दुई दशकदेखि स्वामित्वको पर्खाइ «

दुई दशकदेखि स्वामित्वको पर्खाइ

दमक/कमल–५ स्थित नयाँ बस्तीमा २२ वर्ष अघिदेखि बसोबास गर्दै आएका बाढी विस्थापित परिवारले अझै जग्गाको स्वामित्व पाउन सकेका छैनन् ।

सरकारले अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व दिलाइदिने भन्दै झापामा आयोग गठन गरेर काम गरिरहेको भए पनि बाढी विस्थापित ती परिवारको बसोबास रहेको क्षेत्र सशस्त्र प्रहरीको स्वामित्वमा रहेको जग्गा भएकाले आयोगले नापजाँचको प्रकृया अघि बढाउन कठिनाइ भइरहेको बताइएको छ ।

यद्यपि स्थानीय सरकारका प्रमुख कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले सशस्त्र प्रहरीका उच्च अधिकारीसँग सो विषयमा हालसालै भएको कुराकानी प्रगति उन्मुख भएको भन्दै अल्पकालीन नभएर प्रकृयासम्मत दीर्घकालीन समाधान खोज्ने प्रयत्न भइरहेको बताएका छन् ।

राष्ट्रिय भूमि आयोगले कमल गाउँपालिकामा श्रेस्ता कायम नभएको जग्गाको तथ्यांक यकिनका लागि नापजाँचको प्रकृया चलिरहेको गाउँपालिका अध्यक्ष राईले बताए । त्यस्तो प्रकृया अहिले वडा नं १ मा पूरा भएको र क्रमशः अन्य वडामा पनि यसलाई निरन्तरता दिइने उनले बताए ।

भू–माफिया सक्रिय

स्थानीय सरकारले समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोग, सशस्त्र प्रहरीलगायत अधिकार प्राप्त संघीय सरकारको उच्च तहमा नीतिगत समाधानको पहल गरिरहँदा सो क्षेत्रमा भू–माफियाको गिरोहले भने सेटिङमा जग्गाको धनीपुर्जा दिलाइदिने भन्दै रकम उठाउने प्रयास गरिरहेको खुलेको छ ।

युवा पुस्तालाई बाबुबाजेको पालादेखि समाधान नभएको तिमीहरूको समस्या माथि पु¥याएर समाधान गर्छौं, धनीपुर्जा हात लगाइदिन्छौं भन्दै त्यस्तो समूहले गोप्यरूपमा काम गरिदिने र त्यसका लागि गोप्यरूपमै भन्दै पैसा माग्ने गरेको नयाँ बस्तीमा अव्यवस्थित बसोबासी प्रतिनिधिले बताएका छन् ।

“हामीले त्यति राम्ररी चिनेका छैनौं तर गाउँमा कुरा आयो धनीपुर्जाको समस्या भएका साथीहरू के कसो रहेछ भनेर बुझ्न् आउनु भएको छ,” तत्कालीन लखनपुर गाविसका पूर्वअध्यक्ष भोजकुमार घिमिरेले भने । उनले लखनपुरका कतिपय गाउँमा त्यस्तो समूह आए पनि त्यो समूहको कुनै आधिकारिकता नभएकाले धेरै बताउन नसकिने पनि बताए ।

त्यहाँका बाढी पीडितलाई युवा पुस्तालाई बाबुबाजेको पालादेखि समाधान नभएको तिमीहरूको समस्या माथि पुर्‍याएर समाधान गर्छौं, धनीपूर्जा हात लगाइदिन्छौं भन्दै त्यस्तो समूहले माथिल्लो निकायबाट गोप्यरूपमा काम गराउन खर्च हुने भएकाले पैसा दिनुपर्ने बताउँदै एउटा समूहले पैसा उठाउन खोजेको गुनासो पालिकामा पुगेको छ ।

पालिकामा त्यस्तो गुनासो पुगेपछि सार्वजनिक सूचना नै प्रकाशन गरेर त्यस किसिमको ठगी धन्दा चलाउने गिरोहबाट सजग रहन गाउँपालिकाबासीलाई आग्रह गरेको छ । कसैले काम गरिदिने बहानामा ठगी गर्न खोजेमा पालिका कार्यालय वा सम्बन्धित निकायमा उजुरीसमेत गर्न भनिएको छ । कमल–५ को नयाँबस्ती मात्र नभएर कमल–५ वडाका ८८८ घरपरिवार अव्यवस्थित तथा भूमिहीन अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्