राष्ट्रिय गौरवका आयोजनाको बजेट खर्च न्यून «

राष्ट्रिय गौरवका आयोजनाको बजेट खर्च न्यून

बाँके-आर्थिक वर्ष २०७५-७६ मा बाँकेमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको बजेट खर्च न्यून भएको पाइएको छ । सरकारको प्राथमिकतामा परेका सिक्टा सिँचाइ आयोजना र हुलाकी राजमार्ग आयोजनाको ठूलो बजेट खर्च नभएको हो ।
यी आयोजनाका लागि सरकारले हरेक वर्ष पर्याप्त बजेट विनियोजन गर्दै आएको छ । तर, बर्सेनि विनियोजित बजेटको ठूलो हिस्सा खर्च हुन नसकेर फिर्ता हुने गरेको छ । सिक्टा सिँचाइ आयोजनाले आर्थिक वर्ष २०७५-७६ मा प्राप्त गरेको करिव २५ प्रतिशत बजेट खर्च भएको छैन । सरकारले उक्त आयोजनाका लागि चालू र पूँजीगत गरी कुल १ अर्ब ९१ करोड ५६ लाख ८६ हजार ३ सय ८ रुपैयाँ विनियोजन गरेकोमा ४४ करोड १० लाख रुपैयाँ खर्च गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक प्रकाश पौडेलले जानकारी दिए । सो अवधिमा विनियोजित बजेटबाट १ अर्ब ४७ करोड ४६ लाख ८३ हजार ७ सय ६१ रुपैयाँ मात्र खर्च गरेको उनको भनाइ छ ।
आयोजनालाई पूँजीगततर्फ १ अर्ब ८८ करोड ५९ लाख विनियोजन गरिएकोमा १ अर्ब ४४ करोड ९५ लाख ३२ हजार ७ सय २५ रुपैयाँ मात्र खर्च भएको पाइएको छ । यस्तै चालूतर्फ २ करोड ९७ लाख ८६ हजार ३ सय ८ रुपैयाँ विनियोजन गरिएकोमा २ करोड ५१ लाख ५१ हजार ३६ रुपैयाँ खर्च भएको छ ।
आयोजनाले असारमा मात्रै ४५ करोड ४२ लाख २५ हजार १ सय ६२ रुपैयाँ पुँजीगत र २२ लाख २० हजार ५ सय २५ रुपैयाँ चालू बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
त्यस्तै जिल्लामा सञ्चालित राष्ट्रिय गौरवको हुलाकी राजमार्ग आयोजनाले पनि प्राप्त गरेको बजेट खर्च गर्न सकेको छैन । नेपालगन्जदेखि कटकुइयाँसम्मको हुलाकी सडक निर्माणका लागि सरकारले पूँजीगत र चालूतर्फ गरी कुल ९६ करोड ७६ लाख २ हजार विनियोजन गरेकोमा आयोजनाले ७३ करोड ९ हजार ७ सय ७९ रुपैयाँ मात्र खर्च गरेको पाइएको छ ।
आयोजनाले २३ करोड ७५ लाख ९२ हजार २ सय २१ रुपैयाँ खर्च गर्न सकेन । उक्त आयोजनाले विनियोजित बजेटको झन्डै २४ प्रतिशत बजेट खर्च गर्न नसकेको हो । हुलाकी राजमार्ग आयोजनाका लागि सरकारले पुँजीगततर्फ ९६ करोड १ लाख ५८ हजार विनियोजन गरेकोमा ७२ करोड ४५ लाख ५४ हजार ५ सय ११ रुपैयाँ खर्च भयो । असार महिनामा मात्रै ८ करोड १७ लाख ८२ हजार १ सय ८ रुपैयाँ खर्च गरेको पाइएको छ । यसैगरी चालूतर्फ ७४ लाख ४४ हजार विनियोजन गरेकोमा ५४ लाख ५५ हजार २ सय ६८ खर्च भएको छ । आयोजनाले चालूतर्फको बजेट असार महिनामा ६ लाख ६२ हजार ७ सय ८९ रुपैयाँ खर्च गरेको छ ।
सरकारको प्राथमिकता परेका यी आयोजनाले बर्सेनि विनियोजित बजेट खर्च गर्न नसक्दा विकास निर्माणका काम प्रभावित हुने गरेका छन् । आयोजनाले पर्याप्त बजेट पाउँदा पनि पुरा खर्च गर्न नसक्दा सरकारी नीति र कर्मचारीको कार्यशैलीमाथी प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्