६ सय चुचुरोमा, ७६ करोड रोयल्टी

संसारका विभिन्न मुलुकका ६ सय आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेसँगै यस वर्षको आरोहण सकिएको छ । सरकारले यो वर्षको वसन्तयामका लागि २८ वटा हिमाल आरोहण गर्न अनुमति दिएको थियो । त्यसमध्ये शनिबारदेखि सगरमाथा आरोहण सकिएको छ भने अन्य हिमाल आरोहण अझै पूरा भएको छैन ।
हिमाल आरोहण गर्न अनुमति दिएबापत यो वर्ष ७६ करोड ५७ लाख रुपैयाँ रोयल्टी उठेको छ । पर्यटन विभागका अनुसार यो वसन्तयाममा सगरमाथासहित २८ हिमालबाट ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ रोयल्टी संकलन भएको हो । सन् २०२२ मा ४७ हिमाल आरोहणबाट ५३ करोड ३५ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो । यस्तै, सन् २०२१ मा ४९ करोड रुपैयाँ संकलन भएको थियो ।
यस वर्ष हिमाल आरोहण गर्ने आरोहीको संख्या बढेसँगै रोयल्टी पनि धेरै उठेको विभागले जनाएको छ । यस वर्ष २८ हिमाल आरोहणका लागि ८० देशका ११ सय ७६ जनाले अनुमति लिएका थिए । यसमध्ये २ सय ७७ महिला र ८ सय ९९ पुरुष थिए । अघिल्ला दुई वर्ष कोभिड–१९का कारण हिमाल आरोहणमा जानेको संख्यामा कमी आएको थियो । सन् २०२२ देखि भने आरोहण गर्नेको संख्यामा वृद्धि भएको हो ।
सबैमा सगरमाथा अगाडि
सरकारले २८ वटा हिमाल आरोहणका लागि अनुमति दिए पनि रोयल्टीदेखि आरोहण गर्ने संख्यालगायत सबैमा सगरमाथा अगाडि रहेको छ । यो वर्ष उठेको कुल रोयल्टीमध्ये सर्वोच्च शिखर सगरमाथाको मात्र ६६ करोड ६४ लाख रुपैयाँ छ ।
सगरमाथा आरोहणका लागि ६५ मुलुकका ४७ समूहका ४ सय ७८ जनाले अनुमति पाएका थिए । त्यसमध्ये ३ सय ७६ पुरुष र १ सय २ जना महिला थिए । विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीको संख्या हालसम्मकै उच्च हो । सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ । नेपालीले भने प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ तिरे पुग्छ ।
सगरमाथा आरोहणका लागि अनुमति लिनेहरु यो वर्ष ७० वर्षयताकै धेरै भएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले बताए । उनका अनुसार यो सिजनमा हालसम्मकै उच्च रोयल्टी संकलन भएको छ । विगतमा ६० करोडसम्म रोयल्टी जम्मा भएको थियो ।
विभागका अनुसार सन् २०२२ मा ४४ समूहका ३ सय २३ र सन् २०२१ मा ४२ समूहका ४ सय ९ जनाले सगरमाथा आरोहण अनुमति लिएका थिए । यो सिजन आरोहणका लागि शेर्पासहितको १० जनाको टोलीले सगरमाथामा रोप फिक्सिङ (डोरी टाँगेर) बाटो बनाउँदै वैशाख ३० मा पहिलो आरोहण पूरा गरेको थियो । रोल्वालिङ दोलखा निवासी दावा ग्याल्जे शेर्पाको नेतृत्वमा गएको १० सदस्यीय शेर्पा टोलीले रोप फिक्सिङ गरेसँगै यो वर्षको आरोहण गर्ने बाटो खुलेको थियो । यो वर्ष सगरमाथामा पहिलो सफल आरोहण ३१ वैशाख बिहान करिब ९ बजे भएको थियो ।
करिब ६ सयले गरे आरोहण
विभागका अनुसार शनिबार यो सिजन पूरा भएको छ । अहिले आरोहीहरु आधार शिविरबाट फिर्ता हुने क्रममा छन् । धेरैजसो आरोहीहरु फिर्ता भइसकेका छन् भने आरोहण दलका सहयोगीहरु टेन्ट निकालेर फिर्ता हुने क्रममा रहेको विभागको भनाइ छ । यो सिजनमा कतिले सगरमाथा आरोहण पूरा गरे भन्नेबारेमा यकिन विवरण केही दिनमा प्राप्त हुने विभागले जनाएको छ ।
निर्देशक खतिवडाले यो सिजनमा करिब ६ सय आरोहीले आरोहण पूरा गरेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । उनले भने, “यो संख्या आरोही, आरोहण दलका सहयोगीसहित आरोहणमा खटिने सबै शेर्पासहितको हो ।” सगरमाथा चुचुरो चुमेको ७० वर्ष पूरा भएको अवसरमा १५ जेठ (सोमबार) विभिन्न कार्यक्रम गर्ने तयारी छ । त्यस अवसरमा हालसम्म सगरमाथा आरोहण गरेकालाई व्याज वितरण तथा सम्मान गरिनेछ ।
१० को मृत्यु, ७ जना बेपत्ता
पर्यटन विभागका अनुसार यो वर्षको सगरमाथा आरोहण गर्ने क्रममा १ नेपाली आरोहीसहित अन्य ९ विदेशीले ज्यान गुमाएका छन् । यस्तै, आरोहण गर्ने क्रममा ७ जना हराइरहेका छन् । हराउनेमा १ विदेशी र ६ नेपाली रहेको निर्देशक खतिवडाले बताए ।