पाँच तारेमा स्तरोन्नति हुँदै आगन्तुक «

पाँच तारेमा स्तरोन्नति हुँदै आगन्तुक

आधुनिक र मौलिक स्वरुपमा निर्माण भएको आगन्तुक रिसोर्ट पाँच तारे हुने भएको छ । लगानी र सेवासुविधा थपेर आगन्तुक स्तरोन्नति हुन लागेको हो । सन् २०१९ को डिसेम्बर ३१ बाट सञ्चालनमा आएको चार तारे रिसोर्टको मान्यता प्राप्त आगन्तुकले हाल ५२ कोठाबाट सेवा प्रवाह गरिरहेको छ । काभ्रेको बनेपा नगरपालिका–६ गोसाइँ थान भ्युटावर मार्गमा रहेको रिसोर्ट काठमाडौंबाट ३२ किलोमिटरको दूरीमा अवस्थित छ ।

सफा, सुन्दर, शान्त वातावरणमा दक्ष जनशक्तिद्वारा सेवा दिइरहेको आगन्तुकले क्यासिनोसहित थप १६ वटा कोठा र स्पा विस्तार गरेर पाँच तारे रिसोर्टको प्रमाणपत्र लिने योजना रहेको रिसोर्टका आवासीय प्रबन्धक विमल पौडेलले बताए । उनले भने, “७५ रोपनी क्षेत्रफलमा निर्माण भएको रिसोर्टबाट १८० डिग्रीमा हिमश्रृंखला, पलाञ्चोक भगवती, पाँचखाल उपत्यकासहित पूर्वको दृष्यावलोकन गर्न सकिन्छ । भदौ–असोजमा रिसोर्टबाट विश्वको सर्वोच्च शिखरसमेत देख्न सकिने दाबी गरिएको छ । प्रबन्धक पौडेलले भने, “रिसोर्टमा चाँडै लगानी थप गरेर क्यासिनो तथा स्पाका अतिरिक्त अन्य गतिविधि विस्तार गर्ने योजना छ ।”

बाहिरी स्वरुप माटोको ढिस्को आकृति र रङ दिएर युरोप र इजिप्टको शैलीमा रिसोर्ट निर्माण भएको पौडेलको भनाइ छ । रिसोर्टमा आधुनिक र मौलिक शैलीमा कलात्मक सामानसहित लक्जरियस कोठा छन् । रिसोर्टका कुल ५२ वटा रुममध्ये १६ वटा निर्माण भइरहेको र थप ९ पाइपलाइनमा रहेका छन् । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्ति गरेर निर्माण भएको रिसोर्ट कोभिड–१९को चपेटामा परेको थियो । विस्तारै पर्यटकीय गतिविधि बढेसँगै पूर्वाधार विस्तारको कामले गति लिएको रिसोर्टकी अध्यक्ष सरस्वती गौतम ज्ञवालीले बताइन् ।

उनले भनिन्, “आन्तरिक तथा बाह्य पर्यटकलाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिने गरी मौलिक र आधुनिक स्वरुपमा निर्माण भएको रिसोर्टको २४ घण्टा ‘रुम सर्भिस’ को सुविधासहित हेलिप्याड समेतको पूर्वाधार विस्तार भएको छ ।” पछिल्लो समय कर्पोरेट सभा–सम्मेलनको लागि आन्तरिक तथा बाह्य पर्यटकको छनोटमा परिरहेको रिसोर्टमा डिलक्स, प्रिमियम, सुइट, अपार्टमेन्ट रुम रहेका छन् । चार–चारवटा स्विट र सेमी–स्विट, आठ वटा डिलक्स र ३६ प्रिमियर रुम रहेका छन् ।

रिसोर्टबाट हाइकिङ पोइन्ट, भ्यू टावर, गोसाइथान, चन्डेश्वरी मन्दिर, पनौती गाउँ निकट रहेकाले भ्रमण गर्न सकिन्छ । जमिनसहित २ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको रिसोर्टमा अन्य थप पूर्वाधार विस्तारको लागि करिब २ अर्ब थप गर्ने योजना हरेको सञ्चालक कृष्णप्रसाद ज्ञवालीले बताए । सेमी–स्विट रुम लाई राजस्थानी शैलीमा निर्माण गरिएको छ भने प्रत्येक रुममा प्राइभेट बाल्कोनी छन् । रुमबाट सूर्योदय, हिमाल र रमणीय दृश्यावलोकन गर्न सकिन्छ ।

रिसोर्टमा दुईवटा रेस्टुरेन्ट, कफी सप, बार, फिटनेस सेन्टर, स्विमिङ पुल, पार्किङ, विद्युतीय चार्जिङ स्टेशन लगायतका सुविधा छन् । दुईवटा रेस्टुरेन्टमार्फत मल्टीकुजिन परिकार दिएको रिसोर्टले क्षमता विस्तारपछि एउटा छुट्टै विशेष रेस्टुरेन्ट तयार गर्ने योजना रहेको जनाएको छ । बालबालिकाका लागि छुट्टै ‘किडजोन’ को समेत सुविधा रहेको रिसोर्टमा आगामी दिनमा पिकनिक तथा अन्य मनोरन्जनका सेवा सुविधा थप गर्दै जाने योजना रहेको छ । रैथाने नेपाली खानाका परिकारसहित नेवारी, अरेबियन, चाइनिज, थाइ, स्पेनिस इन्डियन परिकारको स्वाद रिसोर्टले प्रवाह गरिहेको छ ।

माग अनुसार मेनुमा परिकार थप गरेर समेत स्वाद दिने गरिएको छ । ७० जनालाई रोजगारी प्रदान गरिहेको रिसोर्टले आगामी दिनमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ)मा जाने योजना बनाएको छ । रिसोर्टको सञ्चालकमा सरस्वती ज्ञवाली, कृष्ण प्रसाद ज्ञवाली र शिला नेपाल रहेका छन् । काठमाडौंको कोलाहलबाट मुक्त हुनको लागि रिसोर्टमा ९९ प्रतिशत आन्तरिक पर्यटक पुग्ने गरेका छन् । रिसोर्टमा १२ हजार ५ सयदेखि २० हजार रुपैयाँसम्मका रुम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्