Logo

पर्यटन विकास र हवाई टापु

संयुक्त राज्य अमेरिका बस्दै आएका छोरी र ज्वाइँले जुराइदिएको आठदिने हवाईको होनोलुलु सहरको भ्रमणले यसपालि हामीलाई पर्यटकीय उत्पादनको प्रस्तुति र पर्यटनमा ब्रान्डिङको प्रभावले कसरी फरक पार्ने रहेछ भन्नेबारे प्रत्यक्ष अनुभव गर्ने अवसर मिल्यो । पर्यटकहरूले टन्नै भरिएको ३ सयभन्दा बढी यात्रु बोकेको बोइङ–७७७ शिकागोबाट उडेको नौ घण्टापछि होनोलुलु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो ।

सहज यात्राका लागि हामीले लगेज बोकेका थिएनौं, बूढाबूढी दुवैसँग साना एक–एकवटा हाते ब्याग मात्र थियो । छिट्टै होटल पुगेर पनि केही काम थिएन । त्यसैले विमानस्थल अवलोकन गर्दै बिस्तारै हिँड्दै गरेका बेला केही खैरे बाइक प्याकरहरू हतारिंदै एकातिर लम्किरहेको देख्यौं । कहाँ जान लागेको होला भन्ने कौतूहलले हामी पनि उनीहरूको पछि लाग्यौं । बाहिर सडकको क्षेउमा डाउनटाउन जाने सार्वजनिक बस रोकिराखेको रहेछ ।

हामी पनि उनीहरूकै पछि लागेर बस चढ्न पुग्यौं । प्रतिव्यक्ति ३ डलर भाडा रहेछ, दुई जनाको केवल ६ डलरमा होटल पुग्यौं । करिब एक घण्टापछि बस होटलकै नजिक वाइकिकी भन्ने ठाउँमा रोकिन पुग्यो । वाइकिकी काठमाडौंको ठमेलजस्तै त्यहाँको मुख्य पर्यटकीय केन्द्र रहेछ । ७ सयभन्दा बढी कोठा भएको ४० तले तारे होटलमा आउने/जाने पर्यटकहरूको भीड बाक्लै थियो । त्यसैले चेक–इन गर्नै एक घण्टा लाग्यो ।

चारवटा धावन मार्गसहितको होनोलुलुको सर्वसुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल र अन्य टापुई राज्यहरूमा पुग्नका लागि पनि सबल हवाई सञ्जाल देखेपछि लाग्यो, सुदृढ विमानस्थल, सहज हवाईमार्ग र सुविधासम्पन्न आन्तरिक आवागमन नै पर्यटन विकासको मूल आधार हुने रहेछ । यस दृष्टिमा पहुँचको सहजता याने कि ‘इजी एयर कनेक्टिभिटी’ नै नेपालको पर्यटन विकासको प्रमुख अवरोध हो ।

करिब १८ लाख जनसंख्या भएको वार्षिक १ करोडभन्दा बढी पर्यटक भित्रिने संयुक्त राज्य अमेरिकाको प्रशान्त महासागरस्थित टापुई राज्य हवाईको सुन्दर राजधानी सहर होनोलुलु अग्ला–अग्ला तारे होटलहरूले भरिएका थिए । हवाईको कुल २८ हजार ३ सय ११ वर्गकिलोमिटर क्षेत्रफलमध्ये ४१ प्रतिशत जलक्षेत्र र बाँकी ५१ प्रतिशत साना टापुहरूमा छरिएका स्थल भाग रहेछन् ।

हवाईको आदिजाति संस्कृति ‘लुवाउ डान्स एन्ड डिनर’ हवाई पुगेपछि एकपटक अनुभव गर्नैपर्ने पर्यटकीय गतिविधि भन्ने जानकारी पाएको हुँदा हामीले पहिलो दिन यसैको अनुभव बटुल्ने मनसायले सोधपुछ गर्‍यौं । लुवाउ डान्स र डिनरबारे टुर अपरेटरले विभिन्न विकल्प प्रस्तुत गरे । प्रतिव्यक्ति १ सय ४० देखि २ सय २० डलरसम्म पर्ने विकल्पहरूबारे बखान गर्दै अन्त्यमा सबैभन्दा महँगो २ सय २० डलर राम्रो हुने भन्दै त्यही खरिद गर्न सुझाव दिए ।

