ठेकेदारको लापरबाहीले स्वास्थ्य चौकी भवन अलपत्र «

ठेकेदारको लापरबाहीले स्वास्थ्य चौकी भवन अलपत्र

ठेकेदारले समयमै स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न नगर्दा खोटाङको बाहुनीडाँडामा स्वास्थ्य सेवा प्रवाह प्रभावित भएको छ । गौरी पार्वती न्यू टेक्निकल जेभी ललितपुरको चरम ढिलासुस्तीका कारण स्वास्थ्य चौकी भवन निर्माणको काम अलपत्र पर्दा स्वास्थ्यकर्मी भाडाको साँघुरो कोठाबाट स्वास्थ्य सेवा प्रवाह गर्न बाध्य छन् ।

हाल स्थानीय झोक्रे राईको घरको दुईवटा कोठा भाडामा लिएर स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । यसअघि तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्य चौकीको सेवा प्रवाह हुँदै आएको थियो । हाल गाविसको भवनलाई भत्काएर वडा २०७५ सालदेखि मासिक चार हजारमा व्यक्तिको घरमा राखिएको बर्थिङ सेन्टरको कोठा पनि साँघुरो छ । बर्थिङ सेन्टरको व्यवस्थापन पक्ष कमजोर हुँदा वडामा डेलिभरी संख्या बढाउन सकिएको छैन ।

स्वास्थ्य चौकी भवन अलपत्र पार्ने ठेकेदारलाई पटकपटक भवन निर्माणको काम सम्पन्न गर्न ताकेता गरे पनि अटेर गरेको वडाध्यक्ष रुद्र राई बताउँछन् । काम गरेका कामदारले ठेकेदारबाट हालसम्म पूरा पारिश्रमिक पाएका छैनन् । साउदी सरकारको फण्डमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् एउटै ठेक्कामा खोटाङको बाहुनीडाँडा, मंगलटार, बतासे, राखाबांदेल र दोर्पाचिउरीडाँडा स्वास्थ्य चौकीको भवन निर्माणको काम सुरु गरिएको थियो ।

गौरी पार्वती न्यू टेक्निकल जेभीले भ्याटबाहेक सात करोड ४० लाख ८४ हजार २९६ पाँच स्वास्थ्य चौकीको भवन निर्माणको काम सुरु गरिएपछि स्वास्थ्य चौकीलाई गत माघदेखि भाडाको घरमा सारिएको हो । स्वास्थ्य चौकीको भाडाको कोठा पनि साँघुरो छ । कोठामा दुई वटामात्र कुर्सी अटाइएका छन् । एकैपटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका इन्चार्ज लिलामायाँ लामिछाने बताउँछिन् ।

“सेवा प्रवाह गर्ने कोठा साँघुरो छ । एकैचोटि तीन चारजना बिरामी आए बस्ने ठाउँको व्यवस्था छैन । कोठामा दुईटा कुर्सी मात्र अट्छ । बिरामीलाई उभ्याइरहनुपर्ने अवस्था छ । सेवा दिन एकदमै गाह्रो भइरहेको छ,” लामिछानेले भनिन्, “महिला पुरुषका लागि अलगअलग कोठामा राखेर सेवा दिने ठाउँ छैन । व्यक्तिगत गोपनीयता कायम गर्न असहज हुने गरेको छ । स्वास्थ्य चौकीको भाडामा मासिक पाँच हजार खर्च हुने गरेको छ ।” गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन २७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मंसिर ११ गते सम्झौता गरेको थियो ।

दुई पटक थप भएको म्याद गुजिँ्रदा पनि स्वास्थ्य चौकी भवन निर्माणको काम अलपत्र छ । अर्कातर्फ स्वास्थ्य चौकीको पर्खाल कमसल बनेको स्थानीय एलबी राई बताउँछन् । कतिपय ठाउँमा इँटाको पर्खाल ठेल्दा भत्किने गरेको छ । पहिलो पटक थप भएको म्याद २०७९ असार ३२ गते र दोस्रो पटक थप भएको म्याद २०७९ माघ २ गते सकिएपछि ठेकेदारले आगामी असार मसान्तसम्मका लागि म्याद थपको माग गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाका इन्जिनियर सुशील चौधरीले बताए ।

ठेकेदारका प्रतिनिधिले काम गर्नुको सट्टा हाकिमको सरुवा गरेपछि मात्र काम अघि बढ्ने बताउने गरेका छन् । स्वास्थ्य चौकीको आफ्नै भवन नहुँदा बर्थिङ सेन्टरलाई पनि स्थानीय उषा राईको घरमा राखिएको छ । स्वास्थ्य चौकीसँग नजिक रहनुपर्ने बर्थिङ सेन्टरलाई केही दूरीमा राखिएको छ । २०७५ सालदेखि मासिक चार हजारमा पाँच स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको हो । समग्रमा पाँचवटै स्वास्थ्य चौकीको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति ४८ प्रतिशतमात्र भएको इन्जिनियर चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्