गत वर्षभन्दा ४ अर्ब १९ करोड कम «

गत वर्षभन्दा ४ अर्ब १९ करोड कम

बाँकेमा चालु आर्थिक वर्षको वैशाखसम्म कुल २० अर्ब १६ करोड ६८ लाख ८९ हजार ५३५ रुपैयाँ राजस्व असुली भएको छ । जिल्लास्थित सरकारी भन्सार, आन्तरिक राजस्व, यातायात कार्यालयलगायतले उक्त राजस्व असुली गरेका हुन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म संघीय सरकारअन्तगर्तका कार्यालले १९ अर्ब ५० करोड राजस्व असुली गर्दा प्रदेश सरकारअन्तगर्तका कार्यालयले ६६ करोड ४३ लाख ५२ हजार असुली गरेका हुन् । यो राजस्व असुली गत वर्षको सोही अवधिको तुलनामा चार अर्ब १९ करोडले कम भएको कोलेनिका बाँकेका प्रमुख कोष नियन्त्रक खडानन्द अधिकारीले जानकारी दिए ।

“१० महिनामा संकलन भएको राजस्व हेर्दा गत वर्षभन्दा घटेको अवस्था छ,” उनले भने, “गत वर्षको सोही अवधिको भन्दा चार अर्ब १९ करोड ८६ लाख ११ हजारले कम राजस्व संकलन भएको छ ।” गत आर्थिक वर्ष २०७८/०७९ मा कुल २४ अर्ब ३६ करोड ५५ लाख रुपैयाँ राजस्व असुली भएको कोलेनिकाले जनाएको छ । जसमध्ये संघीय कार्यालयहरूले २३ अर्ब ५३ करोड नौ लाख र प्रदेशतर्फका कार्यालयले ८३ करोड ४५ लाख १३ हजार असुली गरेका थिए ।

बाँकेमा सबैभन्दा धेरै राजस्व असुली नेपालगन्ज भन्सार कार्यालयले गर्दै आइरहेको छ । चालु आर्थिक वर्षको १० महिनामा कार्यालयले संकलन गरेको राजस्व हेर्दा यस वर्ष न्यूनमात्र असुली गरेको छ । वैशाखसम्म नेपालगन्ज भन्सार कार्यालयले २४ अर्ब १९ करोड ३८ लाख ६५ हजार असुली गर्ने लक्ष्य लिएकोमा १४ अर्ब ८८ करोड ७९ लाख २८ हजारमात्र असुली गरेको छ । यो वैशाखसम्मको लक्ष्यको ६१.५४ प्रतिशतमात्रै हो ।

कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ८२ करोड ९३ लाख ५ हजार अर्थात् लक्ष्यको करिब ९१ प्रतिशत असुली गरेको थियो । भन्सारपछि बढी राजस्व संकलन गर्दै आएको आन्तरिक राजस्व कार्यालय नेपालगन्जले समेत यस वर्ष लक्ष्य भेटाउन सकेको छैन । कार्यालयले वैशाखसम्म ६ अर्ब २१ करोड ४५ लाख २४ हजार असुली गर्ने लक्ष्य राखेकोमा चार अर्ब ६४ करोड ७७ लाख ७६ हजारमात्रै असुली गरेको छ ।

यो राजस्व लक्ष्यको ६० प्रतिशत मात्रै हो । कार्यालयलाई चालु आर्थिक वर्ष २०७९/०८० का लागि कुल सात अर्ब ९६ करोड १७ लाख दुई हजार राजस्व संकलनको लक्ष्य तोकिएकोमा वैशाख मसान्तसम्म ७४.७९ प्रतिशतमात्रै राजस्व संकलन भएको हो । प्रदेश सरकारअन्तगर्तका कार्यालयले समेत यस वर्ष लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेका छैनन् ।

आर्थिक क्षेत्रमा देखिएको मन्दीको प्रभाव व्यापारिक केन्द्रमा पर्दा राजस्व असुलीमा गिरावट आएको भन्दै कोलेनिका प्रमुख अधिकारीले यस वर्ष जिल्लाका कार्यालयले लक्ष्यअनुसार राजस्व असुली गर्न मुस्किल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्