आर्थिक मन्दीको असर राजस्व संकलनमा

आर्थिक मन्दीको असर राजस्व संकलनमा परेको छ । आर्थिक मन्दीको असरका कारण आन्तरिक राजस्व कार्यालय झापाले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन ।
आन्तरिक राजस्व कार्यालय झापाले चालु आर्थिक वर्षको १० महिनामा दुई अर्ब ८५ करोड ३५ लाख ५० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई अर्ब २६ करोड ४८ लाख ८० हजार राजस्व संकलन गरेको जनाएको छ । यसको असर आर्थिक मन्दी भएको कार्यालयले जनाएको छ । आन्तरिक राजस्व कार्यालय झापाले संकलन गरेको राजस्व रकममध्ये करिब एक करोड ५० लाख विगत वर्षमा पूर्वअनुमानित आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका करदाताबाट संकलन भएको जनाएको छ ।
आन्तरिक राजस्व कार्यालय झापाले आर्थिक वर्ष २०७९/०८० को साउनदेखि वैशाख मसान्तसम्ममा आयकरवापत एक अर्ब ३१ करोड ६८ लाख नौ हजार रकम संकलन गर्ने लक्ष्य लिएकोमा सोही अवधिमा एक अर्ब १२ करोड ९९ लाख ६ हजार रुपैयाँ संकलन गरेको जनाएको छ । त्यसैगरी, आन्तरिक राजस्व कार्यालय झापाले मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ७६ करोड १२ लाख ५५ हजार रुपैयाँ र अन्त्त शुल्कवापत ३७ करोड ३६ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
आर्थिक मन्दीको असर आन्तरिक राजस्व कार्यालयमा परेको आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले बताए । आर्थिक मन्दीको असरका कारण आन्तरिक राजस्व कार्यालय झापाले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको बताउँदै प्रमुख कर अधिकृत रिजालले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कतर्फ लक्ष्यअनुसार राजस्व संकलन नभएको जनाए ।
झापामा आन्तरिक राजस्व कार्यालयको मुख्य करको स्रोत भनेको उद्योगधन्दा, व्यक्तिगत फार्म र व्यापारी नै रहेकाले उद्योग धन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको प्रत्यक्ष प्रभाव राजस्व देखिएको उनको भनाइ छ ।
विश्वमा देखिएको आर्थिक मन्दी र नेपालको आर्थिक सुस्तताका कारण केही वस्तुको आयातमा आएको कमी र समग्र अन्तर्राष्ट्रिय व्यापारमा आएको संकुचन नै मुख्य कारण राजस्व असुली घटेको उनले बताए ।
आर्थिक क्रियाकलाप सुस्त हुनु नै राजस्व संकलनमा कमी आउनुको प्रमुख कारण रहेको उनको भनाइ छ । आर्थिक गतिविधि सुस्त हुँदा प्राप्त हुने रोजगारी तथा आयको स्तर पनि कमजोर हुने कारणले दैनिक उपभोग्य वस्तुको उपभोगमा कमी आउने र यसैको कारणले सरकारले अप्रत्यक्ष करबाट प्राप्त गर्ने राजस्वमा कमी आउनाले सरकारले सोचेभन्दा कम राजस्व संकलन हुने उनले बताए ।
विगतदेखि नै अर्थतन्त्रमा आएको समस्याको असर अहिले आएर राजस्व संकलनमा देखिएकाले समस्या समाधानका लागि गम्भीर भएर दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उनको भनाइ छ । आन्तरिक राजस्व कार्यालय झापामा ५४ हजारभन्दा बढी करदाता रहेको उनले बताए ।