युनाइटेड र अजोड इन्स्योरेन्सको एकीकृत कारोबार सुरू

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको एकीकृत कारोबार आइतबारदेखि सुरू भएको छ । यी दुई कम्पनीले मर्जरपछि ‘युनाइटेड अजोड इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरू गरेका हुन् ।
दुइटै कम्पनीको गत वैशाख २५ गते सम्पन्न छुट्टाछुट्टै साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका हुन् । दुवै कम्पनीले मर्जरमा जान नेपाल बीमा प्राधिकरणबाट जेठ २ गते र कम्पनी रजिष्टारको कार्यालयबाट जेठ ८ गते स्वीकृति पाएका हुन् । दुवै कम्पनी १००ः८२.५ को अनुपातमा मर्जरमा गएका छन् ।
यसर्थ अजोड इन्स्योरेन्सको १० कित्ता सेयर हुने सेयरधनीले मर्जरपछि बन्ने कम्पनीको ८.२५ कित्ता सेयर पाउनेछन् भने युनाइटेड इन्स्योरेन्सको सेयरमा कुनै परिवर्तन हुने छैन । हाल युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब सात करोड रुपैयाँ रहेको छ भने अजोड इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
मर्जरपछि बन्ने कम्पनीको रजिष्ट्रर्ड कार्यालय हाल अजोड इन्स्योरेन्सको प्रधान कार्यालय रहेको स्थान सुन्धारामा रहने कम्पनीले बताएको छ । मर्जर प्रयोजनको लागि दुवै कम्पनीको सेयर कारोबार आइतबारदेखि रोक्का गरेको पनि जनाइएको छ ।