ढुंगामा आकृति खोपेर आकर्षक बनाइँदै ऐनापहरा

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराका ढुंगामा आकृति खोपर आकर्षकस्थल बनाउने काम भइरहेको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुंगामा आकृतिक खोप्ने कामलाई अगाडी बढाएको हो ।
पृथ्वीराजमार्ग नजिकै रहेको ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिका यसको प्रबद्र्धनमा जुटेको हो । गत माघ महिनादेखि यहाँका ढुंगामा विभिन्न आकृति खोप्ने काम चलिरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । चुमानले भने, “यसै रहेका ढुंगालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडी बढाइएको छ ।”
हालसम्म गणेश र आमाले बच्चा लिएको आकृति खोप्ने काम सकिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा पार्क निर्माणको कामलाई अगाडी बढाइएको चुमानको भनाइ छ । गाउँपालिकाले स्थानीय कालीगढलाई यस कामका लागि प्रयोग गरेको छ । ऐनापहरामा पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।
“ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौ,” चुमानले भने, “सोही बमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम सुरु भएको छ ।” गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जंगल । खोंचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ ।
थकित मुद्रामा यहाँ पुग्नेहरु आनन्दित भएर फर्किन्छन् । पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐना पहरा झरना आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रुपमा पनि ऐना पहरा झरना विकास भइरहेको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।
काठमाडौ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारी साधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन् ।
गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडी सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ । तनहुँकै अग्लो महाभारत पर्वत श्रृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ ।
ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपीआर अनुसार दस करोड बजेट आवश्यक पर्छ । डिपीआर अनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।