प्रचारको पर्खाइमा सप्तधारा «

प्रचारको पर्खाइमा सप्तधारा

पर्यटकीय सम्भाव्यता भएरपनि आवश्यक प्रचारप्रसार नहुँदा लमजुङको मध्यनेपालस्थित पर्यटकीय गन्तव्य सप्तधारा आझेलमा परेको छ । जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदा भएर पनि आवश्यक प्रचार प्रसार र प्रवर्द्धन नहुँदा ओझेलमा परेको हाे । मध्यनेपाल–१, साविक जितामा पर्ने सप्तधारलाई केही वर्ष अघिदेखि स्थानीयले धार्मिक गन्तव्यको रुपमा प्रर्वद्धन गर्न पहल गर्दै आएका छन् ।

तर आवश्यक संरचना र सरोकारवाला निकायको चासो कम हुँदा अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको स्थानीयको भनाइ छ । सप्तधारा प्रवर्द्धनका लागि केही वर्ष पहिले पुरातत्व विभागसँग सहकार्य गरी केही भौतिक संरचना निर्माण शुरु भएको छ । परापूर्वदेखिका सातवटा धारासँगै रहेका मन्दिरको जिर्णोद्धार गरी संरक्षण गर्ने र धार्मिक गन्तव्यको रुपमा प्रवर्द्धन गर्ने स्थानीयको तयारी थियो ।

तर परम्परागत संरचना भएपनि उल्लेख्य पर्यटकलाई आकर्षण गर्ने गरी परिवर्तन आउन नसकेको मध्यनेपाल–१ का वडा अध्यक्ष सुदिप थापाले बताए । सप्तधारको प्रवर्द्धनका लागि वडा वा स्थानीय सरकारले मात्रै सम्भव नहुने भन्दै त्यसका लागि प्रदेश र संघीय सरकारले पनि चासो दिनुपर्ने वडा अध्यक्ष थापाको भनाइ छ । चालु आर्थिक वर्षमा मात्रै स्थानीय तहको पहलमा वडा कार्यालयसम्म सडक कालोपत्रे गर्न लागिएको र सडक सहज भएपछि सप्तधारमा पर्यटकको आगमन बढ्न सक्ने वडा अध्यक्ष थापाले बताए ।

सप्तधारासँगै नजिकै चिन्ने गाउँमा रहेको राक्से कालिका मन्दिर र जिताकोटस्थित भंगेरथानलाई समेत जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको मध्यनेपाल नगरपालिकाले जनाएको छ । सप्तधारा र राक्सेकालिकालाई मध्यनेपाल नगरभित्रको पर्यटकीय गन्तव्यको रुपमा राखेको मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले बताए ।

जस्तोसुकै खडेरीमा पनि सातवटा ढुंगाको धारामा अहिलेसम्म पानी नसुकेको बुढापाका बताउँछन् । परापुर्वमा त्यहाँ रहेको मुलमा पानी खान आएका गाई घर जान नमान्ने र त्यहीँ दुधको धारा बगाउने गरेको किंवदन्ती छ । स्थानीयले सो स्थानमा तार्केश्वर महादेव रहेको विश्वासमा दिनहुँ पुजाआजा गर्ने गर्दै आएका छन् । सप्तधारामा प्रत्येक वर्ष शिवरात्री र हरिबोधनी एकादशीमा मेला लाग्ने गर्दछ ।

स्थानीय समुदायको मुख्य पानीको श्रोत सप्तधारा नै भएकाले धारामा दिनहँु भिड जस्तै हुने गर्दछ । सातधाराबाट बगेको पानी स्थानीय समुदायलाई पिउन, नुहाउन तथा लुगाधुन, वस्तुभाउलाई खुवाउनको साथै घरायसी प्रयोजन र करेसाबारीमा समेत प्रयोग गर्न पुगेको छ । ओझेलमा परेको उक्त स्थानको प्रचार प्रसारको साथै विकास निर्माणमा स्थानीय राजनीतिक दल, आमा समूह, युवा क्लबका साथै स्थानीय लागि पर्दै आएका छन् ।

सप्तधाराको प्रवर्द्धनको लागि पछिल्लो समय धार्मिक महत्वका दिनहरुमा विशेष मेला लगाउने गरिएको छ । पछिल्लो समय ढुंगेधाराहरु लोप भइरहेको अवस्थामा एकै स्थानमा भएका ढुंगाका सातवटा धारा आफैंमा महत्वपूर्ण सम्पदा बन्ने स्थानीयको भनाइ छ । यसलाई धार्मिक, प्राकृतिक र यसको इतिहासलाई प्रवर्द्धन गर्ने सके जिताको पर्यटन विकासले चाँडै फड्को मार्नसक्ने सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्