‘एन्फा आर्थिक रुपमा तहस नहस’ «

‘एन्फा आर्थिक रुपमा तहस नहस’

शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) आर्थिक रुपमा असफल भएको भन्दै क्लबको आर्थिक समस्यालाई बेवास्ता गरेको बताएका छन् । विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब र जावलाखेल क्लबबाहेकका १० क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी एन्फाले जारी लिग खेलिरहेका क्लवहरुले आर्थिक रुपमा सहयोग गरेको भन्दै क्लबको समस्यामा वेवास्ता गरेको बताएका हुन् ।

लिगको २१ खेल सकिँदा समेत एन्फाले क्लबको तयारी खर्च, म्याच फी, म्यान अफ दी म्याच लगायत रकम नदिएको आरोप लगाए । पत्रकार सम्मेलनमा उपस्थित भएका क्लब मध्ये हिमालयन शेर्पा क्लबका अध्यक्ष तथा पूर्व एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अहिलेको एन्फा व्यवस्थापनको हिसावले पूर्ण असफल भएको विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)को अनुदानले मात्र फुटबल चलाउन खोजेको आरोप लगाए ।

एन्फाले एएफसीबाट फुटबल विकासको लागि आएको रकम कतारमा विश्वकप हेर्न जाँदा प्रयोग गरेको र अझैसम्म पनि त्यो पैसा उठेको छैन तर व्यवस्थापकी जिम्मेवारमा निकै अस्पष्ट भएको शेर्पाले बताए । एन्फाको अहिलेको प्राथमिकतामा अस्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुन लागेको फिफा महिला विश्वकपको टिकट खरिद प्राथमिकतामा परेको तर लिग खेलिरहेका ए डिभिजन लिगको पीडामा एन्फा उदासहीन रहेको पनि शेर्पाले बताए ।

उचित योजना र सही तरिकाले काम गरियो भने फुटबलमा लगानी पाउन गाह्रो नहुने शेर्पाको भनाइ थियो । यस्तै पत्रकार सम्मेलनमा संकटा क्लबका अध्यक्ष तथा पूर्व एन्फा महासचिव इन्द्रमान तुलाधरले क्लबले तयारी खर्चको दोस्रो किस्ता समेत नपाएकोले खेलाडी मारमा परेको बताए । लिगमा सहभागी क्लबलाई लिग शुरु हुनुअघि १५ लाख, १३ औं चरण सकिएपछि १० लाख र लिग सकिएपछि साढे सात लाख रुपैयाँ दिने सम्झौता भएको तर अहिलेसम्म एक किस्ता मात्र पाएको र बाँकी रकम दिनलाई ढिलासुस्ती गरेको बताए । यस्तै एन्फाले मनोमानी तरिकाले खेल तालिकामा बनाएको समेत बताए ।

एनआरटीका महासचिव नरेन्द्र श्रेष्ठले क्लबहरुलाई बेवास्था गरेर एन्फा नेतृत्वले फुटबल खेल मास्न लागेको बताए । क्लबका पदाधिकारीले खेलाडीलाई एन्फाले ट्याक्सको मारमा पारेको पनि बताए । आय करको एउटा सिलिङ हुने गरेको र फिफा तथा एएफसीले पनि देशको कानून अनुसार खेलाडीलाई कर लगाउ भनेको अवस्थामा एन्फाले खेलाडीलाई कमाईको १५ प्रतिशत भनेर निमय बनाएको बताए । क्लबहरुले एन्फाले फुटबल विकासको हितमा भन्दा पदाधिकारीको सेवा सुविधामा ध्यान दिएको पनि बताए ।

लिगमा सहभागी क्लवहरू मच्छिन्द्र फुटबल क्लबका सचिव किरण महर्जन, एफसी खुमलटारका उपाध्यक्ष हरिबोल राउत, मनाङ मरस्याङ्दी क्लबका अध्यक्ष विजय घले, फ्रेण्ड्स क्लवका अध्यक्ष विश्वासविक्रम साह, सातदोबाटो युथ क्लवका अध्यक्ष कपील रानामगर, चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र थ्रीस्टार क्लबका देवेन्द्रलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्