तर, हामीले सबैभन्दा सस्तो नै छान्यौं । तोकिएको समयभन्दा केही अगावै हामी कार्यक्रमस्थल पुग्यौं । आउँदै गरेका पर्यटकलाई एक समूहले बुकिङ रजिस्टर हेर्दै पहिचानका लागि उनीहरूलाई स्टिकर लगाउँदै गए । स्टिकर लगाइसकेपछि एक समूहले उनीहरूलाई स्थानीय फूलको माला लगाउँदै स्वागत गरे । स्टिकर पाइसकेपछि हामीलाई पनि माला लगाइदेलान् भनी आस गरी बसेका थियौं, तर हामीले माला पाएनौं । किन होला भनी सोधेको त उनीहरूचाहिँ भिआइपी पाहुना रे !

मन खिसिक्क पारी एक छेउमा उभिरहेका थियौं । सायद हाम्रो मनस्थिति बुझेर एक महिला परिचारिका आएर हामीसँग कुरा गर्न थालिन् । बल्ल हामीले बुझ्यौं, ५० डलर बढी तिरेका कारण उनीहरूले विशिष्ट सत्कार पाएका रहेछन् । पर्यटनको यो भिन्दै किसिमको पाठ हाम्रो लागि नौलो थियो । जति खुसी पार्न सक्यो त्यति बढी असुल्न पाउने । पछि पाहुनाहरू आउँदै गर्दा थाहा भयो, हामीजस्ता साधारण पाहुना पनि थुप्रै रहेछन् ।

कार्यक्रम रमाइलो थियो, खाना पनि ठीकठीकै थियो । कार्यक्रमपछि मनमनै हिसाब गर्न थालें, १ सय ४० को दरले दुई जनाको २ सय ८० डलर, नेपाली ३७ हजार रुपैयाँ । स्वदेशमा भए त्यतिका लागि ५ हजार तिर्न पनि हिचकिचाउँथें होला । तर पनि त्यति टाढा पुगेर खालि सुतेर समय बिताउने कुरा आएन । छोरीले आफ्नो बचत रकमबाट जुराइदिएको भ्रमणका लागि आफूले पनि त केही खर्च गर्नुपर्‍यो । जे होस्, कार्यक्रमको अन्त्यमा नयाँ स्वाद र नयाँ अनुभव गर्ने अवसर पाएकोमा एक किसिमको आनन्द र सन्तुष्टि नै पायौं ।

यो हाम्रो लागि पर्यटनको अर्को पाठ थियो । पैसा खर्च भए पनि पर्यटकले खोज्ने आनन्द र सन्तुष्टि नै रहेछ, जति खुसी पार्न सक्यो त्यति बढी असुली । आनन्दित हुन पाएपछि सस्तो–महँगोको प्रश्नै नहुने रहेछ । हवाईमा पर्यटकका लागि थुप्रै आकर्षण रहेछन्, तर अति महँगो । त्यसमाथि स्थानीय कर, होटलदेखि पिक अप ड्रप र अन्त्यमा टिपसमेत जोड्डा अन्तिम दाम दिइएको भन्दा धेरै हुन्थे । अमेरिकाको एउटा अनौठो चलन टिप, जसलाई ग्राचुटी पनि भन्ने गरिन्छ । जहाँ गए पनि टिप अनिवार्य, टुर प्याकेज बुक गर्नेले समेत टिप माग्ने ।

रेस्टुराँहरूमा त कम्तीमा १५ प्रतिशत टिप अनिवार्य हुन्थ्यो । एक साँझ हामी पानीजहाजबाट समुद्रबीचमा लगेर पर्यटकहरूलाई सूर्यास्तको मनमोहक दृश्यको पृष्ठभूमिमा गराइने ‘सनसेट डान्स एन्ड डिनर’ को अनुभव बटुल्न पुग्यौं । त्यो त लुवाउ डान्स एन्ड डिनरभन्दा पनि महँगो रहेछ । नेपालका कैयौं स्थानबाट देखिने सूर्यास्त र सूर्योदयभन्दा धेरै फिका लाग्ने त्यस पर्यटकीय गतिविधिलाई पनि सुन्दर ढंगले पस्केर पाहुनाहरूलाई खुसी पार्न जानेको अनुभूति गर्‍यौं ।

