पर्यटकबाट ४६ अर्ब ७६ करोड विदेशी मुद्रा आर्जन «

पर्यटकबाट ४६ अर्ब ७६ करोड विदेशी मुद्रा आर्जन

सन् २०२२ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट पौने ४७ अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जन भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार ०७९ फागुनसम्म नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट संकलन भएको विदेशी मुद्रा १९० प्रतिशतले बढेर ४६ अर्ब ७६ करोड रुपैयाँ पुगेको हो । २०७८/७९ मा अनुसार नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट १३ अर्ब ५० करोड विदेशी मुद्रा आर्जन भएको थियो ।

आर्थिक सर्वेक्षण २०७९/८० अनुुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ अवधिमा केही कमी आएको छ । यस अवधिमा पर्यटकको औसत बसाइ १३.१ दिन रहेको र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर रहेको छ । सन् २०२० र सन् २०२१ मा पर्यटकको बसाइ अवधि औसत क्रमशः १५.१ दिन र १५.५ दिन रहेको थियो । सन् २०२१ मा प्रतिपर्यटकको औसत बसाइ १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ डलर रहेको थियो । कोभिड महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको छ ।

स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा २०२० र सन् २०२१ मा पर्यटक आगमन संख्या क्रमशः २ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई ६ लाख १४ हजार ८ सय ६९ पुगेको छ । सन् २०२२ मा नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये सबैभन्दा बढी ६४.७ प्रतिशत पर्यटकले बिदा/मनोरञ्जन/यात्राको लागि भ्रमण गरेका थिए ।

यसैगरी, १२.९ प्रतिशत तीर्थयात्रा, १०.० प्रतिशत पर्वतारोहण/ साहसिक यात्रा र १२.४ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमण गरेको आर्थिक सर्वेक्षण २०७९/८० मा उल्लेख छ । नेपालका पर्यटकीय गन्तव्यमध्ये लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहँदै आएको छ । कोभिडको असर कम हुँदै गएसँगै लुम्बिनी भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको छ । सन् २०२२ मा लुम्बिनी भ्रमण गर्नेमध्ये नेपाली ६ लाख ४९ हजार, भारतीय २ लाख ३१ हजार र अन्य मुलुकका २४ हजार गरी ९ लाख ४ हजार रहेका छन् ।

सन् २०२२ मा पनि बाह्य तथा आन्तरिक पर्यटकमध्ये अधिकांश पर्यटकको भ्रमण गन्तव्य गौतमबुद्धको जन्मस्थल लुम्बिनी हुने गरेको थियो । सन् २०२२ मा आएका पर्यटकमध्ये भारतबाट ३४.१ प्रतिशत, अमेरिकाबाट १२.५ प्रतिशत, बेलायतबाट ७.३ प्रतिशत, अष्ट्रेलियाबाट ४.४ प्रतिशत, बंगलादेशबाट ४.१ प्रतिशत र अन्य मुलुकबाट ३७.६ प्रतिशत रहेका छन् । यस अवधिमा नेपाल आएका पर्यटकमध्ये भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया र बंगलादेशबाट आएका पर्यटक ६२.४ प्रतिशत रहेका छन् ।

कोभिड महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरूत्थान गर्न पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर समग्र पर्यटन विकासका लागि पर्यटन दशकको रूपमा सन् २०२३–२०३२ को कार्ययोजना कार्यान्वयनमा रहेको छ । नेपालको ‘राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२०२५’ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाख भन्दा बढी पर्यटकहरूको भ्रमण गराउने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्