विदेशमा कार्यरत एक लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा «

विदेशमा कार्यरत एक लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा

वैदेशिक रोजगारीमा रहेका नेपाली युवा मध्ये हालसम्म १ लाख १६ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा आवद्ध भएका छन् । २ महिना अघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्धता गराउने योजना कार्यन्वयनमा ल्याएपछि सो संख्यामा श्रमिक आवद्ध भएका हुन् । यसरी आवद्ध भएका श्रमिकले हालसम्म १९ करोड रुपैया भन्दाबढी योगदान रकम जम्मा गरेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

कोषका सहप्रवक्ता रोहित रेग्मीले एक महिनामा योगदान रकम लगभग १० करोड रुपैयाँका दरले संकलन भईरहेको बताए । “रकम संकलन मात्र नभई योजनामा आवद्धता हुने दर समेत बढेको छ ।” रेग्मीले कारोबारसँग भने, “विदेश जाने श्रमिकको संख्या बढेसँगै योगदान र श्रमिक पनि बढदै जाने देखिन्छ ।” विदेश रहेका श्रमिकलाई समेत योजनामा आवद्धता गराउन जनचेतनाको काम भईरहेको कोषले जनाएको छ ।

सरकारले चैत ८ गतेदेखी वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्धता गर्न शुरु गरे यता सो संख्यामा श्रमिक आवद्ध भएको कोषका सहप्रवक्ता रेग्मीले जानकारी दिए । सरकारले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीलाई योजनामा सहभागिता गराउन प्रमुख श्रम गन्तव्यका नियोगलाई समेत अनुरोध गरेका कारण योगदानकर्ता बढ्ने कोषले जनाएको छ ।

विदेशमा रहेका कतिपय श्रमिकमा योजनाबारे भ्रम रहेका कारण विदेशबाट आवद्धता हुनेको संख्या ८६७ मात्र रहेको देखिन्छ । कोषमा जम्मा हुने रकमको सुरक्षाका सम्बन्धमा धेरै श्रमिकमा भ्रम रहेको कोषको बुझाई रहेको छ । हालसम्म सुचिकरण भएका मध्ये अधिकांक्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आवेदन दिएका श्रमिक रहेका छन् । सरकारले औपचारिक क्षेत्रका श्रमिक मात्रै योजनामा समावेश गदै आएकोमा चैत पहिलोसाताबाट वैदेशिक रोजगारीमा रहेका सबै श्रमिकलाई योजनामा सामेल गराउन शुरु गरेको थियो ।

सरकारले वैदेशिक रोजगारीमा रहेका र जाने तयारी गरेका श्रमिकको सुरक्षाको लागि योजनालाई अनिवार्य गरेको हो । नयाँ जाने श्रमिकले श्रम स्वीकृतिकै क्रममा योजनामा अनिवार्य आवद्ध हुने गरेका छन् । वैदेशिक रोजगारी जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुन सक्ने छन् । यसैगरी नविकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको सहकार्यमा तयार गरिएको अनलाइन प्रणाली मार्फत सूचिकृत हुन सक्ने गरी व्यवस्था गरिएको छ ।

योजनामा समावेश हुने श्रमिकले मासिक २ हजार २ रुपैयाँ बुझाउन पर्छ । रकम एकमुष्ट बुझाएमा जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने कोषले जनाएको छ । यो रकम खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले बताएको छ । कोषले वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई कोषमा समेट्ने तयारीसहित योजना शुरु गरेको जनाएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकले योगदान गरेको रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याउने गरेको छ ।

योगदानकर्ताले निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ठ लिन वा सो रकमलाई १ सय ६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवनकालभर निवृत्तिभरण लिने गरी रोज्न पाउने छन् । यसका साथै योगदानकर्ता दुर्घटनामा परेर अस्पताल भर्ना भए १ लाख रुपैयाँसम्म उपचार खर्च पाउँछन् । कोषले उपचारको ८० प्रतिशत वा प्रतिवर्ष १ लाख रुपैयाँ पाउने जनाएको छ ।

विदेशमा रहेका श्रमिक आवद्ध भएपछि योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च पाउने कोषले जनाएको छ । जुनसुकै कारणबाट मृत्यु भएमा पनि न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर निवृत्तिभरण पाउने जनाईएको छ । वैदेशिक रोजगारी अन्त्य भएपछि एकमुष्ठ रकम लिन वा निवृत्तभरण योजनामा सहभागी बन्न सक्ने सकिने व्यवस्था रहेको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्