तीनतले पानीजहाज पूरै पर्यटकले भरिएको देख्दा लाग्यो, पर्यटकबाट बढीभन्दा बढी खर्च गराउन यस्तै गतिविधि आवश्यक हुने रहेछ । प्रत्येक पर्यटकीय गतिविधिलाई जीवनमा एकपटक अनुभव गर्नेपर्नेजस्तो प्रस्तुत गर्न सक्नु हवाई पर्यटनको विशेषता मानें । होनोलुलुको दृश्यावलोकनका लागि सबैभन्दा सहज र किफायती उपाय ‘हप अन हप अफ गाइडेड टुर’ हुन् । जसमा दृश्यावलोकनका लागि बनाइएको विशेष किसिमको खुला ट्रलीबसमा बसी सहरका विभिन्न स्थानको भ्रमण गरी पर्यटकहरूले आनन्द लिन पाउँछ ।

दिनभरि एक निश्चित रुटमा घुमिरहने बसमा मन लागेको ठाउँमा ओर्लन पाइने र घुम्न, हेर्न पुगेपछि फेरि त्यही बसमा जहाँसुकै चढ्न पाइनेलाई ‘हप अन हप अफ’ भनिँदो रहेछ । त्यहाँ पर्यटकहरूका लागि समय बिताउन र उनीहरूको बसाइ लम्ब्याउन थुप्रै विकल्प उपलब्ध थिए । प्रत्येक पर्यटकबाट बढीभन्दा बढी खर्च गराउनु नै उनीहरूको एक मात्र लक्ष्य हुन्थ्यो । हामीले पनि सम्भव भएसम्म आफ्नो औकातले भ्याएसम्म त्यहाँको आनन्द लियौं ।

हप अन हप अफ गाइडेड टुरको माध्यमबाट होनोलुलु सहरको कुनाकुना पुगेर, समुद्री तट (बिच) मा घुमेर, पौडी नै नखेले पनि समुद्री पानीमा डुबुल्की मारेर, पनडुब्बी (सब्मायरिन) म्युजियम तथा पार्क घुमेर, अन्य पर्यटकहरूसँगै चिसो बियर खाएर, सहरबजार घुमेर रमायौं । हवाई घुम्ने क्रममा विभिन्न देशका पर्यटकसँग भेट्ने अवसर मिल्यो । तर, नेपाल पुगेका कोही भेटिएन । उनीहरू सबैले नेपाल सुन्नासाथ एक किसिमको रोमाञ्च र आकर्षणले भरिएको र एकपटक जानैपर्ने देशको रूपमा लिएको पाउँदा खुसी लाग्यो ।

पर्ल हार्बर अवलोकन

हवाईको ऐतिहासिक महत्त्वको बन्दरगाह पर्ल हार्बर हवाई पर्यटनको महत्त्वपूर्ण अंग रहेछ । सन् १९४१ को डिसेम्बर ७ मा हवाईको पर्ल हार्बरस्थित अमेरिकी प्यासिफिक सैनिक बेडामा जापानी युद्ध विमानहरूले आकस्मिक हमला गर्दा कैयौं अमेरिकी युद्धपोतहरू ध्वस्त भएका थिए । हमलामा २४ सयभन्दा बढी अमेरिकी सेना मारिनुका साथै ११ सय सैनिक घाइते भएका थिए । त्यस हमलामा क्षतिग्रस्त एरिजोना नामको युद्धपोतका भग्नावशेषहरू संरक्षण गरी त्यस घटनामा सहादत पाउने सैनिकहरूको सम्झनामा एक स्मारक निर्माण गरिएको रहेछ ।

सर्वसाधारणका लागि खुला गरिएको त्यो स्मारक हवाई भ्रमणमा आउने जोकोही पनि अवलोकन नगरी फर्किंदो रहेनछ । पर्ल हार्बर अवलोकनका लागि प्रतिव्यक्ति ८० डलर र १ सय ५० डलर दुई किसिमको टुर प्याकेज पायौं । हामीले दुई जनाको १ सय ६० डलरमा पहिलो टुर प्याकेज रोज्यौं । पर्ल हार्बरमा भएको जापानी हमलाको श्रव्यदृश्य प्रदर्शनका साथै मोटरबोटमा राखी एरिजोना युद्धपोतको स्मारकसम्म पुर्‍याउने र फर्काउने काम अमेरिकी नौसैनिकले व्यवस्था मिलाएको रहेछ ।

