पानीजहाजमा काम गर्न ७२६ युवा कोरिया जाँदै

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले अर्को महिनाबाट पानीजहाज निर्माण गर्ने काममा नेपाली युवालाई लैजाने भएको छ ।
कोरियाका विभिन्न जहाज निर्माण कम्पनीमा बढ्दै गएको श्रमिक अभाव पूरा गर्न पहिलो चरणमा नेपालसहित अन्य देशबाट दुई हजार श्रमिक लैजान लागेको हो । पछिल्लो समय कोरियाले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा मात्र नेपाली कामदार माग गर्दै आएको थियो । अहिले जहाज निर्माण क्षेत्रमा मात्र काम गर्ने गरी नेपाली लैजाने भएको हो । यो कामका लागि सुरुमा ७ सय २६ जनाको नामावली कोरिया पठाइएको छ ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले पानीजहाज निर्माणमा काम गर्न नेपाली युवालाई पठाउन लागिएको जानकारी दिए । उनले कोरिया रोजगारीका लागि उत्पादनमूलक क्षेत्रको रोष्टरबाट छानिएका युवाको सूची तयार गर्ने क्रममा रहेको बताए । “कोरियाले रोष्टरको नामावली पठाएपछि नेपालबाट शीप बिल्डिङ क्षेत्रमा पहिलो पटक नेपाली जाने छन्,” निर्देशक कटुवालले भने, “यो क्षेत्रमा पहिलो पटक काम गर्न जाने भए पनि नेपालबाट थोरै युवाले मात्र मौका पाउने छन् ।”
कोरियाले जुन १९ अर्थात् असार पहिलो साताबाट नेपालसहित अन्य ईपीएस सदस्य देशबाट यो क्षेत्रमा काम गर्न मजदुर लैजाने जनाएको छ । पहिलो चरणमा नेपालबाट कोरियाका रोजगारदाताको मागअनुसार नेपाली जानेछन् । यो क्षेत्रमा जाने नेपालीलाई तलबसहित १ महिनाको तालिमपछि सीपयुक्त बनाएर मात्र काममा लगाइने छ । पहिलो चरणमा कम संख्यामा नेपाली जाने भए पनि यसपछि भने कोरियाले ३ हजार नेपाली लैजाने जनाएको छ ।
३ हजारमध्ये ७ सय २६ युवाको रोष्टर बनाउने काम भइरहेको छ । बाँकी करिब २ हजार ३ सय नेपाली युवा लैजाने गरी पुनः आवेदन माग गर्ने तयारी छ । यसअघि उत्पादनमूलक क्षेत्रको रोष्टरमा रहेका मध्ये १२ सय युवा छनोट गर्ने गरी आवेदन माग गरेकामा ७ सय जना छनोट भएका थिए । शाखाका निर्देशक कटुवालले कोरियाले २०२३ मा जहाज निर्माणमा ३ हजार लैजाने योजना बनाएको बताए ।
“यसमध्ये पनि जुन महिनामा केही नेपाली लैजाने गरी छनोट भएका युवाको नाम कोरिया पठाइएको छ । बाँकी माग गर्नुपर्ने २ हजार ३ सय युवाको छनोटका लागि केही समयपछि नयाँ आवेदन माग गर्ने तयारी भएको छ । कोरियाले पत्राचार गरेपछि नयाँ आवेदन खुल्ने छ,” उनले भने । असारमा माग गरिने युवाले स्कार्फोल्ड, इन्सुलेसन, ग्रेण्डर, वेल्डिङ, पाइप मेसिनरी र इलेक्ट्रिक क्याबलिङ गरी ५ क्षेत्रमा काम गर्न पाउने शाखाले जनाएको छ ।
कम्पनीअनुसार पानीजहाज निर्माण क्षेत्रका लागि तलबसहित एक महिने तालिमसमेत दिइने छ । यसमा काम गर्ने नेपाली श्रमिकले श्रम करारबमोजिम काम गर्नु पर्नेछ । साथै कार्यस्थल परिवर्तन गर्न चाहेमा अर्को उस्तै कम्पनीमा मात्र कम्पनी परिवर्तन गर्न पाउने छन् । पानीजहाज निर्माण क्षेत्रको रोष्टरको म्याद पनि उत्पादनमूलक क्षेत्रको बराबर दुई वर्षको हुनेछ ।