो काँक्रा गरेर वार्षिक झन्डै चार लाख रुपैयाँ आम्दानी गरेकी पाठकले यस वर्ष क्राँक्राबाट एक रुपैयाँको पनि आम्दानी गर्न नसकेको बताइन् । पाङराङमा व्यावसायिक रूपमा काँक्राको बिउ उत्पादन गर्ने साना ठूला समूह निर्माण गरिएका छन् । स्थानीय नारायणस्थान बिउ उत्पादक सहकारी संस्थाले विगतका वर्षमा वार्षिक ७० क्विन्टलसम्म बिउ उत्पादन गर्दै आएको थियो । समूहमा आबद्ध ७२ जना कृषकलाई असिनाको क्षतिले चिन्तित बनाएको छ ।
कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार गत वर्ष पर्वतमा एक करोड २३ लाखको काँक्राको बिउ तयार भएकोमा यस पूरै असिनाले नष्ट गरिदिएको बताइन् । कृषकको क्षतिपूर्तिको पहल भइरहेको उनको भनाइ छ । यहाँका कृषकले काँक्रोको बिउ उत्पादनबाट घटीमा एक लाखदेखि बढीमा २० लाख रुपैयाँसम्म एउटा घरमा भित्रने गरेको छ । माघ महिनामा काँक्रो रोपेदेखि जेठमा बिउ निकाल्ने पाँच महिनामा एउटै परिवारको मुख्य आम्दानी गर्दै आएका थिए ।
कृषकले काठमाडौको कालीमाटीमा रहेका निमाकोल र हार्कजस्ता सहकारी संस्थामा बिउ बिक्री गर्दै आएका छन् । एक किलो बिउको तीन हजार रुपैयाँका दरमा कृषकले सहकारीलाई बिउ बिक्री गर्छन् । काँक्रोको बिउ उत्पादनमा मुलुककै अग्रणी गाउँ मानिने कर्नासमा उत्पादित बिउको गुणस्तर कायम राख्न सकेका कारण बजारको अभाव नभएको स्थानीय कृषक मानबहादुर भुसालको दाबी छ । नेपालमा सात टन भक्तपुर लोकल जातको काँक्रोको बिउको माग छ । मुलुकभरको मागमध्ये एउटै गाउँले पाँच टन उत्पादन गर्छ ।