सोका लागि दिनमै हजारौं पर्यटक आउने हुँदा असाध्य भीड हुने रहेछ । भीडलाई व्यवस्थित गर्नका लागि एकपटकमा एक निश्चित समूह करिब आधा–आधा घण्टाको अन्तरालमा बनाई समय किटेर टिकट जारी गरिँदो रहेछ । त्यसरी समूह मिलाई प्रवेश अनुमति जारी गरेबापत एक डलर लिने रहेछ । जम्मा एक डलरका लागि हामीसँग ८० डलर असुली गरिएको थाहा पाएपछि हामीले पर्यटनको अर्को पाठ सिक्यौं । पर्यटन भनेको तरिका जानेमा दुई रुपैयाँ नपर्नेलाई हजारौंमा बिकाउन सकिने अनौठो उद्योग रहेछ ।

अवलोकनस्थलसम्म नै सार्वजनिक बस जाने रहेछ । बस भाडा ३ डलर, अझ हामी ज्येष्ठ नागरिकका लागि १ डलर २५ सेन्ट मात्र । आउन–जान गरी २ डलर ५० सेन्ट । दुई जनाको बस भाडा ५ डलर र प्रवेश शुल्क २ डलर गरी जम्मा ७ डलर लाग्नेमा हामीले १ सय ६० डलर खर्च गर्नुपर्‍यो । टुर अपरेटरले बसमा राखेर अवलोकन स्थलसम्म पुर्‍याएकोलाई सिटी टुर नाम दिई बढी पैसा असुल गर्ने रहेछ । नेपालमा काठमाडौं, पाटन, भक्तपुरका सम्पदा क्षेत्रमा पर्यटकहरूलाई लिने गरिएको प्रवेश शुल्क बढी भयो भनी कहिलेकाहीं चर्चा उठ्ने गर्छ । हवाईको अनुभवले बरु ती शुल्क कम भएको हो कि जस्तो लाग्यो ।

तर, त्यसरी शुल्क लिएपछि पर्यटकका लागि कम्तीमा अत्यावश्यक शौच सामग्रीसहितको स्वच्छ, सफा शौचालयजस्ता न्यूनतम सुविधाबारे ध्यान पुर्‍याउन अत्यावश्यक देखें । भ्रमणको अन्त्यतिर हामीले थाहा पायौं, होनोलुलुमा सार्वजनिक बस सञ्जाल यति राम्रो रहेछ कि ुहरको जुनसुकै कुनामा बस पुग्ने रहेछ । ७ डलरमा ‘डे पास’ पाइने, याने कि दिनभरी जुनसुकै रुटको जुनसुकै बसमा यात्रा गर्न पाइँदो रहेछ । होनोलुलु सहर घुम्न महँगो गाइडेड टुर आवश्यक रहेनछ भनी थाहा पाउँदासम्म धेरै ढिला भइसकेको थियो ।

जल्दो प्रश्न

हालका दिनहरूमा हवाईमा पर्यटकहरूको बाढी नै आएझैं महसुस गर्न थालिएको छ । पर्यटक संख्या निरन्तर बढ्दै छन् भने प्रतिपर्यटक गर्ने खर्च घट्दै जानु सरोकारको विषय बनेको छ । यसको प्रमुख कारणमा अनियन्त्रित रूपमा बढ्दै गएको निजी होमस्टेहरू मान्ने गरिन्छ, जसलाई त्यहाँ एयरबेड एन्ड ब्रेकफास्ट भन्ने गरिन्छ । हाइकिङ, क्याम्पिङ गर्ने पर्यटक र उनीहरूको गाडीको लर्कोले सडक जाम, पार्किङ स्थलको अभावका साथै हल्ला र शान्त वातावरणको अभावले स्थानीयवासी दिक्क मान्न थालेका छन् भने समुद्री तटमा लाग्ने भीड र प्रकृतिमा बढ्दै गएको दबाब चासोको विषय बनेका छन् ।

सन् १९८९ देखि २०१८ तीन दशकको अवधिमा हवाईमा थप २५ लाख पर्यटक बढेको भए तापनि प्रतिपर्यटकले गर्ने वास्तविक खर्च ३० वर्षपहिले जति थियो अहिले पनि त्यत्तिकै मानिन्छ । त्यसो हुनुमा मुद्रास्फीति प्रमुख कारण मानिन्छ । सस्तो आवासको खोजीमा पर्यटकहरू होटलमा भन्दा होमस्टेजस्ता निजी आवासप्रति आकर्षित हुन थालेको र पहिले गल्फजस्ता महँगो पर्यटकीय क्रियाकलापमा रमाउने पर्यटकहरू अहिले हाइकिङजस्ता कम खर्च हुने पर्यटकीय गतिविधिमा रमाउन थालेकाले पनि प्रतिपर्यटकको दैनिक खर्च बढ्न नसकेको रहेछ ।

