नारच्याङमा ४२९ मेगावाटका ९ जलविद्युत आयोजना निर्माणाधीन «

नारच्याङमा ४२९ मेगावाटका ९ जलविद्युत आयोजना निर्माणाधीन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा धमाधम जलविद्युत आयोजना निर्माण भएका छन् । अन्नपूर्ण, निलगिरिलगायत हिमालबाट बग्ने नीलगिरि, वल्लो घलेम्दी, पल्लो घलेम्दी तथा निलगिरि र घलेम्दी मिलेर बनेको मिस्त्री खोलालगायत कालिगण्डकी नदीबाट नौवटा जलविद्युत आयोजना निर्माणाधीन छन् । नौवटा जलविद्युत आयोजनाबाट ४२९ मेगावाट विद्युत उत्पादन हुने अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए ।

२०४४ सालमा नारच्याङमा २ मेगावाटको तातोपानी जलविद्युत आयोजना निर्माण भएको थियो । त्यसपछि, घलेम्दी र निलगिरि खोला मिसिएर बनेको मिस्त्री खोलाबाट ४० मेगावाटको मिस्त्रीखोला जलविद्युत आयोजना र घलेम्दी खोलाबाट निर्माण भएको ६ मेगावाटको घलेम्दी जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिसकेका छन् । १०९ मेगावाटको नीलगिरि खोला १ र नीलगिरि खोला–२ ले ८० प्रतिशत काम सम्पन्न गरेका छन् । ६ मेगावाटको रेलेखोला करिब ६० प्रतिशत काम सम्पन्न गरेको छ भने १४ मेगावाटको सुपर घलेम्दी, ५२ मेगावाटको मध्यकालिगण्डकी, २०० मेगावाटको कालिगण्डकी ग्रजले निर्माणकार्य सुरु गर्ने तयारीमा छन् ।

नारच्याङमा अन्नपूर्ण र निलगिरि हिमालबाट बग्ने निलगिरि खोलाबाट ३८ मेगावाटको निलगिरि खोला १ र ७१ मेगावाटको निलगिरि जलविद्युत आयोजनाले पूर्वाधारको काम धमाधम गरेको छ । अन्नपूर्ण हिमालबाट बग्ने वल्लो घलेम्दीबाट ६ मेगावाटको रेलेखोला जलविद्युत आयोजनाले ६० प्रतिशत काम गरेको छ । त्यस्तै पल्लो घलेम्दीबाट ६ मेगावाटको विद्युत उत्पादन गरेको छ भने १४ मेगावाटको सुपरघलेम्दी विद्युत निर्माणको प्रक्रिया अघि बढेको छ । घलेम्दी, नीलगिरि मिसिएर बनेको मिस्त्रीखोलाबाट ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिसकेको छ ।

नारच्याङ हुँदै कालिगण्डकी नदी मिसिने विभिन्न खोलाको विद्युत उत्पादनको प्रक्रिया अघि बढ्नाले नारच्याङको हाइड्रो पर्यटनको सम्भावना उजागर गरेको वडाध्यक्ष फगामीले बताए । जलविद्युतले स्थानीयलाई रोजगारी, आर्थिक जीवनस्तर उकास्न मद्दत गरेको छ । नारच्याङस्थित हुमखोला र छोटेपास्थित नीलगिरि खोलामा १०९ मेगावाट क्षमताका दुईवटा जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ ।

अन्नपूर्ण र नीलगिरि हिमालबाट बगेर आउने नीलगिरि खोलामा ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणाधीन छन् । वि.सं २०७६ देखि सुरु भएको दुईवटै आयोजनाको प्रवद्र्धक कम्पनी नीलगिरि हाइड्रोपावरले संरचना निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । नीलगिरि हाइड्रोपावरका इन्जिनियर रत्न बमजन तामाङले दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युतगृह, प्रसारण लाइनलगायतको भौतिक संरचनालाई अन्तिम चरणसँगै इलोक्ट्रोमेकानिकलको काममा केन्द्रित भएको बताए ।

नीलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकिएर ढलान भइरहेको छ । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण गरिएको छ । क्यासकेडको विद्युतगृह दोभानदेखि नीलगिरि पहिलोको बाँध हुमखोलासम्म अक्करे पहाडमा दुई वर्ष लगाएर १४ किलोमिटर सडक निर्माण गरिएको थियो ।

आगामी ६ महिनाभित्रमा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाका इन्जिनियर केशव वाग्लेले बताए । करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । नीलगिरि खोलाबाट उत्पादन भएको बिजुली २२० केभीए क्षमताको दाना सबस्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस्