Logo

नजिकै छ निर्यातको बजार

वैदेशिक व्यापारमा सहज पहुँचले कस्तो भूमिका खेल्छ भन्ने उदाहरण नेपाल–चीनबीचका दुई नाकाले देखाएका छन् । उत्तरी छिमेकी चीनले भूकम्प, कोभिडजस्ता कारण देखाएर दुई मुलुकबीचका प्रमुख नाका तातोपानी र रसुवागढी बन्द गर्दै आएको थियो । यी दुवै नाका गत चैत १८ बाट सञ्चालनमा आएपछि चीनतर्फको निकासी व्यापारमा सुधार आएको छ ।

चीनतर्फ चालू आवको नौ महिना अर्थात् चैतसम्मको निकासीका तुलनामा वैशाख एकै महिनामा बढी भएको छ । सरकारी तथ्यांकअनुसार चैतसम्म नेपालले चीनतर्फ ६३ करोड ६८ लाख बराबरका वस्तु निकासी गरेको थियो । यही वैशाखमा मात्र ७१ करोड ६० लाखका सामान निकासी भएका छन् । यो मात्र होइन, कोभिडपछि अर्थात् पछिल्ला तीन वर्षपछि चीनतर्फ निकासी व्यापार १ अर्ब नाघेको छ । यो वर्षका १० महिनामा १ अर्ब ३५ करोड २८ लाख बराबरका वस्तु चीनमा गएका छन् ।

अर्को सुखद पक्ष के देखिएको छ भने चीनबाट आयात भने स्थिरजस्तै छ । चैतसम्ममा चीनबाट १६ अर्ब ६६ करोड २६ लाखका सामान आयात भएका थिए । वैशाखमा आयात १६ अर्ब ७७ करोड पुगेको छ । निर्यात बढ्ने र आयात स्थिर रहँदै जानु मुलुकका लागि फाइदाको विषय हो । प्रमुख दुवै नाकामा अवरोध भएका कारण गत वर्ष नेपाली सामान चीन जान सकेको थिएन । गत वर्ष चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोडका सामान आयात भएका थिए ।

निकासी भने ८० करोड ८७ लाखमा मात्र सीमित बनेको थियो । नेपाली व्यवसायीले नाका नखुले पनि भारतीय बाटो भएर चिनियाँ सामान ल्याउने गरेका थिए । तर, भारतको बाटोबाट सामान ल्याउन जस्तो पठाउन सजिलो थिएन । त्यही कारण निकासी व्यापार खस्किन पुगेको थियो । अहिले नेपालसँगै जोडिएका नाका सञ्चालनमा आएका कारण निर्यात बढेको हो । वैदेशिक व्यापार आफ्नो पक्षमा पार्न निर्यात बढाउनुको विकल्प छैन ।

सरकारले सबैभन्दा पहिले दुवै छिमेकी मुलुक चीन र भारतमा निर्यात बढाउने रणनीति बनाउनुपर्छ । निर्यात व्यापार बढाउन बजार खोज्न टाढा जानु नपर्ने हाम्रा लागि सबैभन्दा राम्रो पक्ष हो ।

तर, यही कुरामा हामी पछि पर्दै आएका छौं । मुलुकको इतिहासमै गत वर्ष निर्यातले २ खर्ब छोएको थियो । साधारण रूपमा हेर्दा यो वर्ष त्योभन्दा धेरै निर्यात पुर्‍याउनुपर्ने हो । तर, उल्टो ३० प्रतिशत हाराहारीले निर्यात व्यापार खस्केको छ । अहिलेसम्मको तथ्यांक हेर्दा यो वर्ष डेढ खर्ब हाराहारीमा मात्र निर्यात पुग्नेछ । हाम्रो वैदेशिक व्यापारमा सबैभन्दा धेरै हिस्सा दुई छिमेकी मुलुक भारत र चीनसँग छ । भारतसँग अहिले नै व्यापारघाटा ७ खर्बभन्दा माथि पुगेको छ ।

आयातसँगै निर्यात पनि यी दुवै मुलुकसँग धेरै हुने गरेको छ । त्यसैले सरकारले सबैभन्दा पहिले यी दुवै मुलुकमा निर्यात बढाउने रणनीति बनाउनुपर्छ । निर्यात व्यापार बढाउन बजार खोज्न टाढा जानु नपर्ने हाम्रा लागि सबैभन्दा राम्रो पक्ष हो । विश्वको जनसंख्या ८ खर्ब पुग्दा हाम्रै छिमेकी मुलुक चीन र भारतमा साढे २ खर्ब माथिको जनसंख्या छ । त्यसमाथि व्यापारिक कारोबारमा हामीलाई दुवै मुलुकले अनेकौं सुविधा दिएका छन् ।

दर्जनौं वस्तुमा शून्य भन्सार सुविधा दिइएको छ भने अन्य थुप्रै सुविधा पनि उपलब्ध छन् । तर, हामीले यिनै मुलुकमा निर्यात बढाउन सकेका छैनौं । घरअगाडि बजार हुँदा पनि सामान बनाएर बेच्न असमर्थ छौं । चीनसँगको खानपिन र रहनसहनमा केही फरक परे पनि भारतीय नागरिकसँग हाम्रो सबै कुरा मिल्छ । त्यसैले धेरै टाढाको बजार खोज्न भौंतारिरहनुको कुनै अर्थ छैन । नजिकै सामान बेच्न सक्ने गरी रणनीति बनाएर अगाडि बढ्न सके सफलता टाढा छैन ।

त्यसमा पनि सरकारले दक्षिणी छिमेकी भारतको सीमा जोडिएका प्रान्तहरू र चीन स्वशासित क्षेत्र तिब्बतको जनसंख्यालाई हेरेर मात्र निकासीको रणनीति ल्याए पनि धेरै हुन्छ । चीनको तिब्बतसँगै नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, विहार, पश्चिम बंगाललगायतको जनसंख्या हाम्रो व्यापारका लागि पर्याप्त छ । यो जनसंख्याले के चाहन्छ ? उनीहरूलाई कुन वस्तुमा आकर्षित बनाउन सकिन्छ ? त्यसका बारेमा अध्ययन गरी त्यसअनुसारको रणनीति बनाउनुपर्छ ।

सरकारले निर्यातयोग्य वस्तुको सूची बनाउने र त्यसलाई परिमार्जन गर्न थालेको धेरै भइसकेको छ । अहिले पनि वाणिज्य मन्त्रालय यही काममा लागेको छ । तर, सरकारले सूचीमा समावेश गरेका अधिकांश वस्तुकै निर्यात घट्दै गएको छ । यसले सरकारले पर्याप्त अध्ययन अनुसन्धान नगरी सूची बनाएको प्रस्ट पार्छ । त्यसैले अहिले बन्दै गरेको निर्यातयोग्य वस्तुको सूचीमा फेरि यस्तो समस्या दोहोरिनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्