दोर्दीखोलाको बाढीले पाँच जनाको मृत्यु «

दोर्दीखोलाको बाढीले पाँच जनाको मृत्यु

लमजुङको दोर्दीखोलामा बुधबार अपरान्ह अचानक बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ । बाढीले बगाउँदा पाँच जनाको मृत्यु भएको छ भने अझै १० जनाभन्दा बढी सम्पर्कविहीन छन् ।
दोर्दी गाउँपालिकाको वडा नं. ४ शेरापुल नजिकै दुई जनाको शव फेला परेको हो भने कीर्तिपुर भन्ने ठाउँमा थप तीनजनाको शव फेला परेको दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिएका छन् । शव फेला परेपनि उनीहरुको पहिचान हुन नसकेको अध्यक्ष गुरुङले बताए ।
मनास्लु हिमाल काखबाट बगेको नदीमा मुहान वरपर पहिरो चलेका कारण बाढी आएको स्थानीयको अनुमान छ । बाढीले दोर्दी वडा नं. ६ ताँजेमा रहेको ५४ मेगावाट क्षमताको सुप्पर दोर्दी जलविद्युत् आयोजनाको २ वटा लोडर, २ वटा ट्रयाक्टर, २ वटा कम्प्रेसर, एउटा जेनेटर लगायतका सामग्री बगाएको आयोजना प्रवद्र्धक केशव रायमाझीले बताए ।
आयोजनाको टनेलभित्र बाढी पसेपछि फसेका १७ मजदुरहरुको भने सबैजनाको सकुशल उद्धार गरिएको छ । यसैगरी बाढीमा परी लिवर्टी ईनर्जी पावर कम्पनीद्वारा प्रवद्र्धित माथिल्लो दोर्दी ए जलविद्युत आयोजनामा कार्यरत १५ भन्दा बढी मजदुरहरु पनि हराइरहेका छन् । आयोजनाका आत्माराम घिमिरेले आयोजनाका कतिजना मजदुर हराएका छन् भन्ने यकिन जानकारी नै पाउन नसकेको बताए । आयोजनाको बाँध क्षेत्र निर्माणको क्रममा खोला नजिकै आवास बनाएर बसेका मजदुरहरुलाई बाढीले बगाएको हो ।
बाढीले वितण्डा मच्चाएपछि सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, डिएसपी रविन्द्रमान गुरुङ, प्रहरी निरीक्षक वसन्त पाण्डे, नेपाली सेनाका मेजर राम बोहोरा सहितको टोली घटनास्थलतर्फ लागेको थियो ।
दोर्दीखोलामा एक्कासि आएको बाढीले सुपर दोर्दी ख र माथिल्लो दोर्दी ए मा क्षति पु-याएको छ । सुपर दोर्दी ख अन्तर्गत आयोजनाको सुरुङभित्र बाढी पसेर संरचना भत्काएको आयोजनाले जनाएको छ । सो सँगै आयोजनामा काम गरिरहेको बज्रगुरु कन्सट्रक्सन प्रालिका इक्युपमेन्टहरु बाढीले बगाएको छ । बाढीका कारण के कति क्षति भयो भन्ने अझै एकिन नभईसकेको आयोजनाका प्रवद्र्धक केशव रायमाझीले बताए ।
यसैगरी दोर्दी खोलामै निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी जलविद्युत आयोजनामा पनि ठूलो क्षति पु-याएको आयोजनाले जनाएको छ । आयोजनाको बाँध क्षेत्रमा बाढी पसेको आयोजनाका आत्माराम घिमीरेले बताए ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्