३३ सय ४४ घरपरिवार लाभान्वित
इलाम बजार खानेपानी आयोजना सम्पन्न
इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को काम सम्पन्न भएको छ । केही समय अघिदेखि नै परीक्षणको रूपमा खानेपानी वितरण हुँदै आएको आयोजनाको काम भर्खरै सम्पन्न भएको हो ।
काम सम्पन्न भए पनि सन २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मत सम्भारको काम गर्नुपर्ने जनाइएको छ । नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता भएर चार वर्ष अघि काम सुरु भएको थियो । निर्माण सम्पन्न भएपछि सो आयोजनाको शनिबार अनुगमनसमेत गरिएको छ ।
जिल्लास्थित राजनितिक दल, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायमा प्रमुख, सञ्चारकर्मी तथा उपभोक्ता समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । आयोजनाको काम ‘रमण कन्स्ट्रक्सन कम्पनी’ ले ५७ करोड ९५ लाखमा ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो । एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा खानेपानी आयोजना सञ्चालन भएको हो ।
जुन आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो । पाँच प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता रहेको छ । सुरुमा स्थानीय उपभोक्ताले १५ हजार दुई सय रकम बुझाएका थिए । यसमा इलाम नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसेको छ ।
खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष तथा इलाम नगरपालिकाका मेयर केदार थापाले जानकारी दिए । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड करिब ४३ लिटर पानी आइरहेको छ । आयोजनाका लागि सदरमुकामबाट करिब ३२ किलोमिटरको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाको मुहानबाट पानी ल्याइएको छ ।
आयोजनाअन्तर्गत सुरुमा २८ सय ७७ घरमा पानी वितरण गर्ने लक्ष लिइएको थियो । पछि थप भएर ३३ सय ४४ घरमा आयोजनामार्फत् नै खानेपानी वितरण भएको छ । पुनः तीन सय बढी उपभोक्ताको संख्या बढेकाले सो काम हाल भइरहेको बताइएको छ । पछि रकम जम्मा गर्ने उपभोक्ताको घरघरमा समेत धारा जोड्ने काम भइरहेको जनाइएको छ ।
हालसमेत दैनिक दुई पटक पानी वितरण गरिँदै आइएको निर्माण कम्पनीका इन्जिनियर कपिलदेव यादवले बताए । हाल कतिपय स्थानमा पानी वितरणमा समस्या उत्पन्न भइरहेको भए पनि यसलाई आफूहरूले मर्मतको काम गरिरहेको उनको भनाइ छ । गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गरिँदै छ ।
उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाइप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिएको छ । यो खानेपानी वितरणको जिम्मा इलाम नगरपालिकाले नै पाएको छ ।