सहज पहुँच

चारैतिर समुद्रले घेरिएको हुँदा समुद्री मार्ग हवाई पुग्ने सहज विकल्पका रूपमा उपलब्ध भए तापनि युरोप, अमेरिका, क्यानाडा, जापान, कोरिया, न्युजिल्यान्ड तथा अस्ट्रेलियाका विभिन्न गन्तव्यबाट सीधा उडान हुने भएकाले हवाईमार्ग नै अधिकांश पर्यटकको प्रथम रोजाइमा पर्ने गरेको रहेछ । चारवटा धावन मार्गसहितको होनोलुलुको सर्वसुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल र अन्य टापुई राज्यहरूमा पुग्नका लागि पनि सबल हवाई सञ्जाल देखेपछि लाग्यो, सुदृढ विमानस्थल, सहज हवाईमार्ग र सुविधासम्पन्न आन्तरिक आवागमन नै पर्यटन विकासको मूल आधार हुने रहेछ ।

यस दृष्टिमा पहुँचको सहजता याने कि ‘इजी एयर कनेक्टिभिटी’ नै नेपालको पर्यटन विकासको प्रमुख अवरोध हो । किनकि काठमाडौं पुग्न सहज छैन, सीधा उडान नभएका कारण अन्य विमानस्थलमा ट्रान्जिट हुँदै काठमाडौं पुग्दासम्म पर्यटकहरू दिक्क भइसकेका हुन्छन् । यसबाहेक चर्को हवाई भाडा नेपालको पर्यटन विकासको अर्को बाधक पक्ष हो । प्रत्येक १० लाखको लगानीबाट उद्योग–कलकारखानाले १३, कृषिले ४५ र पर्यटन उद्योगले ८९ रोजगारी सिर्जना गर्ने तथ्य प्रकाशमा आएको छ ।

यस अर्थमा पर्यटन उद्योगमा गरेको लगानीले सर्वसाधारण जनताको जीवनस्तरमा तत्काल सकारात्मक प्रभाव ल्याउन सक्नेमा कुनै शंका छैन । तर, देश र जनताका लागि यति महत्त्वपूर्ण पर्यटन उद्योगको अवरोधमा रहेको सहज पहुँच (एयर कनेक्टिभिटी) को समस्यालाई हटाउन हामीले प्राथमिकताका साथ पहल गर्न सकेका छैनौं । न त हवाईमार्गको समस्या समाधान हुन सकेको छ, न त फुलफ्लेज्ड अन्तर्राष्ट्रिय विमानस्थलको पहल अघि बढ्न सकेको छ ।

निष्कर्ष

हवाईमा पर्यटकहरूको सालाखाला बसाइ १२ दिन र उनीहरूले दैनिक २ सय ३५ डलर खर्च गर्ने पाइएको छ । सरकारी तथ्यांकअनुसार नेपालमा पर्यटकहरूको सालाखाला बसाइ १५.५ दिन र प्रतिपर्यटकले सन् २०२० मा प्रतिदिन ६५ डलर खर्च गर्ने पाइएकोमा २०२१ मा आएर प्रतिपर्यटकले प्रतिदिन गर्ने खर्च ४८ डलरमा झरेकोछ । पर्यटकको बसाइ र उनीहरूले गर्ने खर्चलाई पर्यटन उद्योगको स्वस्थताको परिचायक मानिन्छ ।

त्यसैले पर्यटकको संख्या बढाउनुका साथै उनीहरूको बसाइ लम्ब्याउने र प्रतिपर्यटकले गर्ने दैनिक खर्च बढाउनेतर्फ राज्यको ध्यान जानु आवश्यक छ । यसबाहेक अरू देशले दुई रुपैयाँ नपर्नेलाई हजारौंमा बिक्री गर्न जानेझैं नेपालले पनि अब आफ्नो पर्यटकीय प्रस्तुतिलाई निखार्दै दुई रुपैयाँका लागि रिक्सावालसँग बहस गर्ने झोले पर्यटकलाई दुरुत्साहित गर्दै स्तरीय पर्यटनलाई प्रवर्द्धन गर्दै लानेतर्फ सोच्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्