स्वास्थ्य संस्थामा पहुँच पु-याउन दुर्गमका गर्भवतीलाई फिल्टर

जुम्ला-तिला–८ पुरु गाउँकी वास्मती नेपाली शुद्ध खानेपानी पिउन फिल्टर पाउँदा निकै खुसी भइन् । उनी अहिले ८ महिनाकी गर्भवती छन् । दुर्गम बस्तीमा सधै दूषित पानी खाईरहेकी उनी गर्भअवस्थामा फिल्टर पाउँदा खुसी नहुने कुरै भएन । नियमित स्वास्थ्य संस्थामा चार पटक चेक गराएवापत उनले फिल्टर पाएकी हुन् ।
फिल्टर पाउँदा वास्मती नेपालीजस्तै दुर्गमका सयांै गर्भवती महिला खुसी भएका छन् । बच्चा गर्भमा रहेदेखि जन्मिएको दुई वर्षसम्मको अवधि सुनौला हजार दिनभित्रका गर्भवतीलाई स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन पनि फिल्टर दिइएको हो । पेटभित्रको बच्चा र आमाको स्वास्थ्यमा कुनै असर नपरोस्, शुद्ध पानी खाएर बच्चा जन्मिउन भन्ने सोच तिला स्वास्थ्य शाखाको हो ।
दूषित पानीको प्रयोगबाट गत वर्ष हिमाका ५० जना स्थानीय एकैसाथ थला परेका थिए । त्यसमा बालबालिका गर्भवती तथा सुत्केरी महिला बढी प्रभावभित थिए । विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशत रोग दूषित पानीका कारण लाग्ने पनि जनाएको छ । दुर्गम बस्तीमा एक घर एक धारा त पुगेका छन् ।
तर पानी आउने मुहान देखि ट्यांकी हुदै धारासम्म आउदा फोहोर साना धुलोका कण मिसिँदै आएको हुन्छ । अहिले वर्षात्को समयमा सबै पानीका स्रोत दूषित छन् । बिना शुद्धीकरणको पानी दुर्गमका गर्भवती तथा आम नागरिक पिउन बाध्य छन् । दुर्गम तिला–९ राँसा, ढिपु, मालापानीका सयौ स्थानीय दैनिक दूषित पानी पिउँछन् ।
३६ गर्भवतीलाई फिल्टर
पछिल्लो समय विभिन्न कारणले स्वास्थ्य संस्थामा चेकजाँच गर्ने, सुत्केरी हुने महिलाको संख्या घटेको छ । तिलाको स्वास्थ्य शाखाले सुनौला हजार दिनभित्रका गर्भवतीलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउन अन्य महिलालाई स्वास्थ्य चौकीतर्फ आकर्षण गराउन फिल्टर वितरण गरिएको तिलाका स्वास्थ्य शाखा सह (संयोजक) गणेशबहादुर शाहीले बताए । उनका अनुसार तिलाका–१–९ सम्मका ३६ गर्भवती तथा सुत्केरीलाई फिल्टर वितरण गरिएको छ । जसमा प्रत्यक वडाका ४ जना गर्भवती महिलाका दरले ३६ जनालाई दिइएको छ । शाहीले भने, “हाम्रो उद्देश्य भनेको शुद्ध खानेपानी खुवाउने, नियमित चेकजाँच गर्न महिला स्वास्थ्य संस्था आउन उत्प्रेरित गर्ने हो ।
वर्षात्को समय छ, खोलानालाको पानी पूरै दूषित छ । गर्भअवस्थामा दूषित पानी पिउँदा जुका पर्ने, झाडापखला लाग्ने, टाइफाइड हुने भएकाले पूर्वतयारी स्वरुप फिल्टर दिने नीति ल्याएको सहसंयोजक शाहीको भनाइ छ । जुम्लाका आठ स्थानीय तहमै पहिलो नमुना कामका रूपमा फिल्टर दिइएको हो ।
सुत्केरी भत्तादेखि वर्थिङ सेन्टरको सेवा नियिमत गराउन पनि उनले घोडे, रासा, जुम्लाकोट, कुडारी र रारालिही स्वास्थ्य चौकी इन्चार्जलाई सुझाव दिए । प्रतिफिल्टर एक हजार ८ सयका दरले झण्डै ६० हजारको लागतमा ३६ जनालाई फिल्टर दिइएको छ । सुनौला हजार दिनभित्रका २६ जना गर्भवती तथा सुत्केरीलाई दिइएको छ । प्रत्येक दुई वडाका ८ जनाका दरले बच्चा गर्भमा रहेदेखि बच्चा २ वर्ष हुन्जेलसम्मका सुनौला हजारभित्रका महिलालाई फिल्टर जग वितरण गरिएको हो । नियमित चारपटक चेकजाँच गरेका गर्भवती आमालाई फिल्टर वितरण गरिएको हो । तिला गापा स्वास्थ्य शाखाको आयोजनामा वितरण गरिएको हो । ९४, ६, ८ र ९० गरी चार पटक चेक गराएका महिलालाई दिएर प्रयोग विधिका बारेमा समेत सिकाइएको छ । वडानंं.६, ७ पोख्री र घोडेका ८ जना रासा, खोप्री, मालापानी, ढिपु ९ का ४ जना जुम्लाकोटका वडा नं. ८ का ४ जना, कुडारी स्वास्थ्य चौकीमा ३, ४, ५ का १२ जना र रारालिहका ८ जना गरी ३६ जनाले पहिलो चरणमा शुद्धपानी पिउन फिल्टर पाएका छन् । अहिलेको वर्षात्मा दैनिक दूषित पानी खाएकी तिला–३ कि गोरीकला तिरुवाले स्थानीय सरकार आएपछि निकै राहत भएको बताइन् ।
तिलाकी उपाध्यक्ष विष्णुमाया बुढाले मातृ शिशु मृत्युदर शून्यमा झार्ने अभियानका साथ अघि बढेको बताइन् । २–३ दिनको बाटो हिडेर रासा मालापानी पुगेर फिल्टर वितरण गरी उनले गर्भअवस्थामा स्वास्थ्य सुरक्षाका लागि स्वयम् गर्भवती सजक हुनुपर्ने बताइन् । आव ०७६÷७७ मा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै गर्भवती महिलासँग उपाध्यक्ष कार्यक्रमलाई प्राथमिकता दिइएको उनले सुनाइन् ।
सुनौला हजार दिनभित्रको अवधिमा बच्चाको ८० प्रतिशत वृद्धि विकास हुन्छ । उनले थपिन्, शुद्ध स्वच्छ पानी, पोसिला खाना खान सुझाव दिइन्, स्थानीय तहले नियमित चेक गर्नेलाई पुरस्कार गर्ने बताइन् । फिल्टर वितरणले अन्य महिलालाई ऊर्जा मिल्ने, स्वास्थ्य संस्थामा नियिमत आउन सहज हुने बताइन् ।
कुडारी स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले गत वर्ष पोषण खाना दिएको बताए । उनले भने, “पछिल्लो समय स्वास्थ्य संस्थामा महिलाको पहुँच घट्दै गएको र दूषित पानी खानुपर्ने बाध्यता रहेको बेला फिल्टर दिनु निकै सान्दर्भिक छ ।”