मुआब्जा विवादले पक्की पुल निर्माण अलपत्र «

मुआब्जा विवादले पक्की पुल निर्माण अलपत्र

नेपालकै आकर्षक पर्यटकीय गन्तव्य रारा ताल जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडकमा १० वटा पक्की पुल निर्माण हुँदैछन् । सडक डिजिभन जुम्लाको पहल र पुल विभागमार्फत् ठेक्का भई १० वटा पक्की पुल निर्माण भइरहेका छन् ।

समग्र पुल निर्माणको भौतिक प्रगति २० प्रतिशत हुँदा नाग्म–गमगडी सडकको प्रवेशद्वारमै निर्माणाधीन पुल अलपत्र परेको छ । कालिकोट जुम्लाको सीमावर्ती पातरखोलामा कालिकोटतर्फको जग्गा स्थानीयले नदिएपछि बीचमै निर्माण रोकिएर अलपत्र भएको हो । हिमा गाउँपालिका–६ स्थित नाग्म–गमगडी सडकको प्रवेशद्वार पातरखोलामा हिमातर्फ पिल्लर निर्माण भइसकेको छ । तर कालिकोटतर्फको जग्गा नदिएपछि पुल निर्माण रोकिएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले बताए ।

उनले भने, “करिब १० वर्ग मिटर जग्गा मासिने छ । ८/१० स्याउका र केही ओखरका विरुवा छन् । मुआब्जा नपाएसम्म जग्गा नदिने जग्गाधनी पहिलेबहादुर रावतको अडानले काम अघि बढ्न सकेन ।” मुआब्जाको फाइल अघि बढाउने तयारी गरे पनि जग्गाधनी रावतले मुआब्जा दिनै नसकिनेगरी २०/२५ लाख माग गर्दा समस्या भएको छ । हिमा गाउँपालिका र तिलागुफा नगरपालिकाका प्रमुखसँग पटकपटक छलफल भए पनि निष्र्कषमा नपुग्दा पुल अपत्र अवस्थामा पुगेको हो ।

करिब २५ मिटर लामो पक्की मोटरेबल पुल निर्माणले यात्रामा सहज हुने आशा थियो । स्थानीय सूर्य अधिकारी भन्छन्, “पक्की बनाउन पहिलाको काठेपुल भत्काएपछि यात्रा निकै असहज बनेको छ । विगतमा त्यही खोलामा दर्जनौ मोटरसाइकल बगिसकेका छन् । अब बर्खा नजिकिँदै छ । फेरि उस्तै सास्ती पाउने चिन्ता छ । जग्गा विवाद मिलाएर पुल निर्माण अघि बढाउनु पर्छ ।”

विकास पनि चाहने तर आफ्नो एक भित्ता जमिन नछोड्ने प्रवृत्तिले थुप्रै आयोजना अलपत्र परेको उनको भनाइ छ । धेरै पटक अनुरोध गर्दा पनि आफूले भनेकै मुआब्जा नदिए एक भित्ता जग्गा नछोड्ने अडानले पक्कीपुल निर्माण अलपत्र परेको हो । यसमा दुवै जिल्लाका पालिका प्रमुख, आमसरोकारवालाले सहजीकरण गरी पुल निर्माणको बाटो खुल्ला गर्नुपर्ने सडक डिभिजन जुम्लाका सूचना अधिकारी चौलागाईंले उल्लेख गरे ।

९ पुलको २० प्रतिशत काम

नाग्म–गमगडी सडककै प्रवेशद्वारको पक्की पुल निर्माण अलपत्र परे पनि अन्य नौवटा पुल निर्माणको भौतिक प्रगति २० प्रतिशत भएको छ । जसअन्तर्गत बाजागाडा, विष्टबाडा र रोकायाबाडाको खोलामा दुवैतर्फको पिल्लर निर्माण सकिएको छ । त्यस्तै झयारी र पिनामा फाउन्डेसनको काम भइरहेको छ ।

साढे तीन वर्षभित्र १० वटै पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । तर जग्गा उपलब्ध नहुँदा पातरखोलाको पक्की पुल निर्माणमा देखिएको अन्योलताले सम्झौतानुसार काम नहुने सडक डिभिजन जुम्लाका इन्जिनियर तथा सूचना अधिकारी चित्र चौलागार्इंले बताए ।

उनका अनुसार १० वटा पुल निर्माणका लागि ‘हिमा सगरमाथा कन्स्ट्रक्सन’ प्रालि भरतपुर चितवनसँग ३२ करोड लागतमा ठेक्का सम्झौता भएको छ । निर्धारित समय अगावै १० वटै पुल निर्माण सम्पन्न गर्ने दाबी गरेको निर्माण कम्पनीलाई जग्गा विवादले काममा बाधा पुर्‍याएको छ । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जग्गा प्राप्तिका लागि एक पटक छलफल भए पनि मुआब्जा नपाए नदिने अडानले अघि नबढेको बताए ।

उनले भने, “नाग्म–गमगडी सडक संघीय सरकारको भए पनि हाम्रै भूगोलमा भएकाले समन्वय गरेका हौं । तर जग्गाधनीको अडान र मुआब्जाको माग निकै बढी आएपछि काम अघि बढेन ।” असारमै निर्माण सक्ने लक्ष्य राखेर पुरानो कोठेपुल भत्काउँदा अहिले समस्या निम्तिएको छ । त्यसैले तत्काल समधान खोज्न फेरि बैठक बस्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्