बाढीले क्षतिग्रस्त सडक मर्मत सुरु «

बाढीले क्षतिग्रस्त सडक मर्मत सुरु

उदयपुर-दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेपछि उदयपुरको रौतामाई गाउँपालिकाले बाढीपहिरोले क्षतिग्रस्त पारेको मुर्कुची भुट्टार सडकको मर्मत कार्य सुरु गरेको छ ।
गाउँपालिकाको प्रायः वडामा दैनिक उपभोग्य वस्तु अभावका साथै मूल्यवृद्धि समेत हुनथालेपछि मूल्यवृद्धि नियन्त्रण र उपभोग्य वस्तुको अभावपूर्ति गर्न सडक मर्मत सुरु गरिएको हो । अब पानी परेर सडक नबिग्रिए बढीमा एक सातामा सडक मर्मत सकेर उपभोग्य वस्तु आपूर्ति गर्ने गाउँपालिकाले जनाएको छ ।
“सडक मर्मत गरेर आपूर्ति सहज गर्नेभन्दा अन्य कुनै उपाय छैन,” प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले भने, “त्यसैले मुर्कुची बजारदेखि गाउँपालिकाको केन्द्र भुट्टारसम्म जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेर मर्मतको काम सुरु गरेका छौं ।” बाढीपहिरो रोकिएर जनजीवन सामान्यतर्फ फर्किए पनि दैनिक उपभोग्य वस्तुको अभाव भने दिनप्रतिदिन बढ्दै गएको उनले बताए । अधिकृत राईका अनुसार गाउँपालिकाको मुख्य व्यापारिक कारोबार हुने मुर्कुचीबजार नजिकैका छौडिया र पुवारेखोला नियन्त्रणका लागि तटबन्ध गर्ने कामसमेत सुरु गरिएको छ । गत साता आएको बाढीका कारण बाँध फुटेपछि यी दुवै खोला मुर्कुचीबजार क्षेत्रमा पसेका थिए । जसका कारण एक बालकको मृत्यु भएको थियो ।
“गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ,” गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले भने, “सामान ढुवानीका लागि अन्य कुनै विकल्प नभएपछि तत्काल सडक सञ्चालनमा ल्याउनु पर्ने बाध्यता छ ।” त्यसैले जतिसक्दो चाँडो सडक मर्मत गर्ने र यातायात र अन्य सवारी साधन सञ्चालन गर्ने तयारी गरेको खड्काको भनाइ छ ।
तत्कालका लागि मुर्कुची भुट्टार सडकमात्रै सञ्चालनमा आए पनि उपभोग्य वस्तुको अभाव कम हुने अधिकृत राई बताउँछन् । “गाउँपालिकाको केन्द्र जोड्ने अन्य सडक पनि छन्,” उनले भने, “तर, तिनको तत्काल मर्मत हुनसक्ने अवस्था छैन ।” त्यसैले पनि आगामी गाउँपरिषद् बैठकबाट खर्च अनुमोदन गर्ने गरी सडक मर्मत गर्न थालिएको उनको भनाइ छ ।
गत साताको बाढी पहिरोमा परी रौतामाई गाउँपालिकामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृतकका परिवारलाई तत्काल २५ हजार रुपैयाँका दरले नगद सहयोग गरे पनि अन्य राहतका विषयमा भने गाउँपालिकाले निर्णय गर्ने राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्