भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको तयारी «

भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको तयारी

राष्ट्रिय भूमि आयोग लमजुङले जिल्लाको सुन्दरबजार नगरपालिकाअन्तर्गतका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी गरेको छ । हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै राष्ट्रिय भूमि आयोग लमजुङले सुन्दरबजारका ४४ जना सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी गरेको जनाएको हो ।

नगरपालिकाले पालिकाभित्रका भूमिहीनको तथ्यांक संकलन गरी जग्गा प्राप्तिका लागि राष्ट्रिय भूमि आयोग लमजुङमा सिफारिस गरेबमोजिम स्थलगत निरीक्षण गरी ४४ जनालाई लालपुर्जा वितरणको तयारी गरेको हो । नगरपालिकाबाट यसअघि करिब ८० जना भूमिहीनको सिफारिस आए पनि ४४ जना पूर्णरूपमा भूमिहीन प्रमाणित भएको राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारीले जानकारी दिए ।

नगरपालिकाबाट सिफारिस भई आएबमोजिम स्थलगत निरीक्षण गरी लालपुर्जा वितरणको प्रक्रिया अघि बढाइएको अध्यक्ष अधिकारीको भनाइ छ । जग्गाधनी पुर्जा वितरणका लागि अव्यवस्थित बसोबासीको पारिवारिक विवरण लिने कार्य सम्पन्न भएको र जग्गाको नाम नक्सा र राजस्व निर्धारण कार्य जारी रहेको राष्ट्रिय भूमि आयोग लमजुङले जनाएको छ ।

सुन्दरबजारबाहेक आयोगले बेसीसहर, राईनास र मध्यनेपालका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको नाम प्रविष्टिकरण, निस्सा वितरण र वडाबाट पहिचान गर्ने तथा पालिकामा सिफारिस गर्ने काम सम्पन्न भएको आयोगले जनाएको छ । अब सम्बन्धित पालिकाबाट पुनः पुष्टि गरी आयोगलाई सिफारिस गर्ने र स्थलगत निरीक्षण गर्ने काम बाँकी रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार जिल्लामा हालसम्म तीन सय दुईजना भूमिहीन दलित, तीन सय नौजना भूमिहीन सुकुम्बासी र ९३७ जना अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि फारम भरेका छन् । फारम भरेकामध्ये सम्बन्धित वडाको सिफारिस र स्थलगत निरीक्षण पश्चातमात्रै अन्य प्रक्रिया अघि बढाइने अध्यक्ष अधिकारीको भनाइ छ ।

राष्ट्रिय भूमि आयोग लमजुङले सुन्दरबजारसँगै जिल्लाका चार स्थानीय तहअन्तर्गतका भूमिहीन दलित तथा सुकुम्बासीलाई केही महिनाभित्रै लालपुर्जा वितरण गर्ने जनाएको छ । पालिकाबाट सिफारिस भएर आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्राप्त अनुसूची र वडा सहजीकरणबाट प्राप्त सिफारिसको आधारमा लालपुर्जा वितरणको प्रक्रिया सुरु गरिने अध्यक्ष अधिकारीले बताए ।

मध्यनेपालका पाँचवटा वडामा निस्सा वितरण

राष्ट्रिय भूमि आयोग लमजुङले मध्यनेपालका भूमिहीन नागरिकलाई निस्सा वितरण गरेको छ । मध्यनेपाल नगरपालिकाअन्तर्गत जग्गा प्राप्तिका लागि निवेदन दिएकामध्ये वडा नम्बर १ देखि ५ सम्मका नागरिकलाई अभिमुखीकरणसहित निस्सा वितरण गरेको हो ।

मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डे र राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारीको विशेष उपस्थितिमा सम्बन्धित परिवारलाई अभिमुखीकरणसहित निस्सा वितरण भएको हो । मध्यनेपाल नगरपालिकाअन्तर्गत पाँचवटा वडाबाट आएको निवेदनअनुसार निस्सा वितरण गरिएको र अन्य वडामा निवेदन अद्यावधिककै क्रममा रहेकोले जेठ २५ भित्र वितरण गर्ने तयारी गरिएको अध्यक्ष अधिकारीले बताए ।

आयोगले यसअघि अव्यवस्थित बसोबास भएका, भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी तीन प्रकृतिको लगत संकलन गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगका इकाईमार्फत् निवेदन संकलन गरिए पनि लालपुर्जा प्राप्तिका प्रावधानबारे बुझाई कम भएकाले अभिमुखीकरणसमेत गरिएको अध्यक्ष अधिकारीले बताए ।

राष्ट्रिय भूमि आयोग लमजुङका अनुसार मध्यनेपाल–१ मा भूमिहीन दलित एकजना र भूमिहीन सुकुम्बासी दुईजनालाई निस्सा वितरण भएको छ । त्यसैगरी वडा नम्बर ३ मा भूमिहीन दलित एकजना र अव्यवस्थित बसोबासी आठ जनालाई निस्सा वितरण भएको छ ।

त्यसैगरी वडा नम्बर ४ मा भूमिहीन दलित तीनजना, सुकुम्बासी चारजना र अव्यवस्थित बसोबासी नौजनालाई निस्सा वितरण भएको छ भने वडा नम्बर ५ मा अव्यवस्थित बसोबासी चारजनालाई निस्सा वितरण भएको छ ।

प्रतिक्रिया दिनुहोस्