भेरी करिडोरको १६ किमि कालोपत्रे अन्तिम चरणमा

भेरी करिडोरको जाजरकोटको पासागाडदेखि रिम्नासम्मको कालोपत्रे अन्तिम चरणमा पुगेको छ । १६ किलोमिटर पिचको काम असार मसान्तसम्म पूरा हुने यति बिल्डर्सका अध्यक्ष भीमराज केसीले जानकारी दिए ।
भ्याटसहित १९ करोड रुपैयाँमा निर्माण कार्य अन्तिम चरणमा पुगेको पासागाड–रिम्ना सडकको अर्को आर्थिक वर्षभित्र ५६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य छ । अर्को रिम्नादेखि तल्लुसम्मको ४० किलोमिटर सडकमा समेत काम जारी छ । सडकको वारिपारि ढल निकास, फराकिलो बनाउने र ठूला ठूला वालका काम जारी छ ।
आगामी आर्थिक वर्षभित्र ५६ किलोमिटर कालोपत्रे गरिसक्ने अध्यक्ष केसीले बताए । यस खण्डमा भ्याटसहित एक अर्ब आठ करोड रकम खर्च हुनेछ । यही सडकको बीचमा रहेका साना खोला तथा भेरी नदीमा पुल निर्माणको काम जारी छ । क्याराभान निर्माण प्रालिले लिएका ठूला पक्की पुलका काम भने अझै सुचारु भएको छैन । अन्य बेलिब्रिज निर्माणको काम जारी छ । भेरी करिडोर जाजरकोटदेखि डोल्पाको सदरमुकामसम्मको कुल लम्बाइ ११८ किलोमिटर रहेको छ भने भेरी करिडोरको पूरै लम्बाइ ३१० किलोमिटर छ ।
सडक डिभिजन चौरजहारीसँग रहेको यो सडकलाई एक महिनाअघि मात्र अलग बनाई भेरी करिडोर आयोजना बनाएर डोल्पाको सदरमुकाम दुनैमा कार्यालय राखेर काम भइरहेको छ । यस बीचमा रहेका पुलसमेत भेरी करिडोरकै मातहतमा आइसकेका छन् । खलंगादेखि रिम्नासम्मको सडक डिल्पिले निर्माण गरी केही मुआब्जासमेत लिएको भेटिएकाले क्षतिपूर्तिको विषयमा छलफल भइरहेको आयोजनाका दत्त लामाले जानकारी दिए ।
उनका अनुसार रकम बुझेको नाम र रकम लेखिएको तर कति कित्ताको बुझेको हो भन्ने नदेखिएकाले केही समस्या आएको छ । भेरी नगरपालिका–१ पिपे र रावतगाउँमा यो समस्या देखिएको उनले बताए । अर्को वर्ष जसरी पनि तल्लुसम्म काम सम्पन्न गर्ने लक्ष्यका साथ काम जारी राखिएको उनको भनाइ छ । तल्लुदेखि डोल्पाको दुनैसम्मको सडक मर्मतका लागि बजेट माग गरिएको भए पनि अहिलेसम्म स्वीकृत भएको छैन ।
त्यस्तै दुनैदेखि लासिक्यापसम्मको ट्याक ओपनको कामसमेत सुरु हुन सकेको छैन । यसको ठेक्का भने लागिसकेको छ । जाजरकोट खलंगादेखि डोल्पाको दुनैसम्म पक्की पुल निर्माणका लागि ठेक्का लागेको एक वर्ष भए पनि काम सुचारु हुन नसकेको लामाले बताए । “काम छिटो गर भनेको हो तर काम नगर्ने तरिकाले समस्या बनाएको छ,” उनले भने । त्रिदेशीय सडकको रूपमा रहेको भेरी करिडोरको सडकले यो क्षेत्रको महत्व राख्ने गर्दछ ।
मध्यपहाडी लोकमार्गले लुम्बिनी–रारा सडकलाई छुने गर्दछ । त्यस्तै जुम्ला डोल्पा हुँदै मुस्ताङ जोडने सडकको समेत बीचमा पर्दछ । चीन र भारतसँग सिधा जोडने सडकसमेत यही रहेको छ । नलगाडको झुर्मेखोला, नलगाड नदी, त्रात्रगाड, चौखास्थित ताँसुगाड, तल्लु भेरी पुलमा पक्की पुलका लागि ठेक्का भएको वर्ष दिन बिते पनि काम भएको छैन ।
भेरी करिडोरभित्र यातायात व्यवस्था कार्यालयको निगरानी
यातायात व्यवस्था कार्यालयले भेरी करिडोरमा चल्ने सवारीसाधनको रुट पास भए नभएको बारे निगरानी कडा बनाएको छ । कार्यालय प्रमुख आनन्द चपाईं आफै सडकमा पुगेर सवारी साधनको जाँच गर्न थालेका छन् ।
भेरी नगरपालिका–१ रिम्नामा जाँच गर्दा दुई दर्जन सवारीसाधनले रुट प्रमिट नलिई सवारीसाधन चलाएको पाइएको थियो । जाजरकोट सदरमुकामसम्मको अनुमति लिएर डोल्पासम्मका यातायातका साधन चलाउने गरेका पाइएको कार्यालय प्रमख चपाईंले बताए । जिल्ला प्रशासन कार्यालयको लापरबाहीका कारण यहाँ यातायात सेवामा विकृति फैलिएको सरोकारवाला बताउँछन् ।