इसेवा मनी ट्रान्सफरको अभियानमा श्रेष्ठले जिते घर «

इसेवा मनी ट्रान्सफरको अभियानमा श्रेष्ठले जिते घर

डिजिटल रेमिटेन्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा युएईमा बस्ने पूर्णबहादुर श्रेष्ठले घर जितेका छन् । इसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेसडरहरू र कम्पनीका कार्यकारी अधिकृतले कम्पनीको आधिकारिक फेसबुक पेज मार्फत गरेको प्रत्यक्ष डिजिटल गोलाप्रथामा श्रेष्ठले घर जित्न सफल भएका हुन् ।

श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तलाको घर जितेको कम्पनीले जनाएको छ । श्रेष्ठले युएइबाट इसेवा मनी ट्रान्सफरमार्फत आफ्नो घरमा रहेका बुबाको बैंक खातमा रकम पठाएका थिए । पत्रकार सम्मेलनसहित गरिएको प्रत्यक्ष प्रसारण कार्यक्रममा इसेवा मनी ट्रान्सफरका निर्देशक डेनियल डी श्रेष्ठले विजेतालाई धन्यवाद व्यक्त गरे ।

इसेवा मनी ट्रान्सफरले विदेशबाट आउने रेमिटेन्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । डिजिटल रेमिटेन्स प्रोत्साहन गर्दै अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरूप काठमाडौं उपत्यकामा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो ।

गत वर्ष असोज ७ देखि यस वर्ष जेठ ६ गतेसम्म रेमिटेन्स पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी थिए। अभियान अन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगी उपहार समेत प्रदान गरेको कम्पनीले जनाएको छ । इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।

कम्पनीका अनुसार यसका १२ हजारभन्दा बढी भुक्तानी केन्द्र र एक लाख १२ हजारभन्दा बढी क्यास प्वाइन्ट छन् । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्