दोस्रो चरणमा एडिबीले लगानी नगर्ने «

दोस्रो चरणमा एडिबीले लगानी नगर्ने

क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेशको चारवटा नगरपालिकामा आधुनिक सहरी सडक निर्माण गर्ने योजनाबाट एसियाली विकास बैंक (एडिबी) पछाडि हटेको छ ।

कैलालीको दुई र कञ्चनपुरको दुई नगरपालिकामा ऋण लगानी गरी सहरी सडक र फोहरमैला व्यवस्थापन केन्द्र बनाउने उद्देश्यका साथ नेपाल सरकारले लागु गरेको क्षेत्रीय सहरी विकास कार्यक्रममा एडिबीले लगानी नगर्ने भएको हो । धनगढी उपमहानगरपालिका, गोदावरी, शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा लागु भएको कार्यक्रममा एडिबीले दोस्रो चरणको आयोजनामा लगानी नगर्ने भएको हो ।

पाँच वर्षका लागि भनेर आएको एडिबिले यी नगरपालिकामा सञ्चालित आयोजना समयमा सम्पन्न नभएपछि दोस्रो चरणमा लगानी नगर्ने भएको संघीय आयोजना कार्यान्वयन इकाई कैलालीले जनाएको छ । सन् २०१५ मा लगानी सम्झौता भई एडिबीले यस कार्यक्रममा लगानी गरेको थियो । सडक निर्माणका लागि समयमा टेण्डर र फोहोरमैला व्यवस्थापन केन्द्र बनाउन समयमै जग्गा क्लियर नभएकाले पहिलो चरणकै योजना हालसम्म पनि सम्पन्न भएको छैन ।

इकाईका इन्जिनियर शौरभ कलौनी एडिबीले सन् २०२३ भित्रै पहिलो चरणमा टेण्डर भएका योजना सम्पन्न गर्नमात्रै एडिबीले लगानी गर्ने बताए । यस कार्यक्रमअन्तर्गत धनगढीमा १०.२५ किलोमिटरको सातवटा सडक, गोदावरीमा १७.८३ किलोमिटर, भीमदत्तमा १४.०२ किलोमिटरको २३ वटा सडक र शुक्लाफाँटामा ४.७७ किलोमिटरको तीनवटा सडक निर्माण भइरहेको छ । यी चारवटै नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र बनाइँदै छ ।

गोदावरी र शुक्लाफाँटा नगरपालिकाको कार्यालय निर्माण भइरहेको छ । सडक निर्माण योजनामा इकाईले धनगढीमा ७३, गोदावरीमा ८३, शुक्लाफाँटामा ९७, भीमदत्तमा ७५ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ । भवन निर्माण योजनाको ९९ प्रतिशत भौतिक प्रगति भएको छ । तर फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्य चारवटै नगरपालिकामा अगाडि बढेको छैन । चारवटै नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र बनाउन जग्गा तयार गरी डिपीआर बनाउने काम भइरहेको छ ।

धनगढीमा कालिका कन्स्ट्रक्सनले सातवटा सडकको जम्मा १०.२५ किलोमिटर खण्ड ७६ करोड ६ रुपैयाँमा काम गरिरहेको छ । यहाँ आर्थिक प्रगति ५५ प्रतिशत भएको इकाईले जनाएको छ । ३.६५ किलोमिटरको चटकपुर–क्याम्पस रोड, ०.७ किलोमिटरको क्याम्पस रोड–जाखोरताल, ०.८७ किलोमिटरको डिभोटी–पिपलचौतारा र १.१५ किलोमिटरको हसनपुर र ०.४३ किलोमिटरको मालपोत रोड निर्माण सम्पन्न हुने चरणमा छ ।

२.७ किलोमिटरको गुल्म–चर्च रोड निर्माण आधा भएको भने १.३८ किलोमिटरको चौराहादेखि कैलाली नालासम्मका चार लेन सडक निर्माण कार्यका लागि गत पुसदेखि निर्माण सुरु भएको छ । हालसम्म सो सडकमा नाली निर्माण सम्पन्न भइसकेको छैन । धनगढी उपमहानगरपालिका इन्जिनियर द्विजराज भट्टले यी योजना सम्पन्न गर्नमा मात्रै एडिबीले लगानी गर्ने बताए ।

२४ महिनामा निर्माण सम्पन्न गरिसक्ने गरी २०७७ असारमा ठेक्का सम्झौता गरिएको थियो । गोदावरी नगरपालिकामा पनि कालिका कन्स्ट्रक्सनले ४८ करोड १७ लाख रुपैयाँमा गेटा आँखा अस्पतालदेखि जोनापुर, गेटा आँखा अस्पतालदेखि लालपुर, जोनापुरदेखि कत्था उद्योग, लालपुरदेखि गौरी, चौकीडाँडादेखि चाक्ले खोला, लालपुरदेखि विजौरा र सिर्जनानगर रोड निर्माण गरिरहेको छ ।

यसैगरी, शुक्लाफाँटा नगरपालिकामा रमण केसी जेभीले २७ करोड ८७ लाखमा झलारीदेखि फुलेली, झलारीदेखि शुक्लाफाँटा नगरपालिकाको कार्यालय र झलारीदेखि पिपलाडीसम्मको तीनवटा सडक निर्माण गरिरहेको छ । भीमदत्त नगरपालिकामा जेडआईईसि लामा कन्स्ट्रक्सनले ८७ करोडमा १४ किलोमिटरको २३ वटा सडक निर्माण गरिरहेको छ । तीमध्ये दुईवटा सडक मदनचोक–दशरथ चोकर ट्राफिक चोक–विपि चोक सडक चार लेनको छ ।

धनगढीका इन्जिनियर भट्टले दोस्रो चरणमा एडिबीले लगानी नगर्ने लगभग कन्फर्म भइसकेको बताए । उनले एडिबीले लगानी नगरे पनि नेपाल सरकारको क्षेत्रीय सहरी विकास कार्यक्रम धनगढीमा लागु भइरहने दाबी गरे । धनगढीमा एडिबीले दुई चरणमा ४२ किलोमिटर सडक र फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने सम्झौता भएको थियो ।

एडिबीले दोस्रो चरणमा लगानी नगर्ने भएपछि धनगढीको मेन रोड निर्माणका लागि प्रदेश सरकारको लगानीमा पूर्वाधार विकास कार्यालय कैलालीले कार्यान्वयन गर्ने गरी टेण्डर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्