अनुमति नलिई यातायात सञ्चालन

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले भेरी करिडोर तथा अन्य सडकमा रुट प्रमिट नलिई यातायात सेवा सञ्चालन गरेको पाइएपछि निगरानी बढाएको छ । रुकुम पश्चिम, जाजरकोट, सल्यान र डोल्पालाई केन्द्रमा राखी चौरजहारीमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि तीव्र रूपमा सेवा दिन थालिएको छ ।
भेरी करिडोरको जाजरकोट–डोल्पा खण्ड, जाजरकोट खलंगा हुँदै कुशे, नलगाड हुँदै बारेकोट, सल्लीबजार कैनकाँडा हुँदै चौरजहारी, मुसिकोट राडीज्यूला सडक, मध्यपहाडी लोकमार्गलगायत आधा दर्जन सडकमा गुडने यातायातका साधनमा निगरानी जारी छ । ठाउँठाउँमा कार्यालयको टिम पुगेर सडकसम्बन्धी सचेतना जगाउने कामसमेत जारी रहेको कार्यालय प्रमुख आनन्द चपाईंले बताए ।
कार्यालय स्थापना भएपछि चौरजहारीबाट सबै खालका सेवा सुचारु हुन लागेको उनले बताए । कार्यालय प्रमुख चपाईंका अनुसार भेरी करिडोरभित्र रहेको जाजरकोट खलंगाबाट तल्लुसम्म चल्ने ६५ किलोमिटरमा चल्ने सवारीसाधनले अनुमति नलिई चलाएको छ । तल्लुबाट डोल्पासम्म चल्ने सवारी साधनमा समेत मनपरि भएको उनले बताए । सवारी साधनमा सिण्डीकेट लगाएर यात्रुलाई हैरान बनाएको स्थानीयले बताएका छन् ।
कार्यालय प्रमुख चपाईं डोल्पा जाँदा आफ्नो गाडीलाई समेत निगरानी गरिएको बताए । कसको अनुमतिमा डोल्पा आएको भन्दै युवाले धम्की दिएका थिए । अहिले पछिल्लो समय चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर यातायातमा देखिएको मनपरिलाई रोक्ने अभियानमा आफू लागेको कार्यालय प्रमुख चपाईंले बताए । रुट प्रमिट नै नलिएर अधिकांश ठाउँमा सवारीसाधन चलिरहेको उनले बताए ।
योभन्दा अगाडि सुर्खेत गएर सवारीसाधन दर्ता, नामसारी, लाइसेन्स नवीकरणका काम हुने गरेका थिए । अब चौरजहारीबाटै सबै काम हुने गरेको छ । भेरी करिडोर र पुष्पलाल मध्यपहाडी लोकमार्गको बीचमा रहेको ठाउँ चौरजहारीमा कार्यालय सञ्चालनमा आएपछि सेवा लिनेको ठूलो भीड छ ।
अब टाइल दिने कामसमेत छिटै सञ्चालन हुने बताइएको छ । नयाँ सहर निर्माण कार्य जारी रहेको चौरजहारीबाट यातायात व्यवस्था कार्यालय स्थापनासँगै सबैलाई सेवा लिन सहज भएको छ । धेरै खर्च गरेर सुर्खेत जानुपर्ने अवस्थाको अन्त्य भएको छ । यातायात सेवामा जथाभावी गर्ने विरुद्ध निगरानी बढेको छ ।