पशु बाँझोपन निवारणका लागि खोज अभियान

लमजुङका स्थानीय तहमा पशु बाँझोपन निवारणका लागि खोज अभियान सुरु भएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशु बाँझोपन समस्या समाधानका निम्ति अभियानकै रूपमा स्थानीय तहमा खोज तथा पहिचान अभियान सुरु गरेको हो ।
विशेषगरी पशुमा गर्भ नरहने, गर्भ उल्टिनेजस्ता समस्या निवारणका लागि किसानको गोठगोठमा खोज अभियान सञ्चालन गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताए । बाँझोपन भएका पशु पहिचान गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने र समस्या समाधानका निम्ति उपचार प्रक्रिया सुरु गर्ने योजना रहेको कार्यालय प्रमुख डा. श्रेष्ठको भनाइ छ ।
कार्यालयले राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराको समन्वयमा चिकित्सकसहित जिल्लाको मध्यनेपाल, सुन्दरबजार, राइनास र बेसीसहरमा अभियान सञ्चालन गरिसकेको र बाँकी स्थानीय तहमा पनि छिट्टै सञ्चालन हुने जनाएको छ । अभियान सञ्चालनको क्रममा हालसम्म एक सयभन्दा बढीमा बाँझोपनको समस्या देखिएको पनि कार्यालयले जनाएको छ । पशु चिकित्सकका अनुसार पशुहरूमा स्थायी या अस्थायी रूपमा बच्चा नजन्मनुलाई बाँझोपन भनिन्छ ।
नेपालमा पशुमा हुने बाँझोपन विकट समस्याको रूपमा रहेको छ । पशुहरूमा स्थायी बाँझोपनको उपचार सम्भव नभए पनि अस्थायी बाँझोपनको उपचार भने सम्भव भएको चिकित्सकहरू बताउँछन् । पशु प्रजनन्मा समस्या भएमा, उपयुक्त पोषणको कमी भएमा, कुनै रोगले आक्रमण गरेमा वा व्यवस्थापनमा त्रुटि भएमा पनि पशुहरूमा बाँझोपना हुने गर्दछ । बाँझोपनको उपचारका लागि यसका कारण पहिचान गर्नुपर्ने र सोहीअनुसार उपचार गर्न सकिने डा. श्रेष्ठको भनाइ छ ।
बाँझोपन निवारणका लागि पशुलाई उचित पोषण तथा सन्तुलित आहरा व्यवस्था गर्नुपर्ने, पशुलाई प्रत्येक ६–६ महिनामा आन्तरिक परजीवीविरुद्ध औषधि खुवाउनु पर्ने, उचित समयमा भिटामिन खुवाउनुपर्ने पशु चिकित्सकहरूको भनाइ छ ।