बजेटअघि बढ्यो सेयर बजार, दिगो होला ?

लामो समयको गिरावटपछि सेयर बजार पुनः लयमा फर्कन सुरु गरेको छ । बजारलाई प्रत्यक्ष प्रभाव पार्ने केही सूचकमा सकारात्मक परिवर्तन आउँदा बजार लयमा फर्कन थालेको हो ।
निरन्तर गिरावट आएको सेयर बजार गत साताको मंगलबारदेखि लगातार बढेको छ । बिहीबार सार्वजनिक बिदा परेकाले बुधबार यस साताको अन्तिम दिन कारोबार भएको थियो । त्यसदिन सेयर बजार १६.४९ अंकले बढेर १ हजार ९ सय ५९ दशमलव १२ विन्दुमा कायम भयो ।
बजेटको मुखमा आइपुग्दा बजारमा लगानीकर्ताको सक्रियता बढ्दै गएको छ । जसकारण सेयर बजार लगातार सात दिनसम्म बढेको हो । यो वृद्धि अब निरन्तर रहने अपेक्षामा लगानीकर्ताहरू रहेका छन् । गत साताको मंगलबारदेखि यस साताको बुधबारसम्म आइपुग्दा नेप्से परिसूचक ७.७४ प्रतिशतले बढेको छ । परिसूचक बढ्दै जाँदा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । यस अवधिमा मात्रै लगानीकर्ताको सम्पत्ति दुई खर्ब सात अर्ब रुपैयाँले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बुधबारसम्ममा सेयर बजार १९५९.१२ विन्दुमा पुगेको छ । लामो समयसम्म १ हजार ८ सयदेखि १ हजार ९ सयसम्मको विन्दुमा रहेको सेयर बजार यस पटक भने १ हजार ९ सयभन्दा माथि पुगेको हो । यस सातामात्रै पनि १ हजार ९ सयभन्दा कम विन्दुमा सेयर बजार पुगेको थियो । लगानीकर्ताहरूले नेप्से परिसूचकमा आएको यो वृद्धिलाई सकारात्मक पहलको रुपमा बुझेका छन् । अब विस्तारै सेयर बजार लयमा फर्कने आशामा लगानीकर्ता छन् । यद्यपि सेयर बजारसम्बन्धी केही विद्यमान नीतिहरू परिमार्जन नभएसम्म बजारको समस्या समाधान नहुने लगानीकर्ताहरूको बुझाइ छ ।
पछिल्लो समय बैंकमा लगानीयोग्य रकम (तरलता) पर्याप्त भएकाले पनि सेयर बजार बढ्न थालेको लगानीकर्ताहरूको भनाइ छ । कर्जा निक्षेप अनुपात ८५ प्रतिशतभन्दा कम भइसकेको अवस्था आएपछि पनि लगानीकर्तालाई सहज भएको इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् । यसबाहेक ब्याजदर क्रमिक रुपमा घट्दो क्रममा रहेकाले पुँजी बजारमा सहजता भएको उनको भनाइ छ । “बैंकहरूले मार्जिन लेन्डिङको लागि कर्जा प्रवाह गर्न थालिसकेका छन् । यी कारणहरूले पुँजी बजार बढ्दै गएको देखिन्छ,” अध्यक्ष ढकालले भने ।
बजेट सकारात्मक आउँछ भन्ने अपेक्षासमेत लगानीकर्ताहरूले गरेका छन् । अध्यक्ष ढकालले ब्रोकरहरूलाई लाइसेन्स दिन थालिएका कारण पनि बजारमा सकारात्मक सन्देश दिएको बताए । केही सूचकहरू सकारात्मक भए पनि राष्ट्र बैंकको नीति संशोधन भएमा मात्रै सेयर बजारमा दीर्घकालीन सुधार हुने उनी बताउँछन् ।
केही समय अघिदेखि सेयर बजारसँग सम्बद्ध संघसंस्थाहरूले नेपाल राष्ट्र बैंकले सेयर बजारमा लिएको नीतिको विरोध गर्दै आएका छन् । लगानीकर्ताहरूका विभिन्न संघसंगठनहरूले गभर्नर, अर्थमन्त्री तथा प्रधानमन्त्री समेतलाई छुट्टाछुट्टै भेटेर लगानीकर्ताको पक्षमा नीति ल्याउन र विद्यमान व्यवस्था परिमार्जन गर्न आग्रह गर्दै आइरहेका छन् ।
बिहीबारमात्रै पनि नेपाल पुँजी बजार लगानीकर्ता संघ, नेपाल इन्भेष्टर्स फोरम लगायतका विभिन्न संगठनहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी लगानीकर्ताको माग पूरा गर्न पहल गरिदिनका लागि आग्रह गरेका छन् । जसमा पूर्वप्रधानमन्त्री देउवाले लगानीकर्ताको हितमा व्यवस्था ल्याउन पहल गर्ने विश्वास लगानीकर्ताहरूलाई दिलाएका छन् ।
लगानीकर्ताहरूले विशेष गरी राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको १२ करोड रुपैयाँको सीमाले बजार निरुत्साहन गरेको भन्दै यो व्यवस्था नै हटाउन माग गर्दै आएका छन् । यस्तै, सेयर कर्जामा लगाइएको १५० प्रतिशत जोखिम भारित औषतलाई एक सय प्रतिशतमा झार्नका लागि पनि उनीहरूले लबिङ गरिरहेका छन् ।
यसबाहेक अल्पकालीन लगानीकर्तालाई पाँच प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई तीन प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्न, नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्जको नयाँ लाइसेन्स वितरण प्रक्रियामा ढिलाइ नगर्न माग गर्दै आएका छन् ।